साप्ताहिक संवाददाता
अन्तत: पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले पनि नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छिन् । केही म्युजिक भिडियोमा अभिनय गरेर चलचित्रमा आउने संकेत गरेकी सृष्टिले निर्माता रोहित अधिकारीको चलचित्र ‘गाजलु’ मा आकर्षक पारिश्रमिक लिएको बताइन्छ ।
हेमराज बिसीले निर्देशन गर्ने यो चलचित्रका लागि अभिनेता अनमोल केसीले पनि हालसम्मकै सबैभन्दा बढी पारिश्रमिक लिएका छन् । अनमोल र सृष्टिको अनस्क्रिन रोमान्स रहने ‘गाजलु’ का लागि यी दुवैले कति पारिश्रमिक लिएका छन् भन्ने कुरालाई निर्माण संस्थाले गोप्य नै राखेको छ ।
सृष्टिलाई यसअघि निर्माता रोज राणाले पनि ‘हिरोइन’ चलचित्रका लागि आकर्षक पारिश्रमिकको प्रस्ताव गरेका थिए तर सृष्टिले उक्त चलचित्र अस्वीकार गरेकी थिइन् । कात्तिक महिनाको अन्तिम सातातिर छायांकन प्रारम्भ हुने ‘गाजलु’ प्रेमकथामा आधारित हुने बताइन्छ ।