नाकाबन्दीका कारण करिब १६ लाख विद्यार्थी विद्यालयबाट वञ्चित, ४ लाखभन्दा बढीले गुमाए रोजगारी, २२ सयभन्दा उद्योग बन्द, दैनिक ८३ करोड घाटा ।’
अधिकांश सञ्चारमाध्यममा तराई आन्दोलन तथा भारतको नाकाबन्दीपछि नेपालमा पुगेको प्रत्यक्ष प्रभावका तथ्यांकहरू यसरी नै सार्वजनिक भैरहेका छन् । यी नकारात्मक प्रभावबाट प्रत्येक नेपाली पीडित छन् नै, हजारौं कलाकर्मी, सञ्चारकर्मी, रंगकर्मी संलग्न रहेको नेपाली मनोरञ्जन क्षेत्र पनि नाकाबन्दीको प्रत्यक्ष–अप्रत्यक्ष मार खेप्न बाध्य छ ।
तीन महिनाभन्दा बढी समयदेखिको तराई आन्दोलन तथा डेढ महिनादेखिको भारतीय नाकाबन्दीको प्रत्यक्ष प्रभाव नेपाली मनोरञ्जन क्षेत्रमा समेत परेको छ । दर्जनौं चलचित्रको छायांकन रोकिएको छ भने राम्रा चलचित्र हेर्न दर्शकहरू सिनेमा हलसम्म पुग्न सकिरहेका छैनन् । म्युजिक भिडियोदेखि टेलिश्रृंखलासम्मको छायांकन ठप्प छ भने तिहारपछि मोफसलमा सञ्चालन हुने महोत्सवदेखि सांस्कृतिक कार्यक्रम तथा कन्सर्टहरूसमेत आयोजित हुन सकिरहेका छैनन् ।
नाकाबन्दीका कारण भारतबाट पेट्रोलियम पदार्थको आगमनमा भारी कटौतीको प्रभाव चलचित्र व्यवसायमा समेत परेको छ । इन्धन अभाव अझै केही समय जारी रहे काठमाडौंसहित देशभरिका सिनेमा हलहरूसमेत बन्द हुने अवस्थामा छन् । सिनेमा हल सञ्चालकहरू भन्छन्— ‘हामीसँग यो संकटको सामना गर्न सक्ने क्षमता छैन ।’
नाकाबन्दीका कारण उत्पन्न इन्धन संकटका कारण कतिपय नेपाली चलचित्रले प्रदर्शन मिति नै हेरफेर गरेका छन् । छायांकनका क्रममा रहेका थुप्रै चलचित्रले काम स्थगित गरेका छन् । छायांकनका लागि यातायातको सहज आगमन पहिलो प्राथमिकतामा पर्छ तर इन्धन अभावका कारण कतिपय चलचित्रको छायांकनले निरन्तरता पाएका छैनन् । भुवन केसीको ‘ड्रिम्स’ लाई इन्धन अभावकै कारण छायांकन सम्पन्न गर्न हम्मे–हम्मे पर्यो भने आर्यन सिग्देलको ‘क्लासिक’ को छायांकन प्रारम्भ नै हुन सकेको छैन ।
डिजेलले जेनरेटर चलाएर चलचित्र प्रदर्शन गर्नुपर्ने कतिपय मल्टिप्लेक्स तथा सिंगल थिएटरहरूसमेत संकटमा छन् । इन्धन अभावकै कारण चलचित्र विकास बोर्डले कात्तिक १ गतेदेखि लागू गर्ने भनेको बक्स अफिसको स्थापनासमेत स्थगित गरेको छ । नाकाबन्दीपछि ई–टिकेटिङ प्रणाली कायम गर्न नसकिएको विकास बोर्डले जनाएको छ ।
यद्यपि नाकाबन्दीकै बीच प्रदर्शन भएका केही नेपाली चलचित्रले सन्तोषजनक व्यवसाय गरेका छन् । निखिल उप्रेतीको ‘लुटेरा’ ले एक साताकै अवधिमा डेढ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गरेको छ । दीपकराज गिरीको ‘वडा नम्बर ६’ ले पनि संकटकै बीच व्यवसायिक सफलता हासिल गरेको थियो ।
प्रदर्शनरत चलचित्र ‘लुटेरा’ का अभिनेता निखिल उप्रेती भन्छन्—‘विदेशीसामु झुक्नुभन्दा अलिनै खाएर भए पनि स्वाभिमान जोगाउनुपर्ने स्थिति सिर्जना भएको छ, आत्मनिर्भर हुनुपर्ने आवश्यकता खड्किएको छ ।’
इन्धन अभावकै कारण काठमाडौंका मल्टिप्लेक्सहरूले आफ्ना शोहरूमा कटौतीसमेत गर्नुपरेको छ । मल्टिप्लेक्स चेन सिनेमा क्यूएफएक्सका वितरण प्रमुख वसन्त मानन्धरले इन्धन संकटका कारण दर्शक सिनेमा हलसम्म नआउँदा कतिपय शो कटौती गर्नुपरेको बताए ।
चलचित्र क्षेत्रको सकस
भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज नभएपछि नेपाली चलचित्र क्षेत्रले पनि ठूलो क्षति बेहोरिरहेको छ । इन्धन अभावसँगै यतिबेला कुनै पनि नेपाली चलचित्रको छायांकन सुचारु हुन सकेको छैन, न त कुनै नयाँ चलचित्रले छायांकन नै प्रारम्भ गर्न सकेका छन् । छायांकनमा रहेका करिब एक दर्जन चलचित्र प्रत्यक्ष प्रभावित भएका छन् । चलचित्रको छायांकनलाई नै रोजीरोटीको माध्यम बनाउने स्पट ब्वाइदेखि निर्देशकसम्म यतिबेला हात बाँधेर बस्न बाध्य देखिन्छन् ।
नाकाबन्दीपछिको इन्धन अभावका कारण छायांकनको तयारीमा रहेका चलचित्रको अवस्था पनि उस्तै छ । निर्माता छविराज ओझाले आफ्ना पछिल्लो चलचित्र ‘किस्मत–२’ को प्रदर्शन मिति चैत २६ गतेका लागि तोकिसकेका छन्, तर चलचित्रको छायांकन नै सम्पन्न हुन सकेको छैन । ‘इन्धन अभावकै कारण छायांकन रोकिएको हो,’ निर्माता ओझा भन्छन्— ‘चलचित्रको छायांकन कहिले प्रारम्भ हुन्छ भन्ने कुरा मलाई नै थाहा छैन ।’ मुस्ताङ र जोमसोममा छायांकन गरेर काठमाडौं फर्किएको ‘किस्मत–२’ को छायांकन डिजेल अभावका कारण रोकिएको हो ।
इन्धनकै अभावमा आर्यन सिग्देल तथा सुवास गिरीले चलचित्र ‘क्लासिक’ को छायांकनलाई अघि बढाउन सकेका छैनन् । असोज ११ गतेदेखि नै छायांकनमा जाने भनिएको यो चलचित्र इन्धन अभावकै कारण रोकिएको छ । रेखा थापाको ‘रामप्यारी’ तथा विकास आचार्यको ‘नाइँ नभन्नु ल–४’ ले मुस्किलले छायांकन पूरा गरेका छन् । यी दुवै चलचित्रले इन्धनको अभावका बीच आफ्नो छायांकन पूरा गरेका हुन् ।
चलचित्रको छायांकन प्रारम्भ भएपछि एक दिनका लागि स्थगित गर्दासमेत निर्मातालाई लाखौं रुपैयाँको घाटा हुन्छ । क्यामेरादेखि सम्पूर्ण प्रविधिको भाडा अनि प्राविधिक तथा कलाकारको पारिश्रमिकसम्म जोड्दा छायांकन स्थगित भएका चलचित्रको लागत एकाएक वृद्धि हुनपुग्छ ।
नाकाबन्दीविरुद्ध अन्तक्र्रिया
विभिन्न सन्धि, सम्झौता, अन्तर्राष्ट्रिय कानुन तथा मान्यताअनुसार भूपरिवेष्टित मुलुकले निर्वाध रूपमा पाउनुपर्ने पारवाहन सुविधाका विरुद्ध भारतले नेपालमाथि गरेको नाकाबन्दी तथा हस्तक्षेपको विरोधमा अघिल्लो सोमबार काठमाडौंमा विभिन्न कलाकारले अन्तक्र्रिया तथा छलफल गरेका छन् । चलचित्रकर्मी केपी पाठकको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा निर्देशक मनोज पण्डितले नाकाबन्दीविरुद्ध नेपालमा हुन लागेको साउथ एसिएन फिल्म फेस्टिबल रोक्नुपर्ने अवस्था आएको बताए भने चलचित्रकर्मी यादव खरेल, हरिहर शर्मा, कृष्ण मल्ल आदिले उक्त महोत्सवलाई नेपाललाई परेको समस्या अन्तर्राष्ट्रियकरण गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरे । निर्देशक यादव खरेलले हरेक निर्णयमा दिल्लीको दलाली गर्ने र त्यतै लाम लाग्ने प्रवृत्तिले आजको दिन निम्तिएको बताउँदा कलाकार हरिहर शर्माले नेपालका नेताहरू मौन बसिदिँदा मधेसको विषयमा एकोहोरो कुरा बाहिर आएको धारण व्यक्त गरे । अभिनेता कृष्ण मल्लले आन्तरिक तथा बाह्य रूपमा विकल्प खोजिए पनि पारवाहन अधिकार छोड्न नहुने बताए । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले नाकाबन्दीको विरोधका लागि संघले विभिन्न संघ–संस्थाका बीच बैठक राखे पनि त्यहाँ आएका प्रतिक्रियाबाट आफू गलेको बताए । खड्काले राष्ट्रिय गान बजाउँदै शान्ति वाटिकामा आयोजना गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनमा ३० औं हजार जनता उपस्थित भए पनि ३० जना कलाकारसम्म उपस्थित गराउन नसकेकोमा दु:ख व्यक्त गरे । यसबीच भारतले गरेको अघोषित नाकाबन्दीविरुद्ध कलाकारहरूले रत्नपार्कको शान्तिवाटिकामा राष्ट्रिय गीत गाए । राष्ट्रियतामाथिको प्रहार नेपालीले सहन नसक्ने भन्दै त्यसका विरुद्ध विशेष कार्यक्रम आयोजित गरिएको चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का बताउँछन् । राष्ट्रिय गीत गाउँदै हातमा प्ले कार्ड बोकेर शान्तिवाटिकाबाट निस्किएको र्याली शान्तिवाटिकामै पुगेर सम्पन्न भएको थियो ।
हिन्दी चलचित्र पनि प्रभावित
भारतीय नाकाबन्दीपछि काठमाडौंमा प्रदर्शन भएका थुप्रै हिन्दी चलचित्रको व्यवसायसमेत खस्किएको छ । यसै साता प्रदर्शन भएको ‘प्रेम रतन धन पायो’ लाई अपवाद मान्ने हो भने त्यसअघि प्रदर्शन भएका कुनै पनि हिन्दी चलचित्रले नेपालमा राम्रो व्यवसाय गरेनन् । नेपाली दर्शकको हिन्दी चलचित्रप्रतिको मोह घटेको पाइयो । यसबाट एउटै हिन्दी चलचित्रबाट करोडभन्दा बढी नाफा कमाउने वितरकहरू निराश देखिए । गोपीकृष्ण मुभिजका म्यानेजर प्रदीप दाहालका अनुसार पछिल्ला दिनमा हिन्दी चलचित्रको व्यापार ९० प्रतिशतले घटेको छ । हिन्दी चलचित्रप्रति विकर्षण उत्पन्न हुनुमा हाल देशमा फैलिएको भारतविरोधी भावना प्रमुख कारण रहेको दाहालको अनुमान छ । वितरक गोपाल कायस्थ पनि हिन्दी चलचित्रको व्यापार घटेको स्वीकार गर्छन् । पछिल्लो समय राम्रा नेपाली चलचित्र प्रदर्शन भएकाले पनि हिन्दी चलचित्रको व्यापार खस्किएको कायस्थको तर्क छ ।
हाल प्रदर्शन भैरहेको नेपाली चलचित्र ‘लुटेरा’ का निर्माता तथा चलचित्र वितरक गोपाल कायस्थले नेपाली दर्शकले हिन्दी चलचित्र हेर्न कम गरेको अनुभव गरेका छन् । कायस्थ हिन्दी चलचित्रप्रतिको यो वितृष्णालाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्छन् । कायस्थ नेपाली दर्शकको बहिष्कार नै सबैभन्दा राम्रो विकल्प हुन सक्ने बताउँछन् । नाकाबन्दी र मधेस आन्दोलनकै बीच प्रदर्शन भएका नेपाली चलचित्रमध्ये ‘वडा नम्बर ६’, ‘चंखे शंखे पंखे’, ‘भैरव’, ‘परदेशी’ तथा ‘लुटेरा’ ले व्यवसायिक सफलता हासिल गरेका छन् ।
महोत्सवमा प्रभाव
भारतको नाकाबन्दी तथा तराईमा आन्दोलन नहुँदो हो त गायक हेमन्त शर्माले गत दसैंदेखि अहिलेसम्म एक दर्जनभन्दा बढी सांगीतिक कार्यक्रममा सहभागिता जनाइसकेका हुन्थे भने आधा दर्जनभन्दा बढी महोत्सवमा प्रस्तुत भएर दर्शकलाई नचाइसकेका हुन्थे । नाकाबन्दी तथा तराईको आन्दोलनका कारण शर्माले तिहारपछिको एक सातासम्म पनि महोत्सवमा सहभागिता जनाउन पाएका छैनन् । ‘अर्को साताको सल्यान महोत्सवबाट मेरो यो वर्षको महोत्सव यात्रा प्रारम्भ हुँदैछ,’ गायक शर्मा भन्छन्— ‘सरसर्ती हेर्दा पछिल्ला तीन–चार महिनाकयता कार्यक्रमहरू रद्द भैरहेको अवस्थालाई ख्याल गर्दा निकै महोत्सव अहिलको नाकाबन्दीले पक्कै प्रभावित हुनेछन् । इन्धनका साथसाथै मानिसहरूमा पनि त्यो उत्साह नहुन सक्छ ।’ गायक शर्माका अनुसार महोत्सवका आयोजकले पनि घाटाको जोखिम त्यति नलेनान् तर पनि छोटा (तीन–चार दिनका) महोत्सव सञ्चालन हुन सक्छन् भन्ने कुरामा उनी आशावादी छन् । गायक शर्मा छिट्टै मधेसको समस्या समाधान हुने तथा नाकाबन्दी पनि खुल्ने कुरामा आशावादी छन् । गायक शर्मा भन्छन्— ‘पहिले देश खुसी होस् त्यसपछि यो वर्षको मेला–महोत्सवको सोधभर्ना बरु अर्को वर्ष गरौंला नि ।’
कस्तो छ रंगमञ्च ?
शिल्पी थिएटरका रंगकर्मी घिमिरे युवराज भन्छन्— ‘मधेसमा आन्दोलनका चलिरहेको छ, भारतको नाकाबन्दी जारी छ तर पनि आफूले गरिरहेको काम त रोक्नु भएन नि ?’ घिमिरेले योबीच ज–जसलाई भेटे, ती सबैले नाकाबन्दीको मात्र कुरा गरिरहेका छन् । घिमिरेका अनुसार नाकाबन्दीका कारण हरेक नेपालीको मन पहिलेको जस्तो ऊर्जाशील छैन । यद्यपि देशको विषम परिस्थितिबीच पनि घिमिरे आफ्ना कार्यलाई निरन्तरता दिने पक्षमा छन् । ‘अहिले हामीले अझ बढी काम गरेनौं भने भविष्यमा अझ ठूलो क्षति बेहोर्नुपर्ने हुनसक्छ,’ घिमिरे भन्छन्— ‘म त भन्छु, हरेक क्षेत्रका मानिसले जुनसुकै हालतमा पनि आफ्ना कार्यलाई निरन्तरता दिनैपर्छ ।’ घिमिरेका अनुसार नाकाबन्दीका कारण आफ्ना थिएटरमा हुने नाटकबाहेक अन्य कलात्मक क्रियाकलाप भने ठप्प भएको छ ।
म्युजिक भिडियोको पीडा
कुनै बेला एकै दिन आधा दर्जनभन्दा बढी म्युजिक भिडियो निर्माण भएको रेकर्ड छ । सामान्य अवस्थाको तुलनामा यतिबेला म्युजिक भिडियोको निर्माण ६० प्रतिशतले घटेको म्युजिक भिडियोका व्यस्त छायांकार अर्जुन तिवारी बताउँछन् । एक भिडियो निर्देशकका अनुसार छायांकनपछि कलाकार तथा प्राविधिकलाई खाना ख्वाउँदा साविकको भन्दा दुई गुणा बढी खाना खर्च, चार गुणा बढी सवारी साधन खर्च गर्नुपरिरहेको छ । ‘एउटा भिडियोमा सामान्य अवस्थाको तुलनामा करिब ४० हजार रुपैयाँ बढी खर्च भैरहेको छ, ती निर्देशकका अनुसार छायांकनका क्रममा प्रयोग हुने जेनरेटर तथा लाइटको खर्चसमेत बढेको छ । छायाँकार तिवारीका अनुसार यतिबेला निर्माण भैरहेका म्युजिक भिडियोहरूमा ‘कम्प्रोमाइज’ गर्न थालिएकाले गुणस्तरीय भिडियो निर्माण हुन छाडेको छ । ‘लिड लाइट अथवा घामको उज्यालोमा काम गर्नुपर्ने अवस्था छ, तिवारी भन्छन्— ‘इन्धन अभावका कारण निर्माताले जेनरेटर चलाउन सक्दैनन न त लाइट नै बाल्न सक्छन् ।’
दीपकराज गिरी लेख्छन् :
नाकाबन्दीपछि कलाकार दीपकराज गिरीले फेसबुकमा लेखेका अधिकांश स्ट्याटसले नेपाली जनजीवनको प्रतिनिधित्व गरेको अनुभव गरिएको छ । उनले लेखेका थुप्रै स्ट्याटसमध्ये एउटा स्ट्याटस यस्तो छ :
प्रेम रतन धन पायो
नेपालीको धन खायो
नाकाबन्दी पछि यो फिल्म आयो
मरी–मरी लाइन बसी टिकट पायो
फेसबुकमा ब्याक अफ इन्डिया गायो
म त सिम्पल म्यान, सलमानको फ्यान ।