साप्ताहिक संवाददाता
पाकिस्तानको अमर अजिजले तयार पारेको ‘अ वाल्नट् ट्री’ लाई रामबहादुर ट्रफीसहित २ हजार अमेरिकी डलरको पुरस्कार प्रदान गर्दै दसौं दक्षिण एसियाली वृत्तचित्र महोत्सव (फिल्म साउथ एसिया, २०१५) सम्पन्न भएको छ । पाकिस्तानी सेना र तालिबानका बीच दोहोरो लडाइँमा घरबार छाडेर शरणार्थी जीवन बिताउन बाध्य भएकाहरूको भोगाइमा आधारित उक्त वृत्तचित्र एउटा परिवारको मिठो विगत, असुरक्षित वर्तमान एवं अन्धकारमय भविष्यको घतलाग्दो दस्तावेज हो ।
महोत्सवमा इफात फातिमाको वृत्तचित्र ‘ब्लड लिभ्स इट्स ट्रेल’ले एक हजार अमेरिकी डलरसहितको दोस्रो पुरस्कार हात पारेको छ । कास्मिरमा राज्यद्वारा भैरहेको दमनमा आधारित यो वृत्तचित्र त्यसै भेगकी फातिमाले नौ वर्ष लगाएर तयार पारेकी हुन् । नेपाली विषयवस्तुमा तयार भएको वृत्तचित्र ‘ड्रइङ द टाइगर’ले भने यो वर्षको युनिसेफ एवार्ड जितेको छ । रामेछापको एक दलित परिवारको भोगाइमा आधारित यो वृत्तचित्र एमी बेनसन र रम्यता लिम्बूले संयुक्त रूपमा तयार पारेका हुन् ।
बंगलादेशका दिवंगत चलचित्रकर्मी तारिक मसुदको नाममा राखिएको डेब्यु एवार्ड भने १ हजार अमेरिकी डलर राशिसहित प्रतीक विश्वासको ‘अन एन्ड अफ दि रेकर्ड्स’ले जितेको छ । भारतीय शास्त्रीय संगीतको अभ्यास र समयसँगै प्रविधिमा आएका परिवर्तनले यो संगीतमा पार्दै गएको प्रभावलाई वृत्तचित्रले चित्रण गरेको छ ।
फिल्म साउथ एसियाले यही वर्षदेखि चलचित्रका विद्यार्थीहरूले तयार पारेका वृत्तचित्रहरूको प्रदर्शन पनि सुरु गरेको छ । यो वर्ष यो विधाअन्तर्गत आठवटा वृत्तचित्र प्रस्तुत भएका थिए । दि काठमाडौं पोस्टका तर्फबाट प्रदान गरिएको ५ सय अमेरिकी डलरको सर्वोत्कृष्ट विद्यार्थी वृत्तचित्रको एवार्ड म्यानमारका क्याउ म्यो ल्विनले तयार पारेको ‘टायर्स’ले जितेको छ ।
राज्यले नरुचाएका वृत्तचित्रहरू
राजनीतिक हिंसाले सिंगो दक्षिण एसिया प्रभावित रहेका बेला निष्पक्ष वृत्तचित्र बनाउनु कत्तिको जोखिमपूर्ण हुन्छ ? राजधानीमा सम्पन्न दक्षिण एसियाली वृत्तचित्र महोत्सवका केही चलचित्र यस्तै जोखिम मोलेर तयार भएका थिए । भारतमा राज्य वा सत्तासीन राजनीतिक दलसँग सोझै यस्तो टक्कर लिएर तयार भएका तीनवटा वृत्तचित्रका निर्देशक राजधानीमा थिए, जसका चलचित्रलाई उनीहरूकै मुलुक भारतमा निर्वाध रूपले प्रदर्शन गर्न मुस्किल परिरहेको छ ।
गत शुक्रबार प्रदर्शित ‘मुजफ्फरनगर बाँकी है’ हेर्न दर्शक जम्मा भएकै कारण सम्पूर्ण टिकट बिक्री भएको थियो । ‘निर्माणकै क्रममा पटक–पटक अवरोध झेल्नुपरेकाले यो वृत्तचित्र तयार पार्न डेढ वर्ष लाग्यो,’ वृत्तचित्रका निर्देशक नकुलसिंह सावनी भन्छन्, ‘त्यसपछि भारतमा बारम्बार प्रदर्शनका बेला
सत्ताधारी दलनजिक रहेका संगठनहरूले कार्यक्रम नै बिथोल्दै आएका छन् ।’
महोत्सवमा नकुलको वृत्तचित्र मात्र होइन, भारतको संस्थापनबाट संभावित खतरा मोलेर तयार भएको अर्का दुई वृत्तचित्र पनि प्रदर्शन भए । भारतमा माओवादी विद्रोहको भित्री तहसम्म पुगेर तयार पारिएको ‘रेड एन्ट ड्रिम’ र कास्मिरमा भैरहेको मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरूमा आधारित ‘ब्लड लिभ्स इट्स ट्रेल’ साहसिक निर्माणको नमुनाका रूपमा प्रस्तुत भएका छन् ।
महोत्सवकै निम्ति ‘रेड एन्ट ड्रिम’का निर्देशक सञ्जय काक र ‘ब्लड लिभ्स इट्स ट्रेल’की इफात फतिमासमेत काठमाडौं आए । छत्तीसगढका माओवादी, उडिसाका आदिवासी तथा पञ्जाबका प्रदर्शनकारीले कसरी चिनियाँ सांस्कृतिक क्रान्तिका नेताको विरासतलाई भारतमा धानिरहेका छन् भन्ने रोचक जानकारी दिने काकको वृत्तचित्र दुई घण्टा लामो थियो । त्यसैगरी कास्मिरमा सर्वसाधारणमाथि राज्यका तर्फबाट भैरहेको दमनका भयावह दृश्य फातिमाको
डेढ घन्टा लामो वृत्तचित्रले प्रस्तुत गर्यो ।
महोत्सवअन्तर्गत शुक्रबार १५ वटा वृत्तचित्र देखाइएका थिए । तीमध्ये ‘मुजफ्फरनगर बाँकी है’ बाहेक ‘अन एन्ड अफ द रेकर्ड्स’, बंगलादेशको ‘विषकान्त’ र ‘ब्रिफ लाइफ अफ इन्सेक्ट्स’ थिए । महोत्सवअन्तर्गत शनिबार १२ वटा वृत्तचित्र देखाइए, त्यसमध्ये सञ्जय र फातिमाका बाहेक ‘जापान इन् नागाल्यान्ड’, ‘कोटीवाले सुपरस्टार’, ‘सिटिज अफ स्लिप’ तथा ‘ड्रविङ द टाइगर’ आदि थिए ।