साप्ताहिक संवाददाता
करिब डेढ सयवटा नेपाली गीतका म्युजिक भिडियोमा अभिनय गरेर खारिएपछि चलचित्र नायिका बनेकी हुन्— शिल्पा पोखरेल । कि पढेर जानिन्छ कि परेर भनेजस्तै शिल्पालाई भिडियोको अभिनयले चलचित्रमा प्रवेश गरेको कम समयमै स्थापित हुन सहयोग पुर्यायो । त्यसो त शिल्पाको पुर्पुरो पनि दर्है छ, उनले छविराज ओझाजस्ता स्थापित निर्माताको चलचित्रबाट पदार्पण गर्ने मौका पाइन् ।
‘लज्जा’ को उत्कृष्ट अभिनयका कारण छविराजले शिल्पालाई ‘हवल्दार सुन्तली’ मा पनि दोहोर्याए । दुवै नारी प्रधान चलचित्र थिए जसमा शिल्पा केन्द्रीय भूमिकामा थिइन् । यी दुवै चलचित्रमा सशक्त अभिनय गरेकी शिल्पालाई अभिनेत्री/निर्मात्री करिश्मा मानन्धर तथा निर्देशक सम्झना उप्रेती रौनियारले समेत विश्वास गरे । आफ्नो करियरको तेस्रो चलचित्र ‘फागु’ मा पनि शिल्पाले केन्द्रीय भूमिका पाइन् । फागुन ७ गतेदेखि प्रदर्शन हुने यो चलचित्रमा पनि शीर्षक भूमिका निर्वाह गर्न पाएपछि शिल्पा यतिबेला उत्साहित छिन् ।