अनुसन्धानकर्ताहरूको एक समूहले मात्र दुई मिनेटमा ब्याट्री रिचार्ज हुने प्रविधिको विकास गरेको छ । धेरैभन्दा धेरै विद्युत् ऊर्जा संग्रह हुने र कमभन्दा कम समयमा ब्याट्री रिचार्ज हुने यो प्रविधिका माध्यमबाट स्मार्ट मोबाइल, विद्युतीय कार, मोटरसाइकल तथा स्मार्ट मेडिकल उपकरणको प्रयोग एवं विस्तारको क्षेत्रमा ठूलो छलाङ मार्ने अपेक्षा गरिएको छ । अल्ट्रा फास्ट चार्जिङ ब्याट्री प्रविधिको विकास सिंगापुरस्थित नानयाङ टेक्नोलोजी युनिभर्सिटीका एसोसिएट प्रोफेसर चेन सियाओदोङसहितको अनुसन्धानकर्ताहरूले गरेका हुन् ।
‘एकपटक किनेपछि २० वर्षभन्दा बढी टिक्ने अल्ट्रा फास्ट चार्जिङ ब्याट्रीलाई मात्र दुई मिनेट वा १ सय २० सेकेन्डमा रिचार्ज गर्न सकिन्छ भने कार र मोटरसाइकलमा लाग्ने ब्याट्रीलाई १५ मिनेटमा रिचार्ज गर्न सकिनेछ ।’ ३० वर्षअघि लिथुइएमआयोन ब्याट्रीको सह–अविष्कारकर्ता रहिसकेका प्राध्यापक राचिड याजामिले भने– ‘सुपर फास्ट चार्जिङ ब्याट्री’ ले संसारमा विद्युतीय ऊर्जाको संग्रह र प्रयोगको क्षेत्रमा ठूलो सपना साकार हुनेछ ।’
नानयाङ टेक्नोलोजी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले ‘अल्ट्रा फास्ट चार्जिङ ब्याट्री’ प्रविधिलाई विज्ञानको क्षेत्रमा एउटा नयाँ र ठूलो ‘ब्रेकथ्रु’ बताएका छन् । उनीहरूका अनुसार यो प्रविधिले अगामी दुई वर्षभित्रै बजार तताउनेछ । ‘अल्ट्रा फास्ट चार्जिङ ब्याट्री’ प्रविधिबाट औद्योगिक रूपमा ब्याट्री उत्पादन गर्न कम्पनीसँग सम्झौता भैसकेको छ भने वैज्ञानिकहरूले यसको ‘प्याटेन्ट राइट’ पनि प्राप्त गरिसकेका छन् । अनुसन्धानकर्ताहरूले यो प्रविधिको विकासले संसारले परम्परागत ब्याट्रीमा, पेट्रोलियम इन्धनमा हुने खर्च तथा विश्वयापी प्रदूषणमा व्यापक कटौती गर्न सक्ने बताएका छन् ।