नेल आर्ट अर्थात् हातगोडाका नङ सजाउने कलाले नारीको सौन्दर्यलाई आकर्षक बनाउँछ । पछिल्ला वर्षहरूमा नेल आर्ट गर्ने चलन नेपालमा निकै लोकप्रिय भैरहेको छ । नङमा विभिन्न रंग लगाएर आफूलाई मन पर्ने बुट्टा, हाँगा, पातका साथै अन्य आकृति कोर्ने प्रचलन अर्थात् नेल आर्टले फेसनको रूप लिँदै गएको छ । नङलाई विभिन्न रंग–रूप दिएर लामो, चेप्टो, यू–सेपजस्ता कृत्रिम नङ जोड्ने चलन पनि फेसनका रूपमा भित्रिसकेको छ ।
आर्ट सेन्टरमै पुगेर नेल आर्ट गर्ने नेपाली युवतीहरूको संख्या निरन्तर बढिरहेको छ । नेल आर्टका २५ भन्दा बढी शैली छन्, जसमध्ये पाँच प्रकारका शैली नेपालमा चल्तीमा रहेको न्यू मुम्बई मेहन्दी ट्रेनिङ सेन्टरका वरिष्ठ डिजाइनर ओमप्रकाश साह बताउँछन् । साहका अनुसार जेल आर्ट, जेल नेल एक्सटेन्सन, मार्बल नेल आर्ट, थ्रिडी, फ्रेन्स जेल नेल एक्सटेन्सन गर्न धेरै युवती लालायित हुन्छन् । विवाहको मौसममा नेल आर्ट गर्नेहरू धेरै हुन्छन् । घरमै बसेर पनि नङलाई सुन्दर बनाउन सकिन्छ । बजारमा उपलब्ध क्युटिकल क्रिम तथा ओयल, नेल पोलिस रिमुभ आदि प्रयोग गरी नङलाई सुन्दर बनाउन सकिन्छ ।
घरमै बसेर क्याटलकको सहायतामा नेल आर्ट गर्ने चलन नभएको होइन, तर कतिपय युवती आर्ट सेन्टरमै गएर नङ रंगाउँछन् । साह भन्छन्— नेल आर्ट गर्नुअघि विभिन्न सुरक्षात्मक तेलको प्रयोग वा गुणस्तरीय औजारमा ध्यान पुर्याउनुपर्ने भएकाले धेरैले यस्ता सामग्रीको कम्बिनेसन मिलाउन सक्दैनन्, त्यसैले आर्ट सेन्टरकै मद्दत लिनुपर्ने बाध्यता हुन्छ ।
जेल नेल आर्ट :
नङलाई विभिन्न रंगले रङ्गाएर विविध आकृति निकाल्न सकिन्छ । यसलाई पनि फ्रेन्स, कलरफूल, पेपर आर्ट, वाटरप्रुफ मार्बलर, डट सेप, एल सेप, स्टाम प्रिन्ट, क्र्याक्क सेप आदि स्टाइलमा नङलाई सुहाउँदो बनाउन सकिन्छ ।
जेल नेल एक्सटेन्सन :
नङलाई विभिन्न आकार दिन जेल नेल एक्सटेन्सन गर्ने चलन छ । यसमा नङलाई विभिन्न आकार दिने वा लामो बनाउने काम गरिन्छ । एक्सटेन्सन गरेपछि त्यसलाई विभिन्न आकृतिमा रङ्गाउन सकिन्छ । नङलाई सुहाउँदो आकार दिएर रंगाउने विधिलाई जेल नेल एक्सटेन्सन भनिन्छ । प्राकृतिक नङलाई भी, स्वायर, राउन्ड सेप दिएर रंगाउने चलन छ ।
थ्रिडी :
यसमा नङलाई विभिन्न आकार दिएर नङमा फूल राखिन्छ । ब्रस र पाउडरको सहयोगमा फूलहरू राखिन्छ । यस्तो फूल महिना दिनसम्म टिक्छ । औंला वा नङको सेप हेरेर सुहाउँदो फूल वा बुट्टा सजाइन्छ ।
ब्राइडल आर्ट :
बेहुलीहरूका लागि ब्राइडल नेल आर्ट लोकप्रिय छ । बेहुलीहरू जेल नेल आर्ट, जेल नेल एक्सटेन्सन तथा थ्रीडीको प्रयोग गर्छन । हात तथा पाखुरामा लगाइएको मेहन्दीको रूप तथा रङ्गअनुसार नङलाई सजाइन्छ । औंलाको आकार र छालाको रंग हेरेर बेहुलीको नेल आर्ट गरिन्छ ।