साप्ताहिक संवाददाता
चलचित्र प्रदर्शन गर्न ठूला चाडपर्व पर्खने पुरानै परम्परा हो । नयाँ वर्ष, दसैं–तिहार, माघे संक्रान्ति, होलीदेखि भ्यालेन्टाइन्स डेसम्म पर्खने निर्माताहरू नेपालमा मात्र होइन, बलिउडमा पनि उत्तिकै छन् ।
यसबीच आगामी माघ महिनामा ठूलो बजेटका आधा दर्जन चलचित्र प्रदर्शन हुँदैछन् । तीमध्ये प्राय: सबै चलचित्रमा नाम चलेका कलाकारहरू छन् । माघे संक्रान्तिका दिन दयाहाङ राई, सौगात मल्ल अभिनीत ‘फन्को’ तथा जीवन लुइँटेल अभिनीत ‘काफल पाक्यो’ प्रदर्शन हुँदैछन् । आर्यन सिग्देल अभिनीत ‘होमवर्क’ पनि यही दिन प्रदर्शन हुने सम्भावना छ ।
माघ १५ गते खगेन्द्र लामिछानेको ‘पशुपति प्रसाद’ सँग नन्दिता केसी अभिनित ‘कैफियत’ जुध्दैछ । माघ २२ गते जीवन लुइँटेलको ‘रिफ्यूजी’ र राजु गिरीको ‘बिन्दास–३’ प्रदर्शन हुँदैछन् ।
भ्यालेन्टाइन्स डेको अवसर पारेर माघ २९ गते अझ ठूलो प्रतिस्पर्धा हुनेछ । उक्त दिन आर्यन सिग्देलको ‘क्लासिक’, सुदर्शन थापाको ‘प्रेम गीत’ तथा ‘चलेछ बतास सुस्तरी’ प्रदर्शन हुने तय भैसकेको छ ।