फ्यान्टा द हिडन ट्रेजर मिस नेपाल–२०१६’ । देशका विभिन्न स्थानको प्रतिनिधित्व गर्दै काठमाडौंमा भेला भएका १९ जना युवती यतिबेला यही एउटा उद्देश्य लिएर हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कठोर परिश्रम गरिरहेका छन् । उनीहरू सबैको एउटै उद्देश्य छ, मिस नेपाल–२०१६ को उपाधि । उनीहरूलाई थाहा छ, मिस नेपालको उपाधि उनीहरूमध्येकै एक जनाले जित्नेछिन् तर त्यसका लागि उनीहरू सबैको प्रयास जारी छ । यो प्रयास आगामी चैत २६ गते साँझसम्म यसरी नै चलिरहनेछ । उक्त दिन देशले नयाँ मिस नेपाल प्राप्त गर्नेछ ।
आयोजक द हिडेन ट्रेजरले अघिल्ला वर्षहरूझैं यो वर्षको प्रतियोगितामा पनि काठमाडौंभन्दा बाहिरका प्रतिस्पर्धीको संख्या बढाउने सक्दो प्रयास गरेको थियो । त्यसका लागि आयोजक संस्थाले पूर्व मिस नेपालद्वय माल्भिका सुब्बा तथा सृष्टि श्रेष्ठ, कोरियोग्राफर रचना शर्मा गुरुङ तथा आयोजक संस्थाका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिको निर्णायक मण्डलीलाई पूर्वका धरान एवं विराटनगर, मध्यनेपालका चितवन, पोखरा तथा बुटबल अनि पश्चिम नेपालको नेपालगन्जसम्म पुगेर अडिसन लिन लगाएको थियो । आयोजकहरूको अपेक्षाविपरीत ती स्थानबाट उल्लेख्य सहभागी जुटेनन्, फलस्वरूप यो वर्ष पनि प्रतियोगितामा काठमाडौंकै बासिन्दाको वाहुल्यता छ ।
यो वर्ष मिस नेपालमा प्रतिस्पर्धा गर्नेहरूमध्ये काठमाडौंका मात्र १२ जना छन् भने दुई जना ललितपुरका छन् । बाँकी ५ जना मात्र काठमाडौं बाहिरका छन् । मिस नेपालमा काठमाडौंको प्रतिनिधित्व गर्नेहरूमा आश्मा केसी, कृतिमा रिमाल, सजुम कटुवाल, सचिना श्रेष्ठ, जुबी जोशी, आयुष्मा श्रेष्ठ, रोशनी खत्री, सोनिया शर्मा, अश्मी श्रेष्ठ, सिर्जना रेग्मी, प्रतिभा दवाडी, नम्रता श्रेष्ठ तथा प्रेरणा अधिकारी छन् भने ललितपुरका रोशनी खत्री तथा अंशु केसी छन् । काठमाडौं बाहिरबाट सहभागी हुनेहरूमा बुटबलकी कुसुम थापा मगर तथा करुणा खड्का, धरानकी अनिता कार्की तथा सन्दिपा लिम्बू तथा सप्तरीकी बर्षा लेखी छन् ।
विगतका वर्षहरूझैं यो वर्ष पनि मिस नेपालमा सहभागिता जनाउन इच्छुक युवतीहरूको उमेर १९ देखि २४ वर्ष तोकिएको थियो भने उचाइ कम्तीमा ५ फिट ४ इन्च हुनुपर्ने प्रावधान थियो । नेपाली नागरिक भै नेपाली पासपोर्टधारी, अविवाहित तथा कम्तीमा १० जोड दुई तह उत्तिर्ण गरेको हुनुपर्ने नियम यो प्रतियोगिताको छ ।
आश्मा केसी
मिस नेपाल–२०१६ की प्रतियोगी नम्बर १ हुन् आश्मा केसी । कीर्तिपुर, काठमाडौंकी स्थायी बासिन्दा २१ वर्षीया आश्मा होटल म्यानेज्मेन्टकी छात्रा हुन् । ५ फिट ६ इन्च अग्ली आश्माले होटल म्यानेज्मेन्टमै स्नातक (बीएचएम) तह उत्तीर्ण गरेकी छिन् । फुर्सदमा साहसिक यात्रा गर्न रुचाउने आश्मा नृत्य गर्न तथा गीत गाउनसमेत सिपालु छिन् । भविष्यमा सफल होटल व्यवसायी बन्ने लक्ष्य लिएकी आश्मालाई सारी सबैभन्दा मनपर्ने पहिरन हो । उनलाई प्राय: औपचारिक तथा परम्परागत पहिरन मन पर्छ । आश्माले यसअघि सन् २०१४ मा साप्ताहिकको सहभागितामा सम्पन्न जोय पपैया ग्ल्याम हन्टमा समेत सहभागिता जनाएकी थिइन् । मिस नेपाल २०१६ को सहभागितालाई आश्माले आफ्नो दक्षता अभिवृद्धि गराउने मुख्य कारण बताएकी छिन् । केसी भन्छिन्— ‘म विजेता हुँला अथवा नहुँला, त्यो प्रतिस्पर्धाको कुरा हो तर यो प्रतियोगिताको सहभागिताले मलाई नेपाली महिलाहरूको सशक्तीकरणका लागि आवाज उठाउन सहयोग पुर्याउनेछ भन्ने कुरामा विश्वस्त छु ।’ नयाँ कुरा सिक्ने उद्देश्यले आश्मा मिस नेपालमा प्रतिस्पर्धी बनेकी हुन् ।
कृतिमा रिमाल
रामकोट, काठमाडौंकी कृतिमा रिमाल मिस नेपाल–२०१६ की प्रतिस्पर्धी नम्बर २ हुन् । कानुनकी छात्रा कृतिमा यतिबेला बीए एलएलबी चौथो वर्षमा अध्ययरत छिन् । ५ फिट ४ इन्च अग्ली कृतिमाले यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएकी छैनन् । पाइन्ट, लुज टिसर्ट तथा सारी लगाउन मन पराउने कृतिमामा खाना पकाउने तथा उपन्यास पढ्ने सौख छ । समस्या तथा आवश्यकता परेका व्यक्तिलाई कानुनी रूपमा सहयोग गर्ने लक्ष्य लिएकी कृतिमा नयाँ–नयाँ विषयमा अनुसन्धान गर्न मन पराउँछिन् । मिस नेपाल–२०१६ को सहभागितालाई कृतिमाले जीवनकै नयाँ यात्रा बताएकी छिन् । ‘हरेक युवतीमा आफ्नै प्रकारको सुन्दरता हुन्छ, कृतिमा भन्छिन्— ‘मलाई लाग्छ, हरेक युवतीले आफ्नो सपना पूरा गर्ने अवसर पाउनुपर्छ, मिस नेपालमा मेरो सहभागिता पनि त्यसकै प्रतिविम्ब हो ।’
सजुम कटवाल
चोभार (कीर्तिपुर), काठमाडौंकी २१ वर्षीया सजुम कटवाल मिस नेपाल–२०१६ की प्रतियोगि नम्बर ३ हुन् । बीबीएकी यी छात्रा ५ फिट ४ इन्च अग्ली छिन् । सजुम अघिल्लो वर्ष काठमाडौंमा सम्पन्न मिस कलेज डिभा–२०१५ की विजेता हुन् । यात्रा गर्न तथा नयाँ–नयाँ मानिसहरूसँग छलफल गर्न रुचाउने सजुम नृत्य तथा गायनमा समेत रुचि राख्छिन् । औपचारिक पहिरनमा सजिन रुचाउने सजुमले भविष्यमा सामाजिक कार्यमा व्यस्त रहने योजना बनाएकी छिन् । एयर होस्टेजको समेत प्रशिक्षण लिइसकेकी सजुम मिस नेपालको आफ्नो सहभागितालाई आफूमा भएको दक्षता, गुण तथा क्षमतालाई निखार्ने प्रयासका रूपमा लिन्छिन् । ‘म वास्तवमा को हुँ भन्ने कुरा परीक्षण गर्नसमेत मिस नेपालमा आएकी हुँ,’ सजुम भन्छिन्— ‘म त्यस्ती महिला बन्न चाहन्छु जसले हाम्रो समाज र देशलाई केही दिन सकोस् ।’ सजुमको विचारमा मिस नेपाल एउटा त्यस्तो प्लेटफर्म हो जसले एउटी साधारण युवतीलाई एउटा मजबुत महिलामा रुपान्तरण मात्र गर्दैन, उनलाई समाजको हरेक क्षेत्रमा उभिन योग्य समेत बनाउँछ ।
सचिना श्रेष्ठ
मिस नेपाल–२०१६ की प्रतियोगी नम्बर ४ सचिना श्रेष्ठ महाराजगन्ज, काठमाडौंकी स्थायी बासिन्दा हुन् । ५ फिट ४ इन्च अग्ली २० वर्षीया सचिना बीबीए पाँचौं सेमेस्टरकी छात्रा हुन् । सडकका कुकुरहरूको हेरचाह गर्ने, संगीत सुन्ने तथा एनिमेटेड चलचित्र हेर्न मन पराउने सचिनाले भविष्यमा जनावरको अधिकार रक्षा गर्ने संस्था सञ्चालन गर्ने योजना बनाएकी छिन् । आफूलाई सुहाउने तथा आत्मविश्वास बढाउने पहिरन लगाउन रुचाउने सचिनाले यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिएकी छैनन् । मिस नेपालमा प्रतिस्पर्धा गर्ने प्रमुख कारण आफ्नो व्यक्तित्व बढाउनु रहेको बताउँदै सचिनाले भनेकी छिन्— ‘मिस नेपालमार्फत नयाँ कुरा सिक्ने–बुझ्ने त छँदैछ, यही प्रतियोगितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ कि भन्ने कुराको समेत अध्ययन गरिरहेकी छु ।’
जुबी जोशी
कुलेश्वर, काठमाडौंकी २१ वर्षीया जुबी जोशीले हालसम्म कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिएकी छैनन् । मिस नेपाल–२०१६ नै उनको पहिलो सौन्दर्य प्रतियोगिता हो जहाँ उनी आफूलाई योग्य व्यक्तिका रूपमा विकसित गर्न तथा केही कुरा सिक्न आएकी हुन् । ५ फिट ६ इन्च अग्ली जुबीका अनुसार उनी मिस नेपालमा आफ्नै परिचयका लागि तथा आफ्नो शक्तिका बारेमा जानकारी हासिल गर्न चाहन्छिन् । नृत्य तथा पुस्तक अध्ययन गर्न रुचाउने जुबी जिन्स र टिसर्ट लगाउन मन पराउँछिन् । बीबीएकी छात्रा जुबीले भविष्यमा आर्थिक समस्याका कारण कुनै पनि नेपालीले अशिक्षित हुनु नपरोस् भन्ने उदेश्यका साथ कार्य गर्ने योजना बनाएकी छिन् । मिस नेपालको सहभागिताका बारेमा राखिएको एउटा जिज्ञासामा जुबी भन्छिन्— ‘केही नयाँ कुरा सिक्न तथा आफूलाई एउटा योग्य व्यक्ति बनाउनका लागि म यो प्रतियोगितामा सहभागी भएकी हुँ । आफ्नो दक्षताका बारेमा जानकारी लिन तथा आफूलाई योग्य सावित गर्न म यो प्रतिस्पर्धामा उत्रिएकी हुँ ।’
आयुष्मा श्रेष्ठ
फुङ्लिङ, ताप्लेजुङमा जन्मिए पनि आयुष्मा श्रेष्ठले आफूलाई मिस नेपाल–२०१६ मा काठमाडौंबाटै प्रतिनिधित्व गराएकी छिन् । २० वर्षीया आयुष्मा बीबीए सातौं सेमेष्टरकी छात्रा हुन् । ५ फिट ५ इन्च अग्ली आयुष्मा आफूलाई खेलकुदप्रेमी मान्छिन् । बास्केटबल तथा स्वीमिङ आयुष्माले खेलिरहने खेल हुन् । यात्रामा समेत रुचि राख्ने आयुष्माले भविष्यमा सफल महिना बन्ने लक्ष्य लिएकी छिन् । आकर्षक पहिरन लगाउन मन पराउने आयुष्माले यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएकी छैनन् । मिस नेपालको सहभागितालाई उनी आफैं ग्रुम हुने, आफूलाई एक्स्प्लोर तथा व्यक्तित्व विकास गर्ने एउटा गतिलो माध्यमका रूपमा लिन्छिन् । ‘म वास्तवमा कस्ती छु भन्ने कुरा यही प्रतियोगिताले प्रस्ट पार्नेछ’, उनी भन्छिन् ।
रोशनी खत्री
ताल्छीखेल, ललितपुरकी २० वर्षीया रोशनी खत्री आईटीकी छात्रा हुन् । आईटीमा बीएस्सी अध्ययनरत रोशनीले भविष्यमा आईटी अफिसर बन्ने लक्ष्य लिएकी छिन् । ५ फिट ८ इन्च अग्ली रोशनी मिस नेपाल–२०१६ मा सर्वाधिक अग्ला तीन सुन्दरीमध्ये एक हुन् । क्याजुअल वेयरकी पारखी रोशनी गायनमा समेत रुचि राख्छिन् । यसअघि कुनै पनि सौन्दर्य प्रतियोतिगामा सहभागिता नजनाएकी रोशनी पहिलो प्रयासमै मिस नेपाल–२०१६ मा प्रतिस्पर्धी बन्नुलाई पनि ठूलै उपलब्धि मान्छिन् । ‘मिस नेपालको प्रतिस्पर्धीका रूपमा म असाध्यै एक्साइटेड छु, रोशनी भन्छिन्—‘मैले आफूलाई यस्तो स्थानमा पाएकी छुु, जहाँ उपाधि जित्नु मात्र ठूलो कुरा होइन ।’ रोशनी आत्मविश्वासी हुँदै थप्छिन्— ‘प्रशिक्षणका क्रममा सिकेका कुराहरू यति उपयोगी छन् कि मैले आफूलाई आत्मविश्वासी, सकारात्मक सोच भएकी, इनर्जेटिक तथा भरोसा गर्न लायक युवतीका रूपमा हेर्न थालिसकेकी छु ।’
सोनिया शर्मा
छत्रेदेउराली, धादिङमा जन्मिएकी सोनिया शर्माले मिस नेपाल–२०१६ मा आफूलाई काठमाडौंबाटै प्रतिनिधित्व गराएकी छिन् । २२ वर्षीया सोनिया मिस नेपालकी प्रतिस्पर्धी नम्बर ८ हुन् । ५ फिट ६ इन्च अग्ली सोनिया बीबीएसकी छात्रा हुन् । भविष्यमा आफ्नै व्यवसायमा सक्रिय हुने योजना बनाएकी सोनियाले मिस नेपालभन्दा अघि कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइनन् । नृत्य, गायन तथा उपन्यास अध्ययनमा रुचि राख्ने सोनियाले मिस नेपालको यो सहभागितालाई जीवनकै सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिएकी छिन् । ‘हामी सबै नै यहाँ जित्नका लागि आएका हौं, सोनिया भन्छिन्—‘म भने प्रशिक्षणबाट आफूमा आएको सकारात्मक परिवर्तनबाटै प्रभावित भैसकेकी छु ।’
अंशु केसी
ललितपुरकी २३ वर्षीया अंशु केसी मिस नेपाल–२०१६ की प्रतियोगी नम्बर ९ मात्र होइनन्, प्रतियोगिताकै सबैभन्दा अग्ली प्रतिस्पर्धी हुन् । केसी ५ फिट ९ इन्च अग्ली छिन् । एमबीएमा अध्ययरत अंशुले यो वर्षको मिस नेपालभन्दा अघि अन्य कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइनन् । नृत्य गर्न तथा स्केटिङ खेल्न रुचाउने अंशुलाई पाइन्ट, टिसर्ट, गाउन तथा लेहेंगा मन पर्छ । भविष्यमा बिजनेस इन्टरप्रेनर बन्न चाहने अंशुले मिस नेपाललाई एउटा त्यस्तो प्लेटफर्मका रूपमा लिएकी छिन् जहाँ उनी आफ्ना विचार धेरैभन्दा धेरै मानिससम्म पुर्याउन सक्छिन् । यो प्रतियोगिताको सहभागिताले आफूलाई अझ बढी आत्मविश्वासी तथा स्वाभिमानी बनाउने कुरामा उनी ढुक्क छिन् ।
कुसुम थापा मगर
बुटबलबाट मिस नेपाल–२०१६ मा प्रतियोगी नम्बर १० का रूपमा सहभागी १९ वर्षीया कुसुम थापा मगर बीबीएकी छात्रा हुन् । ५ फिट ६ इन्च अग्ली कुसुम नृत्य गर्न तथा भलिबल र टेबुलटेनिस खेल्न रुचाउँछिन् । औपचारिक पहिरनकी पारखी कुसुम मिस टिन कलेज–२०१५ कि विजेता समेत हुन् । सफल व्यवसायी बन्ने लक्ष्य लिएकी कुसुमले मिस नेपालको प्रतिस्पर्धी बन्न पाउनुलाई सम्मान तथा खुसीका रूपमा लिएकी छिन् । मिस नेपालमा आफ्नो सुन्दर सहर बुटबलको प्रतिनिधित्व गर्न पाउँदा हर्ष व्यक्त गर्ने कुसुम प्रतियोगिताका क्रममा सिकिने कुराहरू जीवनोपयोगी हुने बताउँछिन् ।
अश्मी श्रेष्ठ
बानेश्वर, काठमाडौंकी अश्मी श्रेष्ठ बीबीएकी छात्रा हुन् । ५ फिट ७ इन्च अग्ली अश्मी संगीतकी पारखी हुन् । फुर्सदमा संगीत सुनेर मन वहलाउने अश्मी भविष्यमा सफल उद्यमी बन्न चाहन्छिन् । २२ वर्षीया अश्मीका बुवा पनि उद्यमी नै छन्, त्यसैले उनी भविष्यमा आफ्नै बुवाको पेसामा आवद्ध हुन चाहन्छिन् । टिसर्ट तथा जिन्सकी पारखी अश्मीले यसअघि वर्ष २०१४ मा फेस अफ क्लासिक डायमन्डको उपाधि जितेकी थिइन् । विगत ६ वर्षदेखि मोडलिङमा सक्रिय अश्मी मोडलिङ क्षेत्रमा सिकेको सीप तथा ज्ञानले मिस नेपाल–२०१६ को आफ्नो सहभागितालाई सहयोग पुर्याउने धारणा व्यक्त गर्छिन् । ‘छ वर्ष लामो मोडलिङको अनुभव बल्ल उपयोग गर्न पाएकी छु, अश्मीले भनिन्— ‘मिस नेपाल–२०१६ मेरा लागि अर्को एउटा माइलस्टोन हो, जसलाई म हासिल गर्न चाहन्छु ।’
करुणा खड्का
बुटवलकी करुणा खड्का मिस नेपाल–२०१६ मा प्रतियोगी नम्बर १२ का रूपमा सहभागी छिन् । २० वर्षीया करुणा बीबीएकी छात्रा हुन् । ५ फिट ५ इन्च अग्ली करुणा नृत्य, गायन तथा यात्रामा रुचि राख्छिन् । एयर होस्टेजका साथै भविष्यमा सफल महिला बन्ने लक्ष्य लिएकी करुणाले यसअघि दुई वर्षअघि बुटबलमै सम्पन्न ‘मिस बुटबल–२०७०’ को उपाधि जितेकी थिइन् भने उनी गत वर्षको ‘नेपाल्स नेक्स्ट टप मोडल–२०१५’ रनर्सअपसमेत हुन् । मिस नेपालको सहभागितालाई करुणाले आफूलाई शारीरिक, मानसिक तथा भावनात्मक रूपले मजबुत बनाउने माध्यमका रूपमा लिएकी छिन् ।
अनिता कार्की
सोलुखुम्बुमा जन्मिएकी २१ वर्षीया अनिता कार्की धरानबाट मिस नेपाल–२०१६ मा प्रतिनिधित्व गरिरहेकी छिन् । न्युट्रिसन तथा डाइटमा बीएस्सी अध्ययनरत अनिता ५ फिट ५ इन्च अग्ली छिन् । संगीत सुन्न, यात्रा गर्न तथा साथीहरूसँग विभिन्न स्थलको भ्रमण गर्न रुचाउने अनिताले भविष्यमा कुशल डाइटिसियन बन्ने लक्ष्य लिएकी छिन् । हालसम्म कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग नलिएकी अनिता मिस नेपालको यो सहभागितालाई भाग्यसँग तुलना गर्छिन् । ‘मिस नेपालमा आफूलाई प्रस्तुत गर्न पाउनु पनि भाग्यकै कुरा हो, अनिता भन्छिन्— ‘मैले आफूलाई त्यस्तो ठाउँमा पाएकी छु, जहाँबाट मैले खाना र खाद्य पदार्थका बारेमा ठूलो जनसमुदायलाई नयाँ कुरा बताउन सक्छु । मेरो दुर्गम गाउँ सोलखुम्बुलाई प्रतिनिधित्व गरेर यहाँसम्म आइपुग्नुलाई पनि मैले उपलब्धिका रूपमा लिएकी छु ।’
वर्षा लेखी
फत्तेपुर, सप्तरीकी वर्षा लेखी थारु समुदायबाट मिस नेपाल–२०१६ मा सहभागिता जनाउने प्रतियोगी हुन् । २२ वर्षीया वर्षा वातावरण विज्ञानमा बीएस्सी अध्ययरत छिन् । ५ फिट ६ इन्च अग्ली वर्षा चित्रकला एवं नृत्यमा रुचि राख्छिन् । भविष्यमा राजनीतिज्ञ बन्ने लक्ष्य लिएकी वर्षाले वातावरण संरक्षणको क्षेत्रमा समेत काम गर्ने योजना बनाएकी छिन् । सारी र ब्लाउज उनलाई मनपर्ने पहिरन हुन् । यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा सहभागिता नजनाएकी वर्षा मिस नेपालको सहभागितालाई एउटा अवसरका रूपमा सदुपयोग गर्ने बताउँछिन् । उनले मिस नेपालको प्लेटफर्मलाई कमलरी/कमैया प्रथाविरुद्ध आवाज उठाउने उपयुक्त थलोसमेत मानेकी छिन् । यो प्लटेफर्म मार्फत आफूले आफ्नो समुदायका स–साना कुरालाई समेत राष्ट्रियकरण गर्न सक्ने उनको तर्क छ ।
सन्दिपा लिम्बू
सिर्जना चौक, धरानकी सन्दिपा लिम्बू ५ फिट साढे ८ इन्च अग्ली छिन् । उनी मिस नेपाल २०१६ की दोस्रो सर्वाधिक अग्ली सुन्दरी हुन् । प्रतियोगी नम्बर १५ का रूपमा प्रतिस्पर्धा गरिरहेकी सन्दिपाले प्लस टु उत्तीर्ण गरेकी छिन् । सफल र खुसी व्यक्ति बन्ने लक्ष्य लिएकी सन्दिपा गायन तथा अध्ययनमा रुचि राख्छिन् । मिस पूर्वाञ्चल–२०१२ मा फस्ट रनर्सअपको उपाधि जितेकी सन्दिपाले आफू तथा संसारलाई नजिकबाट बुझ्न मिस नेपाललाई रोजेको धारणा व्यक्त गरेकी छिन् ।
सिर्जना रेग्मी
२३ वर्षीया सिर्जना रेग्मी मिस नेपाल–२०१६ कि प्रतियोगि नम्बर १६ हुन् । दुई वर्षअघि सम्पन्न ग्ल्याम हन्ट–२०१४ मा विजयी भएकी सिर्जना ५ फिट ५ इन्च अग्ली छिन् । बालाजु, काठमाडौंकी स्थायी बासिन्दा सिर्जनाले भविष्यमा अर्थशास्त्री बन्न लक्ष्य लिएकी छिन् । मिस ग्रान्ड इन्टरनेसनल–२०१४ मा समेत सहभागिता जनाएकी सिर्जनालाई मनपर्ने खेल चेस हो । मिस नेपालको ६ हप्ता लामो प्रशिक्षणले आफूलाई सामान्य युवतीबाट सुन्दर तथा शक्तिशाली महिला बनाउने कुरामा सिर्जना ढुक्क छिन् । ‘म जित्नकै लागि मिस नेपालमा सहभागी भएकी हुँ, आत्मविश्वासी सिर्जना भन्छिन््— ‘मलाई लाग्छ विजयी हुने लक्ष्य राखियो भने मात्र सफलता प्राप्त गर्न सकिन्छ ।’
प्रतिभा दवाडी
पोखराकी स्थायी बासिन्दा प्रतिभा दवाडीले काठमाडौंको प्रतिनिधित्व गर्दै मिस नेपाल–२०१६ मा सहभागिता जनाएकी छिन् । प्रतियोगी नम्बर १७ का रूपमा प्रतिस्पर्धा गरिरहेकी प्रतिभाले बीबीए उत्तिर्ण गरेकी छिन् । ५ फिट साढे ५ फिट अग्ली प्रतिभाले भविष्यमा सफल उद्यमी बन्न लक्ष्य लिएकी छिन् । अघिल्लो वर्ष सम्पन्न मिस नेपाल कल्चरमा मोस्ट पपुलर विधाको एवार्ड जितेकी प्रतिभाले मिस नेपाल–२०१६ को सहभागितालाई एउटा उपलब्धिका रूपमा लिएकी छिन् । दवाडी भन्छिन्— ‘यो एउटा त्यस्तो मञ्च हो, जहाँ प्रतिभा तथा सौन्दर्य (आन्तरिक तथा बाह्य) लाई सम्मान गरिन्छ, उच्च मूल्यांकन गरिन्छ । जसबाट हामी महिलाले थप एक कदम अघि बढ्ने अवसर पाउँछौं ।’
नम्रता श्रेष्ठ
नैकाप, काठमाडौंकी नम्रता श्रेष्ठ मिस नेपाल–२०१६ की प्रतियोगी नम्बर १८ हुन् । १९ वर्षीया नम्रता बीएएसडब्लू (सामाजिक कार्यमा स्नातक) कि छात्रा हुन् । ५ फिट ४ इन्च अग्ली नम्रता नृत्य गर्न सिपालु छिन् । आफैंलाई खुसी राख्न सके जीवन सफल हुने धारणा व्यक्त गर्ने नम्रताले यसअघि कुनै पनि सौन्दर्य प्रतियोगितामा भाग लिएकी छैनन् । मिस नेपाल–२०१६ को सहभागितालाई नम्रताले बाल्यकालदेखिकै रहर र चाहना पुरा भएको अवसरका रूपमा लिएकी छिन् । यो एउटा त्यस्तो प्लेटफर्म हो जसले मलाई स्वतन्त्रता, शक्ति तथा साहस दिन्छ, जसबाट म विश्व विजेता बन्न सक्छु ।
प्रेरणा अधिकारी
मिस नेपाल–२०१६ की प्रतियोगि नम्बर १९ हुन् प्रेरणा अधिकारी । डाँछी, काठमाडौंकी प्रेरणाको उमेर पनि १९ नै हो । ए लेभलको अध्ययन पूरा गरेकी प्रेरणा ५ फिट ४ इन्च अग्ली छिन् । सफल उद्यमी बन्ने लक्ष्य लिएकी प्रेरणाका लागि पनि यो पहिलो सौन्दर्य प्रतियोगिता हो । मिस नेपालको आजसम्मको यात्रालाई अत्यन्त सुन्दर बताउने प्रेरणाले ६ हप्ता लामो प्रशिक्षणपछि आफ्नो परिश्रमले फल पाउने आशा राखेकी छिन् ।