साप्ताहिक संवाददाता
परीक्षा नजिकिँदै जाँदा तनावको पारो पनि चढ्दै जान्छ । अझ परीक्षा हलमा बसिसकेपछि तनाव माथि पुग्छ । खासगरी परीक्षाका बेला समय व्यवस्थापन हुन नसक्दा बढी तनाव हुन्छ ।
परीक्षाको नाम लिनेबित्तिकै कतिपयको मुटुको धड्कन बढ्छ । परीक्षाका बेला समय व्यवस्थापनको कमी तथा एकाग्रता नभएर हुने तनावको समाधान भनेको परीक्षाको पर्याप्त तयारी नै हो । परीक्षाको तयारी राम्रोसँग गरेर पनि यदि समय व्यवस्थापन हुन सकेन र तनाव बढ्यो भने नतिजा खराब आउन सक्छ । परीक्षाका बेला तनाव नियन्त्रण गर्न तथा राम्रो परिणाम प्राप्त गर्न निम्न उपाय अपनाउन सकिन्छ :
परीक्षाको तयारी गर्दा एकाग्र भएर पढ्नुपर्छ । पढिरहेको बेला बारम्बार उठेर यताउति गर्ने, मोबाइलमा कुरा गर्ने जस्ता काम गरे ध्यान अन्तै मोडिन्छ । त्यसैले बरु थोरै समय पढ्नुपर्छ तर सकेसम्म मोबाइलको स्विच अफ गरेर मात्र पढ्न बस्नु उपयुक्त हुन्छ ।
परीक्षा नजिकिँदै गएपछि बचेका थोरै दिनमा हरेक दिन प्रत्येक विषय पढ्नुपर्छ । थोरै–थोरै भए पनि हरेक विषयका पाठ प्रत्येक दिन पढ्नुपर्छ, अन्यथा एउटा विषय पढ्दा अर्को विषयको कुरा बिर्सिइन सकिन्छ ।
परीक्षाको हाउगुजी त्याग्नुपर्छ र परीक्षाबाट डराउनु हुँदैन । परीक्षामा अप्ठेरा प्रश्न आउँछन् भन्ने मानसिकता त्याग्नुपर्छ । पढेकै पाठबाट जानेको प्रश्न सोधिन्छ भन्ने आत्मविश्वास राख्नुपर्छ । त्यसैले सोधिन सक्ने प्रश्नको उत्तर लेख्ने पर्याप्त अभ्यास गर्नुपर्छ ।
प्राय: विद्यार्थीहरू के सोच्छन् भने कम खाँदा निद्रा लाग्दैन, तर यो गलत सोच हो । अध्ययनका लागि पर्याप्त खानपिन आवश्यक हुन्छ । पढाइका बेला घरमै तयार गरिएका खाना खानुपर्छ । होटलको खाना कमसेकम प्रयोग गनुपर्छ ताकि बिरामी नहोइयोस् । पर्याप्त पानी तथा अन्य तरल पदार्थ खानुपर्छ भने पर्याप्त समय सुत्नुपर्छ ।
पढ्नुका साथै लेख्ने अभ्यास पनि गरिरहनुपर्छ । बजारमा उपलब्ध विभिन्न पुस्तकको सहायता लिएर सम्बन्धित विषयवस्तुमा अझ स्पष्टता हासिल गर्न सकिन्छ । अध्ययनका दौरान पाठको अंक भारलाई ध्यान दिएर उपयुक्त समय छुट्याउनुपर्छ । यसो गरे कम अंकको पाठमा बढी समय अल्झिनु पर्दैन ।
यदि कुनै तनाव छ भने तनाव पालेर नबस्नुहोस् । यो विषयमा अभिभावक, शिक्षक तथा दाजु, दिदी वा साथीसँग खुलेर कुराकानी गर्नुपर्छ । यसो गर्दा मन हल्का हुन्छ र तनावको समाधानसमेत निस्कन्छ । यति गर्न सके तनावका कारण परीक्षा बिग्रने डर कम हुन्छ ।