फेसबुकमा विभिन्न प्रकारका रमाइला भिडियो अपलोड भैरहेका हुन्छन् । यद्यपि ती मध्ये आफूलाई मन परेको भिडियो आफ्नो मोबाइलमा डाउनलोड गरेर राख्न भने धेरैलाई समस्या परेको हुन सक्छ ।
आफैंले अपलोड गरेको भिडियो आफ्नो मोबाइलमा डाउनलोड गर्न आफ्नो फेसबुक पेजको फोटोज/एल्बम लेखिएको सेक्सनमा जानुपर्छ । त्यहाँबाट आफूले डाउनलोड गर्नुपर्ने भिडियो सेलेक्ट गर्नुपर्छ । त्यसपछि उक्त भिडियोलाई क्लिक गरेर खोल्दा भिडियोको तल ‘अप्सन’ लेखिएको बटन आउँछ । अप्सनमा क्लिक गरेपछि ‘डाउनलोड एचडी’ वा ‘डाउनलोड एसडी’ गरी दुई विकल्प देखिन्छन् । अब आफूलाई एचडी वा एसडी कस्तो खालको भिडियो चाहिने हो, त्यही भिडियो डाउनलोड गर्न सकिन्छ ।
अन्य साथीले अपलोड गरेको भिडियो डाउनलोड गर्न भने अलि फरक उपाय अपनाउनुपर्छ । त्यसका लागि फेसबुक खोलेर आफूले डाउनलोड गर्नुपर्ने भिडियोलाई ‘प्ले’ गर्नुपर्छ । त्यसपछि एड्रेस बारमा उक्त भिडियोको लिंक सेलेक्ट गर्नुपर्छ । त्यसपछि एड्रेस बारमा लेखिएको ‘डब्ल्युडब्ल्युडब्ल्यु’ को सट्टामा ‘एम’ लेख्नुपर्छ । त्यसपछि नयाँ पेज युआरएल बन्छ । नयाँ पेज युआरएल बनेपछि इन्टर थिच्दा फेसबुकको मोबाइल पेज खुल्छ ।
नयाँ पेज खुलेपछि ‘अप्सन’ मा क्लिक गरी भिडियोमा राइट क्लिक गर्नुपर्छ । त्यसपछि ‘सेभ भिडियो एज’, ‘सेभ टार्गेट एज’ वा ‘सेभ लिंक एज’ मध्ये कुनै विकल्प आउँछ । त्यसपछि आफूलाई आफ्नो मोबाइल फोनमा जहाँ सेभ गर्न मन लाग्छ, त्यहाँ भिडियो सेभ गर्न सकिन्छ ।