साप्ताहिक संवाददाता
विश्वव्यापी रूपमा ७१ करोड १० लाखभन्दा बढी प्रयोगकर्ता भएको अग्रणी म्यासेजिङ एप भाइबरले नेपालमा पनि पब्लिक च्याट प्रारम्भ गरेको छ ।
भाइबर पब्लिक च्याट यस्तो मोबाइल प्लेटफर्म हो जसले प्रयोगकर्ताहरूलाई सेलिब्रिटी, विभिन्न व्यक्तित्व तथा ब्रान्डलाई फलो गर्न सहज बनाउँछ । यो पब्लिक च्याटमा टेक्स्ट, तस्बिर, अडियो, भिडियो, स्टिकर, वेब लिंक तथा विभिन्न विशेषताहरू छन् भने भाइबरका सबैभन्दा लोकप्रिय च्याटहहरू पनि पब्लिक च्याटको होम स्क्रिनमा देखिन्छन् ।
यसबाट प्रयोगकर्ताले सजिलै कसले च्याट गरिरहेको छ हेर्न तथा व्यक्तिगत च्याट लिंकबाट सिधै च्याट गर्न सकिन्छ । विभिन्न ब्रान्ड तथा संस्थाहरूका लागि पनि आफ्ना टिम, सहकर्मी एवं पार्टनरहरूलाई परिचित गराउन पनि पब्लिक च्याट प्रमुख प्लेटफर्म हुनेछ ।
हाल पब्लिक च्याटमा माल्भिका सुब्बा, प्रियंका कार्की, ऋचा शर्मा, नग्मा श्रेष्ठ, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईजस्ता व्यक्तित्वहरू चर्चित भैसकेका छन् । यसबाट प्रयोगकर्ताहरूले आफूले मन पराएका सेलिब्रिटी वा व्यक्तित्वहरूका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्छन् ।
‘भाइबरको पब्लिक च्याटमा हुँदा मैले एकदमै राम्रो अनुभव गरिरहेको छु । मलाई रमाइलो पनि लागिरहेको छ,’ चर्चित नेपाली नायिका ऋचा शर्माले भनिन् । ‘यो नयाँ र रमाइलो छ । नेपालमा प्राय: भाइबर प्रयोग गरिने हुँदा, मलाई आफ्ना कुरा सेयर तथा अपडेट गर्न सजिलो भएको छ,’ सन् २०१२ की मिस नेपाल अर्थ नग्मा श्रेष्ठले भनिन् । ‘पब्लिक च्याटबाट मेरा फ्यानहरूले मेरो संगीत तथा नयाँ कुराहरू सीधै हेर्न सक्नुहुन्छ, साथै यसले गर्दा मैले अझ धेरै मानिससँग कनेक्ट गर्न सकेको छु र मैले आफूले चाहे जतिलाई पब्लिक च्याटमा इन्भाइट पनि गर्न सक्छु,’ चर्चित पप गायक निमा रुम्बाले भने ।
‘हाम्रा नेपाली प्रयोगकर्ताहरूले अब पब्लिक च्याटमार्फत सजिलै आफ्ना सेलिब्रटीहरूसँग कनेक्ट गर्न पाउनेछन् भन्ने खबर दिन पाउँदा हामी एकदमै उत्साहित छौं । पब्लिक च्याटले प्रयोगकर्ताहरूलाई नयाँ तरिकाबाट बातचित गर्न, प्रत्यक्ष कुराकानी सुन्न र आफूले चाहेका व्यक्तिहरूका बारेमा विभिन्न कुराहरू थाहा पाइरहन सहज बनाउँछ,’ भाइबर दक्षिण एशियाका क्षेत्रिय प्रमुख अनुभव नायर भन्छन् ।
आफ्नो भाइबर पब्लिक च्याट बनाउन [email protected] मा इमेल गर्न सकिन्छ ।