म २० वर्षकी भैसकेकी छु । म कक्षा ११ मा अध्ययनरत छु तर मेरो महिनावारी सुरु भएको छैन । सुरुमा त केही लाग्दैनथ्यो तर अहिले डर लाग्छ । मलाई धेरै चिन्ता लाग्छ, कतै म आमा बन्न नसक्ने हुँ कि ? के गर्ने होला ?
के.
सामान्यत: १३–१५ वर्षको उमेरसम्ममा हरेक किशोरीमा महिनावारी प्रारम्भ हुन्छ, तर यो उमेरसम्ममै सुरु हुनुपर्छ भन्ने छैन । तपाईको उमेर २० पुगेर पनि महिनावारी नहुनु सामान्य नहुन सक्छ, तर महिनावारी सुरु भएन भनेर आत्तिहाल्नु हुँदैन । महिनावारी नहुने समस्यालाई प्राइमेरी एमोनेरिया भनिन्छ । समयमा महिनावारी सुरु नहुने धेरै कारण छन् । महिनावारी गराउने तथा सन्तुलन कायम राख्ने संरचना (हाईपोथालामो–पिट्युटरी–ओभरिएन एक्सिस) मा आएको सामान्य गडबडीले पनि महिनावारी रोक्न सक्छ । कसै–कसैमा क्रोमोजोमको खराबी, पाठेघर वा योनिमार्गको बनोट तथा विकासमा अवरोधले पनि महिनावारी नभएको हुन सक्छ । कुन कारणले गर्दा महिनावारी नभएको हो पत्ता लगाउनुपर्छ । महिनावारी नहुने सबै महिलाले सन्तान लाभ गर्छन् भन्न सकिँदैन, तर कारण पत्ता लगाएर उपचार गरेको खण्डमा धेरैले सन्तान प्राप्त गर्न सक्छन् ।