फ्रान्समा जारी युरो कप फुटबलमा विभिन्न देशले प्रतिस्पर्धा गरिरहेका छन् । युरो कपको सन्दर्भमा अन्य कुराका अतिरिक्त त्यसमा प्रयोग गरिएका विभिन्न प्रविधिको पनि चर्चा भैरहेको छ । अहिले युरो कपमा कतिपय नयाँ प्रविधि पहिलो पटक प्रयोग भैरहेको छ ।
सम्भावित हुलदंगा वा आतंकवादी आक्रमणविरुद्ध अपनाइएका सुरक्षा उपायका लागि पनि प्रविधि प्रयोग भएको छ । त्यसका लागि फ्रान्सेली सरकारले एउटा एप्स नै निर्माण गरेको छ । उक्त एप्सको नाम छोटकरीमा साइप राखिएको छ । जसको अर्थ सिस्टमे डि अलर्ते एट डिइन्फर्मेसन डेस पोपुलेन्स हो । यो एप्सले कुनै ठाउँमा आतंकवादी घटना घटे १५ मिनेटभित्रै त्यसको जानकारी सुरक्षा व्यवस्थामा संलग्न निकायलाई दिन्छ ।
युरोका प्रतियोगिता हुने क्षेत्रलाई एन्टी ड्रोन टेक्नोलोजीयुक्त क्षेत्र भनेर छुट्याइएको छ । ड्रोन उडाउनु अहिले सामान्य भैसकेको छ, तर युरो फुटबल हुने र अभ्यास खेल खेलिने कुनै पनि स्थानमा ड्रोन उडाउन प्रतिबन्ध लगाइएको छ । यसका लागि विशेष प्रकारले निगरानीसमेत गरिएको छ ।
सन् २०१४ को विश्वकपमा गोल लाइन प्रविधिको प्रयोग पहिलो पटक गरिएको थियो । अहिलेको युरो कपमा पनि बल कुन स्थानमा छ भन्ने कुरा ७ वटा क्यामेराले ट्रयाक गरिरहेका हुन्छन् । यदि बल गोलपोस्टमा पुग्यो र गोल भयो भने रेफ्रीको शरीरमा भएको भाइब्रेटिङ डिभाइसले त्यसको जानकारी दिन्छ । यसरी प्रयोग गरिएको गोल लाइन प्रविधिले रेफ्रीको निष्पक्षतामा कुनै शंका उत्पन्न हुन दिँदैन ।
एडीडास कम्पनीले युरो कपका लागि विशेष प्रकारको फुटबल निर्माण गरेको छ । विशेष रूपमा निर्माण गरिएको यो बललाई ग्रिपमा लिन सहज हुन्छ । त्यसैगरी फुटबल हावामा उडिरहेको पनि सजिलै देख्न सकिन्छ ।
युरो कपका खेललाई लाइभ प्रस्तुत गर्न एक भीआर निर्माता कम्पनीले स्वीकृति पाएको छ । यसका लागि नोकियाको ओजो क्यामेरा प्रयोग गरिएको छ । यसमा ८ वटा लेन्स तथा ८ माइक्रोफोन छन् । यसलाई ३ सय ६० डिग्रीको स्वरूपमा खिचिँदै छ र यसलाई मानिसहरूले भीआर हेडसेट प्रयोग गरेर लाइभ हेर्न सक्छ । यद्यपि यो क्यामेराले सबै खेल खिच्ने स्वीकृति भने दिइएको छैन । जुन १० को पहिलो खेल र केही मुख्य खेल यो क्यामेरामार्फत खिच्ने व्यवस्था गरिएको छ ।
युरोमा सहभागी खेलाडीहरूले शरीरमा फिटनेस ट्रयाकर र स्मार्टब्यान्डजस्ता वेरेबल प्रविधि प्रयोग गरिरहेका छन् । यो प्रविधिमार्फत प्रशिक्षकहरूले खेलाडीमा भएको थकान, पीडा एवं उसको दौडको गति, दूरी आदि मापन गरिरहेका छन् । जसका आधारमा प्रशिक्षकहरूलाई रणनीति बनाउन सजिलो भएको छ ।