गत साता ट्विटरमा ४ घण्टा लगातार ह्यासट्याग नाओ रणवीर कंगना ट्विटर पहिलो पोजिसनमा ट्रेण्ड भैरहेको थियो । सबै कंगना रणावत र रणवीर कपुरबीच के खिचडी पाकिरहेको छ भन्ने जान्न चाहन्थे ।
समाचारअनुसार यो अफवाहका कारण रणवीर क्रुद्ध भएका छन् । रणवीर हालैमात्र मोरक्कोबाट फर्किएका हुन् । उनी मुम्बईमा अपकमिङ चलचित्र जग्गा जासुसको छायाकंनमा व्यस्त भैसकेका छन् । रणवीर निकटस्थ सूत्रका अनुसार अहिले रणवीर यो हल्ला कहाँबाट उठेको हो, जान्न चाहिरहेका छन्, किनभने उनका अनुसार यो हल्लामा कुनै सत्यता छैन । रणवीर आफ्नो मौनतालाई कसैले गलत उपयोग गरेको मानिरहेका छन् ।
मिडियामा आफू र कंगनाको अफेयरको चर्चा यसरी नै चलाइयो भने उनी कडा प्रतिवादमा उत्रने बताइन्छ । आखिर हावा नचली पात हल्लिँदैन, कुरा के रहेछ भने सैफ अलि खान र करिना कपुरको घरमा आयोजित पार्टीमा रणवीर र कंगना एकसाथ पुगेका रहेछन् । त्यतिमात्र होइन, पार्टीका क्रममा उनीहरूले घन्टौं गफगाफ गरेका रहेछन् । उनीहरूको पहिलो भेट दिल्लीमा आयोजित एक कार्यक्रममा भएको थियो । मुम्बई फर्किएपछि रणवीरले कंगनासँग सम्पर्क नराखे पनि कंगनाले इमेलमार्फत रणवीरसँग सम्पर्क कायम राखेको सूत्रले जिकिर गरेको छ ।