साप्ताहिक संवाददाता
प्रविधिको विकास यति तीव्र गतिमा हुँदैछ कि अब कागजको पासपोर्ट एकादेशको कथा बन्दैछ । बेलायतको एउटा कम्पनी एउटा नवीनतम प्रविधिको खोजीमा जुटिरहेको छ जसले कागजी पासपोर्टको युगको अन्त्य गरिदिनेछ र अध्यागमनमा पासपोर्टको साटो आफूले बोकेको मोबाइलबाटै काम चल्नेछ ।
विश्वमा सबैभन्दा ठूलो पासपोर्ट उत्पादक तथा बेलायतको बैंकनोट मुद्रण गर्ने कम्पनी डे ला रोएले स्मार्टफोनमै पासपोर्ट इम्बेड गर्ने योजनाको घोषणा गरेको हो । दि टाइम्सले कम्पनीका प्रमुख कार्यकारीको हवाला दिँदै अध्यागमन नियन्त्रणमा समेत काम लाग्ने मोबाइल फोनमा आधारित सुरक्षित सूचना प्रणाली विकाश गर्ने परियोजनामा कम्पनीले काम सुरु गरिसकेको बताएको छ । सूचना प्रविधिको वर्तमान युगमा सायद एउटा मात्र गैरडिजिटल अर्थात् कागजी डकुमेन्ट भनेकै पासपोर्ट हो । एयरलाइन्स टिकेट पनि प्रत्यक्ष रूपमा मोबाइल फोनमै उपलब्ध हुने भैसकेको छ ।
अहिले पासपोर्टको पहिचान प्रणालीलाई डिजिटल स्वरूपमा ढाल्नु र सरकारबाट त्यसका लागि स्वीकृति प्राप्त गर्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको छ ।