साप्ताहिक संवाददाता
अभिनेत्री निशा अधिकारी तथा दिया मास्केले केही वर्षअघि एउटा चलचित्रमा अभिनय गरेका थिए । नेपालमा पहिलो पटक महिला समलिंगी (लेस्बियन) हरूको विषयमा आधारित चलचित्र ‘सुनगाभा’ मा उनीहरूले चुनौतीपूर्ण भूमिका निर्वाह गरे ।
व्यवसायिक रूपमा औसत रहे पनि उक्त चलचित्रले समीक्षकहरूको राम्रो प्रशंसा पायो । सुनगाभाको प्रदर्शनताका निशा र दियाको जोडीमा आधारित थुप्रै गसिप पनि बने । यी सबै प्रसंग पुराना भैसकेका बेला यो साता ‘सुनगाभा’को त्यही जोडी पुन: सँगै देखिएको छ । यसपटक निशा र दियाले म्युजिक भिडियो रोजेका छन् ।
सांगीतिक समूह ‘ब्ल्याक हक’ का गायक सावनदेव श्रेष्ठको ‘अन्तिम पटक...’ गीतमा यी दुवै नायिकासँगै देखिएका त छन् तर ‘सुनगाभा’ कै जस्तै भूमिकामा हो कि होइन भन्ने कुरालाई गोप्य नै राखिएको छ । राज केसीद्वारा निर्देशित यो भिडियो केही सातापछि नै दर्शकमाझ पुग्दैछ ।