साप्ताहिक संवाददाता
विदेशमा नेपाली चलचित्र छायांकन गर्ने क्रम बढ्दो छ । डेढ वर्षअघि युरोपको बेल्जियममा छायांकन गरिएको चलचित्र ‘नमस्ते नेपाल’ आज शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ । चलचित्र ‘नमस्ते नेपाल’का लेखक तथा निर्देशक राजु शाहले यसअघि युरोपमै चलचित्र ‘सपनाको नौलो संसार’ निर्देशन गरेका थिए ।
चलचित्र ‘सपनाको नौलो संसार’ को केही भाग नेपालमा पनि खिचिएको थियो भने चलचित्र ‘नमस्ते नेपाल’को सम्पूर्ण छायांकन युरोपमै गरिएको हो । प्रदीपकुमार उदय, मन्दिरा श्रेष्ठ तथा श्रीजु शाहले निर्माण गरेको चलचित्र ‘नमस्ते नेपाल’मा युरोप तथा नेपालका कलाकारहरूले अभियन गरेका छन् । बेल्जियमकी नागरिक आना चलचित्रकी मुख्य नायिका हुन् भने उतैका एडीले यसमा नकारात्मक भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा केही वर्षदेखि युरोपमै बसोबास गरिरहेका कलाकारहरू श्याम श्रेष्ठ, सनमकुमार बैराग, पार्वती अधिकारी आदिले पनि अभिनय गरेका छन् । दिव्य सुवेदीको छायांकन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, राजु शाहको नृत्य निर्देशन तथा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको चलचित्र ‘नमस्ते नेपाल’ नायक सविन श्रेष्ठले नेपाली हुनुको पहिचान खोज्ने क्रममा घट्ने घटनाहरूमा आधारित छ ।
निर्देशक : राजु शाह
संगीत : वसन्त सापकोटा/श्याम सुनार
कलाकार : सविन श्रेष्ठ, श्याम श्रेष्ठ, आना, गोपाल ढकाल, जर्ज, एडी आदि ।
चलचित्र नमस्ते नेपालको ट्रेलर