नायिका ज्योत्सना योगीको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ आज शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । पहिलो चलचित्र भएकाले दर्शकहरूले कस्तो प्रतिक्रिया जनाउने हुन् भन्ने कुराले उनको मुटुको ढुकढुकी बढाइरहेको छ । यद्यपि उनले अभिनय गरेको एउटा पपगीतको म्युजिक भिडियो सार्वजनिक भैसकेकाले कतिपय दर्शकले उनको प्रतिभाको मूल्यांकन गरिसकेका छन् । गायक रमेश मास्केको ‘झुलूँ कि म लहरा भै...’ गीतको म्युजिक भिडियोमा ज्योत्सना मात्र होइन, चलचित्रका उनका जोडी आकाश श्रेष्ठले पनि अभिनय गरेका छन् ।
भिडियोमा यो जोडी आकर्षक देखिएको छ । पहिलो चलचित्र नै प्रदर्शन नभै ज्योत्स्नालाई भिडियो खेल्ने हतार किन परेको होला ? उनको सामान्य जवाफ छ— ‘कलाकार भएपछि चलचित्र र भिडियोमा भेदभाव गर्नु हुँदैन ।’ यतिबेला चलचित्रका अधिकांश नायिका म्युजिक भिडियोलाई ‘पार्ट टाइम जब’ का रूपमा लिन थालेका छन् । पुरानी नायिका करिश्मा मानन्धरदेखि नयाँ नायिका ज्योत्सना योगीसम्मले म्युजिक भिडियोलाई फुर्सदको सदुपयोग गर्ने माध्यममात्र होइन, पकेटमनी अथवा आम्दानीको एउटा वैकल्पिक स्रोतका रूपमा समेत लिन थालेका छन् । शिल्पा पोखरेल चलचित्रमा स्थापित भैसकेकी नायिका हुन् । डेढ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेपछि मात्र चलचित्रमा नायिकाका रूपमा पदार्पण गर्ने शिल्पा अहिले पनि भिडियोको अभिनयलाई निरन्तरता दिइरहेकी छिन् ।
शिल्पाका अनुसार म्युजिक भिडियो उनका लागि अभिनयको स्कूल हो । भिडियोका लागि टिनएजर किशोरीदेखि हजुरआमासम्मको भूमिका निर्वाह गरिसकेकी शिल्पा भिडियोकै अभिनयले आज चलचित्र क्षेत्रमा स्थापित हुन सहज भएको बताउँछिन् । प्रियंका कार्की, केकी अधिकारी, नीता ढुंगाना, बेनिशा हमाल, रीमा विश्वकर्मा, अनु शाह, नन्दिता केसी, रञ्जिता गुरुङजस्ता कलाकारहरू चलचित्रमा भन्दा म्युजिक भिडियोमा बढी व्यस्त छन् । चलचित्रमा अभिनय गर्दा–गर्दै एक–दुई दिन ब्रेक लिएर म्युजिक भिडियोलाई समय दिने नायिकाहरू पनि प्रशस्तै छन् । कतिपय नायिकाले म्युजिक भिडियोलाई वैकल्पिक आम्दानीको स्रोत मानेका छन् भने कतिपयले नि:शुल्क रूपमा घरमै बसेर हेर्न सकिने भएकाले कम समयमै दर्शकमाझ पुग्न सक्ने प्रभावकारी माध्यमका रूपमा लिएका छन् ।
यसबाहेक युट्युबमा आफूलाई मन लागेका बेला हेर्न सकिने भएकाले म्युजिक भिडियोको प्रभावकारीता बढिरहेको कुरालाई नायिकाहरूले राम्रोसँग बुझेका छन् । नायिका केकी अधिकारी म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै चलचित्रमा आउने कलाकार हुन् । सयौं म्युजिक भिडियोमा अभिनय गरेपछि केकीले नेपाली चलचित्रमा पदार्पण गरेकी हुन् । चलचित्रमा समेत स्थापित भैसकेकी केकीले म्युजिक भिडियोलाई पनि माया मारेकी छैनन् । अहिले पनि उनी महिनामा दुई–चारवटा म्युजिक भिडियोमा अभिनय गरिरहेकै छिन् । भिडियोमा अभिनय गर्ने नायिकाहरूले पारिश्रमिक पनि आकर्षक पाउँछन् ।
करिब १२ घण्टा समय दिँदा एउटी नायिकाले एउटा म्युजिक भिडियोबाट औसत २५ हजार रुपैयाँ पारिश्रमिक लिन्छन् । नायिका नम्रता श्रेष्ठले एउटै भिडियोमा अभिनय गरेर ५० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक लिएकी छिन् । उनी अहिले पनि त्यसभन्दा कम पारिश्रमिकमा काम गर्दिनन् । केकी अधिकारीले पनि अचेल ४० हजार रुपैयाँभन्दा कम पारिश्रमिकमा भिडियो खेल्न छाडेकी छिन् । नायिका प्रियंका कार्की पनि म्युजिक भिडियोका लागि महँगी मानिन्छिन् ।