आठौं संस्करणको डी सिने एवार्ड–२०७३ यही साउन २९ गते सुन्दर नगरी पोखरामा हुने भएको छ । छायाँछवि क्रिएसनद्वारा आयोजित यो एवार्ड समारोहमा विभिन्न २६ विधामा एवार्ड प्रदान गरिनेछ । डिजिटल फम्र्याटमा बनेका चलचित्रलाई सहभागी गराइने यो एवार्डका लागि उत्कृष्ट पाँचको मनोनयनसमेत सार्वजनिक गरिएको छ ।
यसपालिको डी सिने एवार्डमा उत्कृष्ट चलचित्रको विधामा क्लासिक, पशुपतिप्रसाद, ड्रिम्स, प्रेमगीत तथा वडा नं. ६ मनोनयन परेका छन् । यसैगरी उत्कृष्ट निर्देशक उज्ज्वल घिमिरे, दिनेश राउत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङ, सुदर्शन थापा, उत्कृष्ट अभिनेता आर्यन सिग्देल, दयाहाङ राई, निखिल उप्रेती, प्रदीप खड्का, सौगात मल्ल तथा उत्कृष्ट अभिनेत्री केकी अधिकारी, नम्रता श्रेष्ठ, नीता ढुंगाना, पूजा शर्मा तथा प्रियंका कार्की उत्कृष्ट पाँचमा अटाएका छन् ।
उत्कृष्ट सहअभिनेता कामेश्वर चौरसिया, जितु नेपाल, प्रमोद अग्रहरी, सलोन बस्नेत तथा सुशान्त कार्की, उत्कृष्ट सहअभिनेत्री अनु शाह, अशिष्मा नकर्मी, नन्दिता केसी, सुरबिना कार्की तथा हर्षिका श्रेष्ठ मनोनयनमा छन् । चरित्र अभिनेतामा अरुण रेग्मी, नीर शाह, प्रकाश घिमिरे, माउत्से गुरुङ तथा राजाराम पौडेल एवं चरित्र अभिनेत्रीमा अरुणा कार्की, गीता अधिकारी, दीपाश्री निरौला, लक्ष्मी गिरी तथा विद्या कार्की मनोनीत भएका छन् ।
खलपात्र विधामा अनुप बराल, मुकुन्द थापा, मुरलीधर, विपिन कार्की र सुनिल थापा, त्यसैगरी हास्यकलाकारमा केदार घिमिरे, टीकाभक्त जिरेल, दीपकराज गिरी, विल्सनविक्रम राई तथा सीताराम कट्टेल यो एवार्डको दौडमा छन् । नवनिर्देशक विधामा निखिल उप्रेती, भुवन केसी, प्रणव जोशी, शिवम अधिकारी तथा सुव्रत आचार्य मनोनयनमा परेका छन् । नवअभिनेतामा आमेश भण्डारी, पल शाह, प्रदीप बास्तोला, सुशील श्रेष्ठ र सुशीला सिटौला तथा नवअभिनेत्रीमा वर्षा राउत, रोमी घिमिरे, शशी श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी देवी शाह तथा स्वस्तिका खड्काबीच प्रतिस्पर्धा हुनेछ ।
संगीतकारमा अर्जुन पोखरेल, कालिप्रसाद बाँस्कोटा, राजन शिवाकोटी, वसन्त सापकोटा तथा सुरेश अधिकारी, गायकमा कालीप्रसाद बाँस्कोटा, युवराज चौलागाईं, सुगम पोखरेल, स्वरूपराज आचार्य तथा राजेशपायल राई मनोनयनमा परेका छन् । गायिकातर्फ इन्दिरा जोशी, मेलिन राई, सोमिया बराइलीका साथमा अञ्जु पन्त दुई फिल्मबाट मनोनयनमा परेकी छिन् । यसपालिबाट थपिएको बेस्ट आइटम डान्स विधामा इन्दिरा जोशी/प्रियंका कार्की, नम्रता श्रेष्ठ, प्रियंका कार्की, मेनुका प्रधान तथा रीमा विश्वकर्मा उत्कृष्ट पाँचमा छन् ।
यो मनोनयन गत वर्ष प्रदर्शनमा आएका ६७ चलचित्रबाट गरिएको हो । उत्कृष्ट छनौटका लागि चार सदस्यीय जुरी गठन गरिएको छ । एवार्ड कार्यक्रममा सिने क्षेत्रका चर्चित अनुहारहरूले गायन, नृत्य एवं हास्य प्रस्तुति दिनेछन् । एवार्ड कार्यक्रम पोखराको विरौटास्थित होटल ग्रान्डमा सञ्चालन हुनेछ ।