साप्ताहिक संवाददाता
च्यारिटीमा सुन्तली...
साउन २१ गते प्रदर्शनमा आउने चलचित्र ‘सुन्तलीलाई भगाइलग्यो झिल्केले’ को च्यारिटी शो काभ्रेमा सम्पन्न भएको छ, जहाँ चलचित्रका कलाकारहरूलाई बाजागाजासहित स्वागत गरिएको थियो । ऋषिराज आचार्यद्वारा निर्देशित हास्यप्रधान यो चलचित्रमा सुरजनी केसीले सुन्तली तथा सुशील सिटौलाले झिल्केको भूमिका निर्वाह गरेका छन् । विगतमा नेपालका ग्रामीण क्षेत्रमा देखिएको जार राख्ने प्रथामा आधारित यो चलचित्रमा रीजा भुषाल तथा सुशान्त कार्की पनि महत्त्वपूर्ण भूमिकामा छन् ।
हमालको अपिल
आफ्ना चलचित्रको प्रचारप्रसारमा कम हिँड्ने अभिनेता राजेश हमालले मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’ हेर्न दर्शकहरूसमक्ष आग्रह गरेका छन् । हमालले एउटा भिडियो सामाग्रीमा ‘कृपया भदौ ३ गते प्रदर्शन हुने वीरविक्रम हेर्न सबै जना हलमा गएर इन्जोए गर्नुहोला’ भनेका छन् । हमालले यसअघि निर्देशक चाम्सको चलचित्र ‘हँसिया’ मा काम गरेका थिए ।
दयाहाङको जोडी
आज शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘रेलिमाई’ मार्फत अभिनेत्रीका रूपमा पदार्पण गर्ने अभिनेत्री पूर्णिमा लामासँग अभिनेता दयाहाङ राईको जोडी बन्ने भएको छ । चलचित्र ‘नेप्टे’ मा पूर्णिमा तथा दया जोडीका रूपमा दर्शकमाझ आउने पक्का भएको हो । रोहित रुम्बाले निर्माण गर्ने यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्नेछन् ।
सर्यो द विनर
भदौ १७ मा चारवटा चलचित्र प्रदर्शन हुने भएपछि ‘द विनर’ ले आफ्नो प्रदर्शन मिति परिवर्तन गरेको छ । नयाँ मिति घोषणा गर्न बाँकी रहेको नेपाल, अस्ट्रेलिया तथा दुबईमा छायांकन गरिएको यो चलचित्रमा मलिना जोशी, महेश श्रेष्ठ, मञ्चिन शाक्य आदि कलाकारले अभिनय गरेका छन् ।
झुम्की पनि सर्यो
भदौ १० गते प्रदर्शनमा आउने भनिएको चलचित्र ‘झुम्की’ अब असोज ७ गते मात्र प्रदर्शन हुने भएको छ । अपिल विष्टद्वारा निर्देशित यो चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, मलिना जोशी, मनोज आरसी आदिले अभिनय गरेका छन् ।
गाँठोको प्रतिस्पर्धा
चलचित्र ‘गाँठो’ ले आफ्नै चलचित्रको गीतको भिडियो प्रतियोगिता गर्ने घोषणा गरेको छ । मनको गाँठो फुकाउने भिडियो कन्टेस्ट शीर्षकको यो प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ जित्न सक्नेछन् । हालै सार्वजनिक गरिएको गीत डाउनलोड गरी भिडियो बनाएर पठाउने भाग्यमानी विजेताले उक्त पुरस्कार जित्न सक्ने बताइएको छ । भदौ ३१ गते प्रदर्शनमा आउने सुरज भुषालद्वारा निर्देशित यो चलचित्रमा नाजिर हुसेन, नम्रता श्रेष्ठ तथा अभय बराल मुख्य भूमिकामा छन् ।
प्रदर्शनअघि नै सुरक्षित
निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट–२’ ले प्रदर्शनअघि नै लगानी सुरक्षित गरेको बताएका छन् । दीपेन्द्र के खनालद्वारा निर्देशित यो चलचित्रको युट्युब, भीसीडी तथा ओभरसिज राइट्स हाइलाइट्स नेपालले किनेको हो । चलचित्र चपलीहाइट–२ मा आयुष्मान जोशी, मरिष्का पोखरेल, परिणिता राज्यलक्ष्मी राणा आदि कलाकारले अभिनय गरेका छन् ।