साप्ताहिक संवाददाता
दीपकराज गिरी, अभिनेता/निर्माता
पछिल्ला एवार्डहरूमा तपाईंको कडा विरोध आइरहेको छ नि, किन ?
एवार्ड वितरणका क्रममा गम्भीरताको अभाव देखिन्छ । जुरीको निर्णयभन्दा पनि जुरी चयनमै समस्या छ, मैले यही कुराको विरोध गरेको हुँ । एवार्ड वितरणमा राम्राभन्दा हाम्रातिर लाग्ने प्रवृत्तिको मात्र विरोध गरिएको हो ।
नेपालमा वितरण गरिने एवार्डहरू विवादरहित हुँदैनन् र ?
नेपाली चलचित्रको आधुनिकीकरण भैसकेको छ तर एवार्डका निर्णायकमा सन् १९८० ताका चलचित्र निर्माण गर्ने चलचित्रकर्मीहरूलाई राखिन्छ । उहाँहरूले बनाएको चलचित्र सिनेमा हलमा दुई दिन पनि टिक्दैनन् । त्यस्ता व्यक्तिले अहिलेका आधुनिक चलचित्रको यो ठीक, यो बेठीक भन्ने कुरा कसरी मूल्यांकन गर्न सक्छन् ?
यो तपाईं आफूले चाहेको विधामा मनोनीत नहुँदाको विरोध हो कि ?
हामीले निर्माण गरेको चलचित्र उत्कृष्ट ५ को मनोनयनमा पर्छ भन्ने दाबी मात्र हो, सर्वोत्कृष्टको दाबी होइन । त्यसका लागि विरोध गरिएको पनि होइन ।
नेपाली चलचित्रले यति धेरै एवार्ड समारोह थेग्न सक्छ ?
जसरी हाम्रो जस्तो सानो उद्योगले वर्षमा १ सय २३ वटा चलचित्रलाई झेलिरहेको छ, त्यसरी नै हामीले दर्जनौं एवार्ड समारोहहरू झेलिरहनुपरको छ ।
विगतदेखि नै तपाईंको
सहयोग रहेको एउटा एवार्ड समारोहप्रति पनि तपाईंले चित्त दुखाउनुभयो नि ? मैले चित्त दुखाएको छैन । मैले हालसम्म तीनवटा चलचित्र निर्माण गरिसकेँ तर नजिक भनिएको संस्थाले अहिलेसम्म मेरो चलचित्रलाई उत्कृष्ट चलचित्रको एवार्ड दिएको छैन । जहाँसम्म मनोनयनमा परेको कुरा छ, मदिरा नपिई सोच्यो भने त्यो सही छ ।
चलचित्र एवार्डका जुरी नै अयोग्य भएका हुन् ?
जब पत्रिकामा कुनै कोलम लेख्ने मान्छे जुरीमा पुग्छ उसको पत्रकारिताको इतिहास नै १० वर्षभन्दा लामो छैन । एउटा चलचित्र वा एउटा टेलिफिल्म बनाएको व्यक्ति यहाँ जुरी बन्छ, उनीहरूको योग्यताका बारेमा मैले केही बोलिरहनुपर्छ र ?