साप्ताहिक संवाददाता
अभया सुब्बा, गायिका
‘नैनी ताल, नैनी ताल,
घुमी आयो रेल, घुमी आयो रेल,
आँखामा लाउने कालो गाजल,
बुलबुलमा तेल नारान नैनी ताल ।’
गायिका अभया सुब्बा तथा उनको ब्यान्ड द स्टिम इन्जिन्सले तयार पारेको यो लोकगीतको म्यासअप यतिबेला युट्युबमा भाइरल भैरहेको छ । करिब एक महिनाअघि युट्युबमा अपलोड गरिएको उक्त म्यासअपको भिडियो हालसम्म करिब ५० हजार पटक हेरिसकिएको छ । पहिलो पटक यो गीत सुन्ने तथा हेर्ने दर्शक पुन: दोहोर्याएर सुन्न तथा हेर्न बाध्य भैरहेका छन् । कारण एउटै छ— यसमा प्रयोग गरिएको ठेट नेपाली शब्द तथा पुरानो लोकभाका ।
गत शनिबार काठमाडौंमा आयोजित रक एन्ड रोल नाइट रिलोडेड कार्यक्रममार्फत आफ्नो चौथो एकल एल्बम ‘लुकिङ फर लभ’ सार्वजनिक गरेको गायिका सुब्बाको यो ब्यान्डले उक्त कार्यक्रममा ‘नैनी ताल...’ गाउने कुनै तयारी गरेको थिएन । एल्बममा समावेश नै नगरिएको ‘नैनी ताल...’ गाउने फर्माइस आएपछि ब्यान्डका संगीतकर्मीलाई लाइभमा यो गीत गाउन हम्मे–हम्मे नै पर्यो । कन्सर्टमा नैनी ताल गाउने फर्माइस आउन थालिसक्यो, साप्ताहिकसँगको भेटमा अभयाले भनिन्— ‘हामीले पुराना लोकगीतहरू संकलन गरेर नयाँ स्वरूपमा गाउने प्रयास मात्र गरेका थियौं, तर श्रोताहरूले यसलाई यति धेरै माया गरिदिनुभयो कि हाम्रा ओरिजिनल गीतभन्दा यो गीतकै पो बढी माग हुन थालेको छ ।’
लोक गीतका टुक्काहरू संकलन गरेर यो म्यासअप बनाउने योजनाचाहिं कसरी बन्यो ? गायिका सुब्बाका अनुसार उनी बालक छँदै उनका बुवाले उनलाई विभिन्न लोकगीत सुनाएका थिए । तिनै गीत स्मरण गर्दै यो गीत गाउने तयारी गरियो । ब्यान्डका सबै सदस्यको सक्रियतामा गीत रेकर्ड भयो । ब्यान्डका गिटारिस्ट राजीव रिन्छेन पाल्जरले ‘किन यसको म्युजिक भिडियो पनि नबनाउने ?’ भन्ने प्रस्ताव राखे । ‘एक दिन सबै जना बाजागाजासहित भेला भयौं र भिडियो खिच्यौं, अभया भन्छिन्— ‘यो गीतको भिडियोमा हामीलाई मादलमा महिला संगीतकर्मी शारदा डंगोलले साथ दिएकी छिन् ।’
शनिबार सार्वजनिक भएको ‘लुकिङ फर लभ’ एल्बममा भने अभया तथा उनको ब्यान्डले ६ वटा गीत समावेश गरेका छन् । एल्बममा रक, ज्याज, लोक, पप आदि सबै विधाका गीत समावेश गरिएको अभयाले बताइन् । शनिवारको कन्सर्टमा उनीहरूले यो नयाँ एल्बमका चार वटा गीत प्रस्तुत गरेका थिए । एल्बमको प्रमोसनल टुरका लागि यो ब्यान्ड गत बुधवार पोखराको त्रिसारामा प्रस्तुत भयो भने आज शुक्रबार दमौलीको होटल ड्राइभ इनमा प्रस्तुत हुँदैछ । त्यसपछि यो समूह आगामी बिहीबार बुटवल, शुक्रवार नारायणघाटमा प्रस्तुत हुनेछ ।
लगत्तै यो समूहले इटहरी, उर्लाबारी, काँकरभिट्टा तथा भदौ १८ गते शनिबार काठमाडौंको त्रिसारामा लाइभ कन्सर्ट दिनेछ । यतिबेला अभया एन्ड द स्टिम इन्जिन्समा अभया सुब्बा तथा राजवि रिन्छेनका अतिरिक्त सोनाम लामा (बास), निकेश कार्की (किबोर्ड्स), नवीन थापामगर (ड्रम्स) तथा फिचरिङका रूपमा शारदा थापा (मादल/धिमे) आबद्ध छन् ।