साप्ताहिक संवाददाता
गायिका मनीषा पोखरेल : कस्ता कलाकारलाई हिरो भन्ने ?
अभिनेता सविन श्रेष्ठ : जसले स्क्रिप्टप्रति न्याय गर्दै एउटा चलचित्रलाई नेतृत्व दिन सक्छ, उसैलाई हिरो भनिन्छ । एउटा उत्कृष्ट हिरो नृत्य, द्वन्द्व, कमेडीदेखि हरेक प्रकारका अभिनयमा परिपक्व हुनुपर्छ ।
मनीषा : सेलिब्रेटी हुँदाको फाइदा–बेफाइदा के–के छन् ?
सविन : मैले त सेलिब्रेटी हुँदाको फाइदा मात्र देखेको छु । सबैभन्दा ठूलो फाइदा भनेकै दर्शकको माया हो । हरेक ठाउँमा पुग्दा दर्शकले देखाउने सद्भाव अर्को फाइदा हो । आफूलाई मन लागेको चिया पलसमा बसेर चिया पिउन नपाउनु, सडकमै बसेर म:म खान नपाउनुचाहिँ बेफाइदा हुन् कि ?
मनीषा : सविन श्रेष्ठ भनेर कसैले नचिन्दा र आज सबैले चिन्दा कस्तो फरक अनुभव हुन्छ ?
सविन :यसमा आकाश–जमिनकै फरक छ । एउटा कलाकारका रूपमा दर्शकहरूले मलाई मन पराइदिनुभएको छ भन्ने कुराले मन प्रफुल्ल हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा नायक सविन श्रेष्ठ र पहिलेको सविन श्रेष्ठको जीवनशैली नै फरक छ ।
मनीषा : कुन नायिकासँग आफ्नो जोडी फिट हुन्छ जस्तो लाग्छ ?
सविन :हुन त म सबै नायिकासँग फिट हुन्छु जस्तो लाग्छ तर नायिका रेखा थापासँग सबैभन्दा बढी फिट छु कि ? हाम्रो जोडी फिट भएकैले हामीले धेरै चलचित्रमा अनस्क्रिन रोमान्स गर्ने मौका पाएका छौं ।
मनीषा : पर्दा अघि र पर्दा पछाडिको आफ्नो जीवनमा के भिन्नता पाउनुहुन्छ ?
सविन : पर्दापछाडिको जीवन व्यक्तिगत हुन्छ, आफूलाई मन परेको र मन लागेको सबै कुरा गर्न सकिन्छ । पर्दा अघिको जीवन सार्वजनिक हुन्छ । मनमा दु:ख भए पनि दर्शकहरूका लागि हास्नु पर्छ । निर्देशकले हाँस भने हाँस्नुपर्छ, रुनुपर्यो भने रुनुपर्छ । पर्दाअघिको जीवन हाम्रो हातमा हुँदैन ।
मनीषा : नेपाली चलचित्रलाई कस्तो हिरोको खाँचो छ ?
सविन : जसले नेपाली चलचित्रलाई बचाउन सकोस्, नेपाली चलचित्रको इज्जत राख्न सकोस् ।
मनीषा : सविन श्रेष्ठले बिर्सनै नसकेको दुई कुरा ?
सविन : हरेक बिहान जिमशाला पुग्न तथा घरबाट बाहिर निस्कने क्रममा मोबाइल र पर्स बोक्न ।
मनीषा : आफ्नो कमजोरी अरुले बताइ दिँदा कस्तो लाग्छ ?
सविन : सकेसम्म त आफ्ना कमजोरी लुकाउने प्रयास नै गरिन्छ, तर यदि कसैले बताइहाल्यो भने दु:ख लाग्छ र सँगसँगै त्यसलाई सुधार्नेतर्फ लागिन्छ ।