अहिले युवा पुस्तामात्र होइन् प्रौढहरूसमेत सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगमा अभ्यस्त हुन थालेका छन् । तस्बिर लिइदिने कोही भएनन् भने सेल्फी खिचेर अपलोड गर्नेहरूको पनि कमी छैन । यद्यपि कतिपय त्यस्ता गन्तव्य छन् जहाँबाट हामीले चाहेर पनि त्यस्तो गतिविधिलाई सामाजिक सञ्जाल वा इन्टरनेटमा अपडेट गर्न सक्दैनौं ।
संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य सोलुखुम्बको खुम्बुक्षेत्रमा पनि दुई वर्षअघि सम्म यस्तै समस्या थियो, तर अहिले यो समस्या समाधान भएको छ । अब हिमालको काखैमा चौबीसै घण्टा इन्टरनेट सुविधा उपयोग गर्न सकिन्छ । यसको सुरुवात ‘एभरेस्ट लिंक’ इन्टरनेट कम्पनीले सुरु गरेको हो, जसको कार्यक्षेत्र सोलुखुम्बु मात्र हो । वायरलेस प्रविधि प्रयोग गरी यो सेवा प्रारम्भ गरिएको हो । एउटा डाँडादेखि अर्को डाँडासम्म ‘प्वाइन्ट टु प्वाइन्ट’ टावर विस्तार गरेपछि अहिले सबैभन्दा माथि सगरमाथाको आधारशिविरसम्म इन्टरनेट चलाउन सकिन्छ ।
‘हामी एक घरबाट अर्को घर वा आफन्त साथीभाइसँग कुरा गर्नुपर्यो भने भाइबर प्रयोग गर्छौँ ।’ दिङबोचेस्थित होटल भ्याली भ्यूका प्रोपाइटर गेलु शेर्पा भन्छन्– ‘एभरेस्ट लिंकको प्रयोगले हामीलाई सहज बनाएको छ ।’ सगरमाथा अञ्चलमै पर्ने लहानदेखि विस्तार गरिएको एभरेस्ट लिंकको ठूल्ठूला तीनवटा रिपिटर टावर छन्— लहान, हलेसी र स्याङबोचेमा ।
एभरेस्ट लिंकले इन्टरनेट प्रयोगकर्तालाई रिचार्ज कार्ड बिक्री गर्छ ।
प्राय: १५ घण्टाभित्र प्रयोग गरिसक्नुपर्ने कार्ड १ सय एमबी क्षमतादेखि सबैभन्दा ठूलो १ गिगाबाइटसम्म खरिद गर्न सकिन्छ । १ सय एमबीका लागि नेपालीले २ सय ५० र विदेशीले ३ सय ५० रुपैयाा तिर्नुपर्छ । पर्यटकलाई लक्षित गरेर विस्तार गरिएको इन्टरनेट सेवाका लागि हालसम्म २ करोड भन्दा बढी लगानी भैसकेको तामाङले बताए ।
एभरेस्ट लिंकले लुक्लादेखि माथि नाम्चे, स्याङबोचे, त्याङबोचे, पाङबोचे, खुम्जुङ, दिङबोचे, गोक्यो तथा सगरमाथा आधारशिविरसम्म सेवा विस्तार गरिसकेको छ । यसलाई अस्थायी टावर राखेर आरोहण मौसमका बेला सगरमाथाको चौथो क्याम्पसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । पश्चिम म्याग्दीलगायतका जिल्लामा महावीर पुनले प्रयोग गरेजस्तै वायरलेस प्रविधि नै यहाँ पनि प्रयोग गरिएको छ । यसलाई हालका लागि सोलुखुम्बु जिल्लाभरि विस्तार गर्ने लक्ष्य छ ।