साप्ताहिक संवाददाता
विजयादशमीको पूर्वसन्ध्या पारेर मुलुककै सर्वाधिक ठूलो मोबाइल बजार सिटिसी मलमा गत शुक्रबारदेखी प्रारम्भ भयो । आकर्षक छुट तथा यथेष्ट सुविधासहित यो मेला आयोजना गर्न लागिएको सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार यो मेलालाई फरक र भव्य बनाउन सबै तयारी पुरा गरिएको छ ।
सामसुङ मोबाइल जे टु सिक्स सिटिसी मोबाइल एक्स्पो–२०१६ नाम दिइएको यो मेलामा नेपालमा उपलब्ध तीन दर्जन ब्रान्डका लेटेस्ट मोडलहरू उपलब्ध हुनेछन् । मेलाकै अवसर पारेर हङकङको स्थापित मोबाइल ब्रान्ड युएमआई पनि लन्च हुने भएको छ ।
सिटिसीमलको भुइँतल्ला, तेस्रो, चौथो र पाँचौं तलामा मेलाका स्टल रहनेछन् । मेलालाई भव्य बनाउन कलर्स, जियोनी, लाभा, ओबिआइ, स्पाइस, एमआई, जेडटिई, सिजि, इन्टेक्स, रेज, केन्ट, हुवावे आदिले एक्सलुसिभ अफर सार्वजनिक गर्दैछन् । यस्तै कार्बन, सेलम्याक्स, टचकन, पानासोनिक, एपेक्स डिजिटल, माइक्रोम्याक्स, एनसेल आदि ब्रान्डले पनि उपभोक्तामुखी अफर ल्याउने बताइएको छ ।
हाल उक्त मलमा डेढदर्जन मोबाइल कम्पनीका सर्भिस सेन्टर सञ्चालनमा छन् । नयाँ मोबाइल सेट खरिद गर्न, आफ्नो सेट एक्सचेन्ज गर्न तथा सस्तो मूल्यमा राम्रा फिचर भएका मोबाइल सेटसम्बन्धी जानकारी लिन मेला उपयोगी हुने बताइन्छ ।
मलमा हुवावे, जियोनी, लाभा, कार्बन, पानासोनिक, स्पाइस, माइक्रोम्याक्स, वन प्लस वन, एमआई, सामसङ, कलर्स, किवी, विनकम, फ्लाई, जोप्पो, ओबिआई स्पाइस आदिका सर्भिस सेन्टर छन् । मोबाइल सर्भिस सेन्टरको हब बनेको यो मलमा हुने एक्स्पोमा दर्शक आकर्षित गर्न अन्य विभिन्न कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।
८ सय देखि १ लाख ५० हजार रुपैयाँसम्मका मोबाइल सेट उपलब्ध हुने यो एक्स्पोलाई नै लक्षित गरेर केही ब्रान्डका नयाँ संस्करणसमेत सार्वजनिक हुने बताइएको छ । १० दिनको मेलामा हरेक दिन विशेष अतिथिहरूको उपस्थितिमा विभिन्न कार्यक्रम सम्पन्न हुनेछन् भने सर्वसाधारणलाई मोबाइल फोनसँग सम्बन्धित जानकारी प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन गरिनेछ । यो मोबाइल एक्स्पोमा मोबाइल फोनका अतिरिक्त इलेक्ट्रोनिक्स ग्याजेट तथा एसेसरिजहरूका बारेमा समेत जिज्ञासा मेट्न पाइनेछ ।
सामसुङको आधिपत्य कायम छ
प्रणयरत्न स्थापित, डेपुटी जनरल म्यानेजर
सामसुङ नेपाल बडादसैंलाई लक्षित गरेर सामसुङ ब्रान्डका मोबाइल सेटको बिक्री प्रबर्दनका निम्ति विभिन्न स्किमहरू सार्वजनिक गरिएको छ । प्रोमोसनकै क्रममा हामीले सिटिसी मोबाइल एक्स्पोको टाइटल स्पोन्सरसिप लिएका हौं । लोकेसन र पार्किङका हिसाबले उपभोक्तालाई सबैभन्दा पायक पर्ने सिटिसी मलमा सर्वाधिक मोबाइल सप तथा सर्भिस सेन्टर सञ्चालनमा छन् । यो मेलामा हामी एक्सक्लुसिभली प्रस्तुत हुँदैछौं ।
दसैंमा नयाँ कुरा किन्ने हाम्रो ट्ेरन्ड नै छ, त्यसमाथि सामसुङका मोबाइल किन्दा हात खाली नजाने उपहार प्रदान गर्दैछौं । हाम्रो एक्सपिरियन्स जोनमा राखिएका सेटका विविध पक्षका बारेमा उपभोक्ताहरूले जानकारी पाउनुहुनेछ । विभिन्न मोबाइल सपमा सामसुङका मोबाइल सेट खरिद गर्ने खरिदकर्तालाई विभिन्न उपहार प्रदान गरिनेछ ।
पछिल्ला थुप्रै वर्षयता सामसुङले नेपाली मोबाइल बजारमा ५० प्रतिशतभन्दा माथिको हिस्सा ओगट्दै आएको छ । उपभोक्ताहरूमा सामसुङप्रतिको क्रेज घटेको छैन्, हरेक वर्ष माग बढ्दो छ । सामसुङप्रतिको विश्वसनियताकै कारण यो विश्वकै नम्बर वान मोबाइल ब्रान्डका रूपमा स्थापित छ ।
सन्दिपमान श्रेष्ठ, अध्यक्ष
सिटिसी मोबाइल बजार, सुन्धारा एक्स्पो आयोजनाको उद्देश्य ? पहिलो उद्देश्य सिटिसी मोबाइल बजारको प्रवद्र्धन गर्नु नै हो । दोस्रो उपभोक्तालाई एउटै छानामुनि डेढ दर्जनभन्दा बढी ब्रान्डका स्मार्टफोनका सम्बन्धमा जानकारी दिँदै रोजाईके सेट किन्न सक्ने अवसर यो मेलाले प्रदान गर्नेछ । सिटिसी मोबाइल मर्मतका निम्ति १५ भन्दा बढी ब्रान्डका सर्भिस सेन्टर उपलब्ध छन् । सबै किसिमका सेट मेलामा हुने भएकाले ती सेटहरूका बारेमा आमनागरिकलाई सुसूचित गराउनु मेलाको मूल उद्देश्य हो ।
यो एक्स्पोको विशेषता ?
सिटिसी मोबाइल एक्स्पोमा आउने उपभोक्ताले कम्पनीहरूले प्रदान गर्ने त्यो छुट त पाउनु नै हुन्छ, त्यसका अतिरिक्त उपभोक्तालाई प्रत्यक्ष फाइदा पुग्ने गरी हामीले क्यास रिबेट भौचर सेवा उपलब्ध गराएका छौं । स्मार्टफोनका खरिदकर्ताले २ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको रिबेट भौचर पाउनुहुनेछ । जुन रिबेट भौचर बराबरको रकम अर्को पटक मोबाइल खरिद गर्दा छुटका रूपमा पाइनेछ । यस्तै डबल धमाका शीर्षकमा छठको दिनमा बम्पर उपहार सार्वजनिक हुनेछ ।
यस्तै हरेक दिन ६ जना अवलोकनकर्तालाई स्मार्ट मोबाइल उपहार प्रदान गरिनेछ । सेल्फी कन्टेस्टका विजेताले मोबाइल गिफ्ट प्राप्त गर्नुहुनेछ । लक्जरियस सिनेमा घरका फ्रि टिकट, नि:शुल्क स्पाको अवसर, हरेक दिन मेमोरी कार्ड, सेल्फीस्टिक, पावर बैंकजस्ता एसेसरिज पनि उपहारका रूपमा प्रदान गरिनेछ ।
जताततै मोबाइल एक्स्पो छन्, उपभोक्ताहरू अल्मलिँदैनन् ?
नेपाली मोबाइल बजारलाई स्थायित्व दिन, ग्रे र डुब्लिकेट मोबाइल बजारलाई निरुत्साहित तुल्याउन पनि यो मेला आयोजना गरिएको हो । यो मेलामा उपभोक्ताले सस्तो मूल्यमा भरपर्दो मोबाइल सेट पाउनेछन् । विभिन्न ब्रान्डका मोबाइल फोनका बारेमा सर्वाधिक जानकारी दिइने भएकाले उपभोक्ताले आफूले रोजेको सेट किन्न पाउनेछन् ।
नेपाली मोबाइल फोनको बजार कस्तो छ ?
स्मार्ट फोनको उपस्थितिपछि अन्य सबै इलेक्ट्रोनिक्स उत्पादनको बजार खस्किँदै गएको छ । धेरै ब्रान्डको उपस्थिति भएकाले यसमा तीव्र प्रतिस्पर्धा छ, जसले गर्दा उपभोक्तालाई बढी फाइदा छ । अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका ब्रान्ड र मोडलका सेट नेपाली बजारमा भित्रिएका छन् । धेरै ब्रान्ड र धेरै मोबाइल व्यवसायीका कारण अस्वस्थ प्रतिस्पर्धा बढेकाले धेरै व्यवसायी धराशायी पनि भएका छन् ।
एक्स्पोमा आउने ग्राहकहरूले कस्तो तयारी गरेर आउँदा राम्रो ?
आफूलाई कस्तो मोबाइल चाहिने हो योजना बनाएर आउनुपर्छ । ग्राहकले स्मार्टफोन नै किन्ने तयारी गर्नुपर्छ । कतिपय पसलमा सिल प्याक खोलिएका सेट बिक्री गरिन्छ, जसमा ब्याट्री, चार्जर आदि परिवर्तन गरिएका हुन्छन् । यस्ता सेटबाट कसरी बच्ने जानकारी हुनुपर्छ । त्यसैगरी चोरीका मोबाइल सेट पनि बजारमा उपलब्ध छन् । त्यस्ता ग्रे प्रोडक्टको पहिचान कसरी गर्ने भन्ने जानकारी पनि यो मेलामा पाइनेछ ।