दसैं सकियो, तिहार आयो । दसैंमा मासुका परिकारको माग बढेझैं तिहारमा सबैभन्दा बढी बिक्री हुने भनेकै मिठाई हो । मिठाई भनेपछि धेरैको मुख रसाउँछ । खाना खाएपछि वा शुभ अवसरमा मिठाई सेवन गर्नु शुभ मानिन्छ ।
शाकाहारीदेखि मांसाहारीसम्म, बालबालिकादेखि वृद्धवृद्धासम्मलाई मिठाईले आकर्षित गरेकै हुन्छ । विशेष गरी तिहार र त्यसपछिको छठमा मिठाई नभै हुँदैन । काठमाडौंका व्यवसायीहरूका अनुसार तिहारमा चार गुणाभन्दा बढी मिठाईको माग हुन्छ ।
वसन्तपुरस्थित काष्ठमण्डप भण्डारका सञ्चालक दुर्लबदास राजकर्णिकार दसैंयता मिठाईको उत्पादनमा व्यस्त छन् । तीन दिनपछि आधा घण्टाको समय दिएका राजकर्णिकारले भने– ‘यति बेला हामीलाई खाना खानेसम्म फुर्सद हुँदैन । उनका जिजुहजुरबुवा मानदास राजकर्णिकारले सन् १८८० मा मरुटोलको काष्ठमण्डप नजिकै मिठाई पसल खोलेका थिए । दुर्लबका अनुसार उतिबेला उनका जिजुहजुरबुवाले भारत पुगेर मिठाई बनाउने कला सिकेका थिए ।
काष्ठमण्डप भण्डारचाहिँ वि.सं.२०२७ सालमा दुर्लबका बुवा गोविन्ददास राजकर्णिकारले सञ्चालनमा ल्याएका हुन् । काष्ठमण्डपलाई दुर्लब तथा उनका दाजुभाईसहितको संयुक्त परिवारले उद्योगको रूप दिइसकेको छ । काष्ठमण्डप खाद्य उद्योगबाट उत्पादन भै प्याकिङमा उपलब्ध हुने काष्ठमण्डप ब्रान्डका स्वदेशी मिठाई लाखामरी, ऐठे आदिले अहिले राम्रो बजार पाएका छन् ।
दुर्लब भन्छन्– ‘आधुनिक बजार र विदेशी मिठाईले बिस्तारै नेपाली मिठाईको बजारमा असर गरिरहेको छ ।’ उनका अनुसार धेरै अघिसम्म लक्ष्मीपूजामा चिनीबाट बनाइने लक्ष्मी, गणेशका गुलाबी रंगका मूर्ति अहिले हराइसकेका छन् । त्यसको स्थान प्रिन्ट गरिएका तस्बिरले लिए भने लक्ष्मीपुजाकै लागि मात्र बनाइने गुलाबको फूल आकारको ‘ग्वचा’ अहिले बनाउन छाडिएको छ ।’
परम्परागत मिठाई
काठमाडौं उपत्यकाका प्रचलित मिठाई भनेको लाखामरी नै हो । त्यसबाहेक खाजामा जेरी–स्वारी, हलुवा–स्वारी, मालपुवा, सेल, अनरसा, रोट, खजुरी आदिलाई पनि परम्परागत मिठाई मानिएको छ । त्यसबाहेक पुष्टकारी, गुँदपाक, पहेँलो निम्की आदि पनि चलनचल्तीमा छन् । यस्ता मिठाईका लागि काठमाडौंका पुराना मिठाई पसलहरू जस्तो कि थापाथलीको रामभण्डार, त्रिपुरेश्वरको बाग्मती, मरुटोल (वसन्तपुर), चाबहिल, मंगलबजार तथा भक्तपुर बसपार्कका मिठाई पसलहरू चर्चित छन् । परम्परागत मिठाईमै पर्ने सेलरोटी एवं कसार विवाह, व्रतबन्ध तथा चाडपर्वमा घर–घरैजसो बनाइन्छ ।
ओझेलमा स्वदेशी मिठाई
वास्तवमा नेपाली मिठाई अहिले भारतीय ब्रान्डका मिठाईले ओगटेको ठूलो बजारका कारण ओझेलमा पर्दै गएको छ । बाम्बिनो, बिकाजी, बिकानो, हल्दिराम, गुलाब, सजनगोठ, पतञ्जली आदि भारतीय मिठाई पसल सर्वसुलभ भएकाले नेपाली मिठाईलाई त्यसको प्रत्यक्ष असर पुगेको हो । यद्यपि नेपाली उद्योगका मिठाई पनि विभिन्न सपिङ सेन्टर तथा पसलहरूमा आकर्षक प्याकिङमा सजिएर स्वदेशी उत्पादनको साख जोगाउने प्रयत्न गरेका छन् । काष्ठमण्डप खाद्य उद्योग, नेपाल डेरी, दुग्ध विकास संस्थान आदिले नेपाली मिठाईलाई प्याकेटमा उपलब्ध गराएर मिठाईका पारखीहरूको मन जितिरहेका छन् ।
भारतीय ब्रान्डेड बजार
दुई वर्षजति भयो नेपालका मिठाईका पारखीहरूका लागि भारतको चर्चित मिठाई ब्रान्ड गुलाबले मिठाई तथा अन्य परिकारको रेस्टुराँ खोलेको । काठमाडौंको सुन्धारा तथा सिटी सेन्टर मलस्थित गुलाबले भारतको उत्तर प्रदेशदेखि दक्षिण भारतसम्मका मिठाई एवं अन्य परिकारका माध्यमबाट ग्राहकहरूको मन जितिरहेको छ । भारतको प्रसिद्ध बिकानेर कम्पनीले नेपालमा पशुपति फुड्ससँगको सहकार्यमा आँगन ब्रान्डमा मिठाई उत्पादन गरी बिक्री गर्दै आएको छ ।
आँगनले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गरेको छ । आँगनमा पनि भारतका सबै खाले मिठाईका साथै केही नेपाली मिठाई पनि पाइन्छ । यसरी शाखा विस्तार गर्ने भारतीय मिठाईको ब्रान्डमा रामेश्वरम पनि हो । नेपालमा आफ्नो शाखा विस्तार गर्नेमा मनभोग, गणगौर आदि पनि छन् ।
नेपालको संगम
एक दशकअघि झापाको दमकबाट सञ्चालनमा आएको स्वदेशी मिठाई पसल संगम स्विट्सले पनि भारतीय ब्रान्डेड मिठाईकै दाँजोमा मिठाई उत्पादन तथा बिक्री गर्दै आएको छ । संगम स्विट्स विशेषगरी मिठाई, नमकिन, नेपाली, भारतीय तथा दक्षिण भारतीय खाना तथा मिठाईका लागि चर्चित छ । संगमले ६ वर्षअघि काठमाडौंको कमलादी तथा नयाँ बानेश्वरमा शाखा विस्तार गरेको छ ।
अग्रणी राम भण्डार
काठमाडौंको थापाथलीस्थित राम भण्डारको इतिहास पछ्याउँदै जाने हो भने जङ्गबहादुर राणाको समयसम्म पुग्न सकिन्छ । जंगबहादुरको शासनभन्दाअघि नै राजकर्णिकारहरू दरबारका लागि मिठाई बनाउने काम गर्थे । झन्डै डेढ सय वर्षअघि दिवाकरराज राजकर्णिकारका जिजुबाजे वृषराज राजकर्णिकारले परिवार बढी भएका कारण जङ्गबहादुरबाट थापाथली चोकमा पसल राख्न अनुमति पाएपछि भने यो परिवारको व्यवसाय सर्वसाधारणप्रति पनि लक्षित भयो । थापाथलीको पुल छेउमा सुरु गरिएको मिठाई पसल राम भण्डारमा दिवाकरका तीन छोरा अग्निराज, गणेशराज र कृतिराजले साथ दिए । वि.सं.२०२४ सालमा बाटो विस्तार गर्दा राम भण्डार पुल छेउबाट हटाउनुपर्ने भयो ।
राजकर्णिकारहरूले थापाथलीस्थित सिंहशमशेरको तबेला त्यतिबेला २४ हजार रुपैयाँमा किने, त्यो पनि किस्तामा रकम तिर्ने गरी । वि.सं. २०२७ सालतिर अग्निराजका जेठा छोरा पुष्पराजले सर्लाहीको परवानीपुरमा अमेरिकी संस्था पिस कोर तालिम केन्द्रमा क्याटरिङ चलाएका थिए । त्यसबाट आएको आम्दानीले उनीहरूले वि.सं.२०२९ सालमा तबेला भएको स्थानमा घर बनाएर त्यसमा राम भण्डार चलाए । क्याटरिङ चलाउँदा पुष्पराजले रेसेपीसम्बन्धी पुस्तक हेरेर विभिन्न परिकार बनाउन सिकेका थिए ।
पछि ती परिकार पनि राम भण्डारमा उपलब्ध हुन थाले । अग्निराजका पाँच छोरा पुष्पराज, हेमराज, मोहनराज, लक्ष्मीराज र पन्नाराज थिए । त्यतिबेला छोरा मात्र होइन, बुहारीहरू पनि पसलमा काम गर्थे । आमा र काकीहरू चिया तथा मिठाई बनाउँथे । त्यतिबेला एक कप चियाको १० पैसा पथ्र्यो । उतिबेला मानिसहरू टाढा– टाढाबाट राम भण्डारको रसमाधुरी खान थापाथली धाउँथे । पछि दाजुभाइमा अंशबण्डा हुँदा थापाथलीमै रामभण्डारका साथमा राज भण्डार र श्रीराम भण्डार पनि सञ्चालनमा आए । काठमाडौंवासीलाई झन्डै डेढ सय वर्षदेखि गुलियो मिठाईमा भुलाउने राम भण्डार अहिले पनि सञ्चालनमा छ ।
केक, आइसक्रिम र चकलेट
मिठाईको ठाउँ अहिले केक, आइसक्रिम तथा चकलेटले पनि स्थान लिन थालेका छन् । तीनकुनेस्थित सिद्धार्थ स्विट्स एन्ड बेकरीका किस्मत पाण्डे भन्छन्– ‘बाबु–आमाको मुख हेर्न पनि अचेल केकको अर्डर आउने गरेको छ । तिहारको भाइटीकामा पनि केक अर्डर गर्नेहरू बढेका छन् ।’ आधुनिकतासँगै भित्रिएको केक, आइसक्रिम तथा चकलेटले मिठाईको स्थान लिन थालेका छन् । विभिन्न सपिङ सेन्टरमा स्पेसल प्याकेजिङमा उपलब्ध चकलेट, स्वदेशका विभिन्न बेकरीमा उत्पादित स्वादिला केक, पेस्ट्री तथा विभिन्न फ्लेवरका आइसक्रिमले भाइटीकामा भाइहरू खुसी पार्ने चलन बढ्दो छ, तैपनि तिहारमा मिठाईको चलन भने घटेको छैन । अहिले मधुमेहका रोगीहरूका लागि ‘सुगर फ्री’ तथा चिल्लो नरुचाउने वा खान नहुनेहरूका लागि विशेष अर्डरमा चिल्लो कम भएका मिठाई पनि उपलब्ध हुन थालेका छन् ।
यस्तो मिठाई नखाऔं
चाडबाडका बेलामा केही व्यवसायीले बासी, सडेगलेका पदार्थ प्रयोग गरिएका, विभिन्न अखाद्य सामग्री प्रयोग गरिएका, नक्कली तेल–घिउमा बनाइएका गुणस्तरहीन मिठाई पनि बिक्री गर्छन् । यस्तोमा आफूले विश्वास गरेको ठाउँबाट मात्र मिठाई खरिद गर्नुपर्छ । त्यसबाहेक यस्ता मिठाई नखाऔं, नख्वाऔं :
– नक्कली घिउ–तेलमा तारेर अखाद्य रङ प्रयोग गरिएको ।
– चाँदीको वर्क (मिठाईको माथिल्लो तहमा लगाइएको सेतो टल्कने जलप) हालिएका रंगीचंगी मिठाई ।
– खुला स्थानमा झिंगा भन्किएका मिठाई ।
सेलको इतिहास
नेपाली जातिको परिचयसँग गाँसिएको सेलको इतिहास पनि त्यति नै रोचक छ । कतिपय हिन्दू पौराणिक ग्रन्थहरूमा समेत सेलको उल्लेख पाइन्छ । भाषाशास्त्री तथा ऐतिहासिक अन्वेषकहरूका अनुसार परम्परागत रूपमा बनाइने सेल सालसँग जोडिएको छ । परम्परागत रूपमा सेल बनाउँदा सालको बीउलाई सुकाएर त्यसबाट तेल निकालिन्थ्यो । तेल निकालिएको सालको बीउको पिनालाई चामलमा मिसाएर खल वा ढिकीमा कुटिन्थ्यो ।
यसरी कुटिएको पीठोमा मह मिसाएर लेदो बनाइन्थ्यो । यस्तो लेदोलाई फेरि सालकै तेलमा पकाइन्थ्यो । यस्तो परिकार त्यतिबेलाको समाजमा खासगरी वसन्तोत्सव मनाउने क्रममा सामूहिक रूपमा खाइन्थ्यो । कालान्तरमा अनेक थरीका चाडपर्वको विकास भएपछि हिमालयको फेदमा बसोबास गर्ने विभिन्न जातजातिका समुदायहरूमा सेल अनिवार्य मानिन थालियो ।