साप्ताहिक संवाददाता
केही दिनअघि सम्पन्न क्यान कमटेकको एउटा प्रमुख आकर्षण थियो— आइपी टिभी । वल्र्डलिंक, भायनेट तथा ब्रोडलिंकजस्ता इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) हरू आइपी टिभी उपलब्ध गराउने घोषणाका साथ प्रदर्शनीमा सहभागी थिए । यससँगै नेपाली बजारमा अर्को एउटा प्रविधिका रूपमा आइपी टिभीको उदय भएको छ ।
खासमा वल्र्डलिंक र भायनेटले नेटटिभी नेपालसँगको सहकार्यमा आइपी टिभी ल्याएका हुन् । नेटटिभी नेपालले आवश्यक कन्टेन्ट उपलब्ध गराउने र यी आइएसपीहरूले फाइबरको माध्यमबाट टिभी उपलब्ध गराउनेछन् । भविष्यमा अन्य कम्पनीहरूले पनि आफ्नो कन्टेन्ट प्रयोग गरेर यस प्रकारको टिभी प्रसारण गर्न सक्ने नेटटिभी नेपालका जनरल म्यानेजर कृष्ण अधिकारीले बताए । त्यस्तै वेबसर्फरले पनि विभिन्न केवल टिभीसँगको सहकार्यमा टिभीनेटलाई ब्रान्डिङ गरिरहेको छ । इओसी प्रविधिमार्फत यो सेवा प्रदान गरिनेछ । सुविसुले पनि आइपी टिभी भित्र्याउने तयारी गरिरहेको छ ।
नेपाल टेलिकमले पनि भविष्यमा आइपी टिभी सञ्चालन गर्ने तयारी गरेको बताएको छ । कम्पनीले हाल चलिरहेको ल्यान्डलाइन टेलिफोनलाई अर्को पुस्ताको अर्थात् नेक्स्ट जेनेरेसन नेटवर्क (एनजिएन) प्रविधिमा प्रतिस्थापन गर्ने तयारी गरिरहेको छ । यसैमार्फत आइपी टिभीसमेत चलाउने कम्पनीको योजना छ । नेपाल टेलिकमले हाल टेलिफोनको तारबाटै एडिएसएलमार्फत इन्टरनेट वितरण गरिरहेको छ । टेलिकमले आइपी टिभी थप गरेर लाइभ र रेकर्डेड टेलिभिजन कार्यक्रमसमेत ग्राहककहाँ पुर्याउने योजना बनाएको हो । नेपाल टेलिकमले आइपी टिभी सुरु गरेपछि तारवाला टेलिफोनका ग्राहकले केबुल टिभीका लागि छुट्टै लाइन लिनुपर्नेछैन । टेलिकमले यो सेवा सुरु गरेपछि एउटै तारबाट कुराकानी गर्ने तथा टेलिफोन, इन्टरनेट र केबुल टिभीसमेत प्रयोग गर्न सकिनेछ ।
आइपी टिभी सञ्चालनका लागि उपभोक्ताले सेटटप बक्स जडान गर्नुपर्ने हुन्छ । यसका लागि २ एमबिपिएसभन्दा बढी स्पिडमा चल्ने इन्टरनेट हुनु आवश्यक छ । आइपी टिभीमा मुख्य तीन विशेषता हुन्छन् । पहिलो विशेषता हो– लाइभ टिभी । यसमा उपभोक्ताले टिभी प्रत्यक्ष प्रसारण भैरहेको समयमै हेर्न सक्छन् । अर्काे हो रेकर्ड वा क्लाउड सिस्टम ।
यसमा राखेर पछि पुन: प्रसारण गरे जस्तो पहिले आफूले हेर्न नपाएका कार्यक्रम पनि फेरि हेर्न सकिन्छ । तेस्रोचाहिं भिडियो अन डिमान्ड हो । यसमा सेवाप्रदायकले भिडियोलाई क्लाउड डाटाबेसमा राख्छन् र उपभोक्ताले उक्त अप्सन प्रयोग गरेर आफूलाई आवश्यक परेको समयमा हेर्न सक्छन् ।
इन्टरनेट टेलिभिजन वा इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) टेलिभिजन प्रसारणको एउटा नयाँ प्रविधि हो । यो प्रविधिबाट अहिले टेलिभिजनका च्यानललाई इन्टरनेटको माध्यमबाट आफ्नो कम्प्युटर अथवा इन्टरनेट चल्ने टेलिभिजनमा हेर्न सकिन्छ । यद्यपि यसका लागि तीव्र गतिको इन्टरनेट आवश्यक हुन्छ र इन्टरनेटमा जोडेर यस्तो टेलिभिजन हेर्न सकिन्छ ।
प्रत्यक्ष टेलिभिजन, पुराना कार्यक्रमहरूका साथै चाहिएको भिडियो वा चलचित्र खोजेर हेर्न सकिने भएकाले यो सेवा सामान्य टेलिभिजन प्रसारणभन्दा फरक छ, त्यसैले आइपी टिभीलाई सामान्यतया इन्टरनेटमा आधारित मल्टिमिडिया सेवा पनि भन्न सकिन्छ । इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले इन्टरनेटको माध्यमबाट प्रसारण हुने टेलिभिजनलाई आइपी टिभी भनेको छ । सन् २००५ मा एलाइन्स फर टेलिकम्युनिकेसन इन्डस्ट्री सोलुसन्सले आइपी टिभीको आधिकारिक परिभाषा गरेको थियो ।
सन् १९९४ मा अमेरिकी ब्रोडकास्टिङ कम्पनीले आफ्नो विश्व समाचार सेवालाई पहिलो पटक इन्टरनेटमार्फत प्रसारण गरेको थियो । सियु–सिमी भिडियो कन्फेरेन्स सफ्टवेयरका माध्यमबाट यस्तो सेवा प्रारम्भ गरिएको थियो । त्यसपछि यसलाई विकास गर्दै संसारभरि आइपी टिभीको चलन सुरु भयो । अहिले भने एमपिइजी फोर प्रविधिमा यस्तो टिभी सञ्चालन गरिन्छ ।
इन्टरनेटका अरू स्रोतबाट जस्तै आइपी टिभीमा प्रसारण भैसकेको टिभी कार्यक्रमलाई रेकर्ड गरेर पनि हेर्न मिल्छ । सीमित च्यानलको मात्र सेवा पनि लिन सकिन्छ । आफूलाई मन पर्ने कार्यक्रम रेकर्डका लागि स्वचालित रूपमा मिलाएर राख्ने र पछि हेर्न सकिने भएकाले यो प्रविधि अहिले लोकप्रिय हुन थालेको छ ।