
आजकाल म र मेरा श्रीमान्बीच यौनसम्पर्कको समयमा धेरै झगडा हुन्छ । कारण, मलाई यौनसम्र्पकको समयमा पीडा अनुभव हुन्छ । मलाई यौनरोग भएकाले अत्यन्तै पीडा महसुस भएको हो । पटक–पटक उपचार गराउँदा पनि रोग बल्झिरहन्छ । उहाँ भने यसैलाई आधार बनाएर परपुरुषसँग सम्बन्ध छ कि भन्ने शंका गर्नुहुन्छ । उहाँको विचारमा यौनरोग धेरै पुरुषसँगको सम्र्पकले हुन्छ । उपचारपछि पनि किन यौनरोग बल्झिएको हो ? के यौन रोग भएकाहरूले यौनको चरम आनन्द लिन सक्दैनन् ? यसको केही समाधान छ कि ?
मिस
यौनरोगहरू धेरैजसो पुरुषबाट महिलामा संक्रमित भए पनि महिलाहरू नै यस्ता रोगबाट बढी प्रताडित हुने गरेका छन् । यौनरोगका लक्षण पुरुषमा भन्दा महिलामा चाँडो देखिने भएकाले कोबाट यो पहिले संक्रमित भएको हो भन्नेमा पुरुष र महिलाबीच विवाद हुने गरेको छ । यस्ता घटनामा पुरुषले महिलामाथि दोषारोपण गर्ने गरेको पाइन्छ, जुन सही कुरा होइन । फेरि यौनरोगको उपचार गर्न पनि पुरुषहरू पन्छिने गरेका छन् । यो पुरुषबाट महिलामा संक्रमित भएको तर महिलामा छिटो देखिएको हुन सक्छ । सँगसँगै पुरुषमा पनि संक्रमण भैसकेको हुन्छ तर थाहा नभएको हुन सक्छ । यस्तो अवस्थामा दुवै यौनसाथीले यौनरोगको उपचार गराउनुपर्ने हुन्छ । एक जनाको मात्र उपचारले यौनरोग कहिल्यै निको हुँदैन । यो एकबाट अर्कोमा सरिरहन्छ ।
यौनसम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू घातक रोगको सिकार भएका हुन्छन् । यौन चेतनाको कमी र कहिलेकाहीं असावधानीवश धेरै मानिस यौनजन्य रोगको सिकार भएका घटना हामी प्रतिदिन सुनिरहेका हुन्छौं । यौनरोगहरू पहिले साधारणजस्तो लागे पनि पछि तिनले विकराल रूप लिएर मानिसको ज्यान नै लिएको तथ्यहरूले देखाएका छन् । यसका भावनात्मक तथा मनोवैज्ञानिक असरहरू पनि छन् ।
जहाँसम्म यौनरोग भएको मानिसले यौन आनन्द लिने कुरा छ, शारीरिक तथा मनोवैज्ञानिक हिसाबले उनीहरूले यौनआनन्द लिन सक्दैनन् । जुनसुकै किसिमका यौनरोगले मानिसहरूलाई पीडा दिन्छ । यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिलचिलाउने भएकाले मानसिक तथा भावनात्मक रूपले हैरानीको अवस्थामा पुगिन्छ । पीडाको यस्तो अवस्थामा हुने यौन सम्पर्कले कसरी आनन्द दिन सक्छ ? अर्को कुरा, आफूलाई यौनरोग छ भन्ने थाहा भैसकेपछि यौनसम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हीनताबोध र ग्लानि महसुस भैरहेको हुन्छ । त्यसैले यो भावनात्मक तथा मनोवैज्ञानिक समस्या पनि हो । मानिसलाई यस्तो रोगले मूलत: दुई किसिमबाट असर गर्छ ।
यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन ढलाइदिने खतरा एकातिर हुन्छ भने अर्कातिर लामो समय उपचार नगरिँदा मनमा आउने नकारात्मक सोचले तत्कालको मनस्थिति बिगारिदिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्याको रूपसमेत धारण गर्न पुग्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै गरिखान नसक्ने अवस्थामा पुग्छ । समयमा यौनरोगको उपचार गरिहाल्नुपर्छ भन्नुको कारण पनि यही हो । तपाईंको सन्दर्भमा बारम्बार उपचारपछि पनि रोग ठीक नभएको हो भने तपाईंहरू दुवै जनाले चिकित्सकको सल्लाह लिएर छिटो उपचार गराउनुपर्छ, अन्यथा एक–अर्काप्रतिको दोषारोपणले तपाईंहरूबीच थप तनाव सिर्जना हुन्छ र सम्बन्ध अझ जटिल बन्न पुग्छ ।