सामाजिक सञ्जाल, छापा तथा टेलिभिजनमा तरकारीवाली अर्थात् कुसुम श्रेष्ठको चर्चा बिस्तारै कम हुँदैछ । आफूलाई विद्यार्थीकै रूपमा सीमित राख्ने बताउँदै उनी चितवनको एउटा कलेजको दैनिक जीवनमा फर्किसकेकी छिन् । यता युट्युबमा भने उनको चर्चा घट्नुका साटो दिन–प्रतिदिन बढिरहेको छ । उनको चर्चा सेलाउनुको साटो उल्टो तातिरहेको छ ।
अहिले कुसुमलाई आधार बनाउँदै थुप्रै गीत तथा म्युजिक भिडियो निर्माण गरेर युट्युबमा अपलोड गर्ने क्रम बढेको छ । तरकारीवालीका कतिपय भिडियो त लाखौं पटक हेरिएका छन् । समसामयिक विषयमा गीत बनाउन सिपालु गायक रोशन सिंहले गाएको तरकारीवाली मेरी तरकारीवाली...गीत युट्युबमा बढी मन पराइएको छ । युट्युबमा उक्त गीतको अडियो भर्सन नै ४ लाखभन्दा बढी पटक हेरिसकिएको छ । धेरै वटा अनलाइन मिडियाले उक्त गीतलाई लिएर समाचार नै बनाएका छन् ।
उक्त गीतमा रोशनलाई गायिका भीमा लामिछाने मगरले साथ दिएकी छिन् । यो गीतको भिडियो निर्माणाधीन अवस्थामा छ । नवराज विश्व महरको शब्दको यो गीतको भिडियोका लागि कुसुमलाई नै प्रस्ताव गर्ने योजना गायक सिंहको छ । ‘यो गीतमा कुसुमलाई नै अभिनय गराउने प्रतिबद्धता हो,’ गायक सिंह भन्छन्— ‘अन्तिम समयसम्म प्रयास गर्नेछौं, उनले मानिनन् भने अरू कुनै व्यवसायिक मोडल राख्नुपर्ला ।’
तरकारीवालीका बारेमा युट्युबमा पप, आधुनिक, दोहोरी, प्यारोडी सबै किसिमका गीत उपलब्ध छन् । पप गायक विकास श्रेष्ठले गाएको ३ मिनेट ४१ सेकेन्डको पप गीत ‘तरकारीवाली...’ लाई युट्यबुमा २१ हजारभन्दा बढी पटक हेरिएको छ । उक्त गीतमा गायक विकासकै शब्द तथा संगीत छ । तरकारीवालीको चर्चा, आलोचना तथा उनका अन्तर्वार्ताहरू हेरेपछि आफूले उक्त गीत तयार पारेको विकासले बताएका छन् ।
पुष्पा बोहराको स्वरमा रेकर्ड भएको ‘तरकारीवाली’ गीतलाई म्युजिक नेपालको युट्युब च्यानलमा ४ लाख ५२ हजार २ सय २५ जनाले हेरिसकेका छन् । उमंग म्युजिकको प्रस्तुति रहेको उक्त गीतमा तरकारीवालीको रूपरंग तथा कामको बयान गर्दै भिडियो तयार पारिएको छ । नारायणप्रसाद न्यौपानेको शब्द तथा संगीतमा तयार भएको उक्त भिडियोमा मीना पाण्डे तथा ऋषि पाण्डेले अभिनय गरेका छन् । केशव आचार्यले तरकारीवालीसम्बन्धी आफ्नै शब्द एवं संगीतमा लोक गीत तयार पारेका छन् ।
महेशविक्रम पाण्डेले धमाका डान्सिङ सङ शीर्षकमा तरकारीवालीसम्बन्धी गीत तयार पारेका छन् । मिलन तामाङ दोङले गितार बजाउँदै अपलोड गरेको उक्त कमेडी गीत केही घण्टामै १ हजार १ सय ११ जनाले हेर्न भ्याए । उक्त गीत मात्र होइन, त्यसको ट्ेरलर पनि उत्तिकै रुचाइएको छ । तरकारीवालीको नाम जोडेर कैयौं कमेडी, सर्ट मुभी, टेलिभिजन शोहरू पनि बनेका छन् ।
केही समययता स्वदेशी तथा विदेशी मिडियामा राम्रै स्थान पाएकी गोरखाकी कुसुम श्रेष्ठका तस्बिर सामाजिक सञ्जालमा भाइरल भए । तरकारी बोकेका तस्बिरका कारण कुसुमको परिचय नै फेरियो । तरकारीवालीका रूपमा परिचित कुसुमसमक्ष चलचित्र अभिनय गर्नेदेखि मोडलिङ गर्ने प्रस्तावसम्म आए ।
त्यस्तै गायक अमर श्रेष्ठको शब्द तथा संगीतको तरकारीवाली गीत पनि अहिलेसम्म ३ लाख ६३ हजार ९ सय ६२ जनाले हेरिसकेका छन् । अंग्रेजी तथा नेपाली शब्दहरू मिसाएर तयार पारिएको उक्त गीतमा पनि साप्ताहिकमा प्रकाशित तस्बिरलाई मिसाएर भिडियो तयार पारिएको छ ।
Twitter : @NRaule