साप्ताहिक संवाददाता
आउँदो पुष १४ देखी १८ गतेसम्म ‘नम्डा मोबाइल एक्स्पो २०१६’ आयोजना हुँने भएको छ । नेपाल मोबाइल बितरक संघले आयोजना गर्न लागेको यस नम्डा मोबाइल एक्स्पोमा सबै मोबाइल फोनका उत्पादक, आयातकर्ता, बितरक, खुद्रा विक्रेता सेवा प्रदायक आदिलाई एउटै छातामुनि ल्याउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।
भृकुटिमण्डपमा आयोजना हुन लागेको यस एक्सपोमा नेपाल तथा विदेशका सेवा प्रदायक तथा उत्पादन कम्पनीहरूले अत्याधुनिक उत्पादन तथा प्रविधिको परिचय गराउने एक्स्पो आयोजक संघका महासचिब रघु त्रिपाठीले बताए । मोबाइल फोन कम्पनीका नयाँ उत्पादनको बजार परिचय, कम्पनीद्वारा सेवा प्रदायक तथा ग्राहकबिच अन्र्तक्रिया, ग्राहकलाई विविध प्रकारको फोनको छनौटमा व्यापक अवसर आदि पक्ष प्रदर्शनीको मुख्य आकर्षण हुने बताए । साथै एक्स्पोमा मूल्य समायोजन तथा व्यापार प्रवद्र्धन तथा आगन्तुकहरुका लागि आकर्षक उपहारहरु प्रदान गरिने छ ।
उक्त प्रदर्शनीमा दुई लाख भन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने आयोजक संस्थाको अपेक्षा छ । नयाँ प्रविधि, रमाइला गेम, उपयोगी एप्लिकेशन सहितका मोबाइल फोनका पारखीहरूका लागी यो एक्सपो आकर्षक गन्तब्य बन्ने छ । प्रदर्शनीमा १ सय ३० स्टलहरू रहनेछन् जसमध्ये १७ वटा मुख्य हलभित्र हुनेछन् । मोबाइल आयात कर्ताहरुले आ–आफ्ना ब्रान्डको परिचय गराउनुका साथै अन्य रिटेल स्टलहरू पनि मुख्य हलको बाहिर रहेर आकर्षक सेवा प्रदान गरिने एक्स्पो मुलसमारोह समितिका संयोजक दिनेश चुल्याध्योले बताए ।
यस एक्स्पो अवधिभर मोबाइल आयातकर्ताले बिभिन्न प्रोमोसनका गतिविधीहरु आयोजना गर्ने छन् । मोबाइल बितरकहरुले ग्राहकहरुका लागि छुट्टै सुचना कक्ष राखी उपयोगी एप्लिकेशनहरुको जानकारी गराइनेछ । यसका साथै प्रचारप्रसार र रिटेलरका लागि सेवा प्रदान गर्ने छ । त्यस्तै रिटेलर ब्यवसायीका स्टरहरुबाट मात्र मोबाइल बिक्रि बितरण गरिनेछ । नेपाल मोबाइल बितरक संघ मार्फत नेपालको इतिहासमै पहिलो पटक मोबाइल उत्पादक कम्पनी, मोबाइल आयातकर्ता, मोबाइल बितरक तथा रिटेलरहरुलाई एकै छातामुनी ल्याएर मोबाइल एक्स्पो गर्न लागिएको हो ।
आजको बिज्ञान प्रबिधीको युगमा मोबाइल फोन सबैको पहुँचमा पुर्याउँन यस्ता एक्स्पोहरुले महत्वपूर्ण भुमिका खेल्ने बताउछन्, पशुपति ट्रेडलिंकका नेश्नल सेल्सका म्यानेजर भुपाल क्षेत्री । ‘इम्पोर्टरहरुको तर्फबाट उक्त एक्स्पोलाई सफल पार्न हामी अधिकतम कोशिष गर्नेछौं ।’ इम्पोर्टर कम्पनीका तर्फबाट क्षेत्रीले भने , ‘मोबाइल एक्स्पोका नाममा बिगतमा केहि ब्यक्ति बिशेषले सिमित क्षेत्रका केही मोबाइल ब्यवसायीलाई मात्र सिन्डिकेट गरेर आयोजना गरे । हामी त्यो परम्परा भत्काउदैछौं ।’
यसपटक काठमाण्डौ, भक्तपुर तथा ललितपुर क्षेत्रका खुद्रा मोबाइल ब्यवसायीलाई समेटेर मोबाइल एक्स्पो आयोजना हुने भएकाले यस एक्स्पोले सबै मोबाइल ब्यवसायीलाई हित गर्ने आयोजकको दावी छ । इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्रालिलाई प्रदर्शनी कार्यक्रमको आधिकारिक ब्यवस्थापनको जिम्मेवारी दिईएको उक्त एक्स्पोले आफूमा उत्साह थपिएको बताउछन् नेपाल मोबाइल वितरक संघका अध्यक्ष माधब रिजाल ।
‘यसलाई सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा छ ।’ रिजालले भने । आगन्तुकहरुका लागी प्रबेश शुल्क ५० रुपैंयाँ तोकिएको छ । विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिईनेछ । प्रदर्शनी मेलामा बिभिन्न गेम स्टलहरु, खानेकुराका परिकारहरु लगायत वाईफाई तथा सेल्फिको मजा लिन सक्नेछन् ।