साप्ताहिक संवाददाता
नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबका रूपमा चिनिने पाको, न्युरोडलगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका विभिन्न मोबाइल संघले आपसमा एकीकरण गरेर नेपाल मोबाइल व्यवसायी संघ गठन गरेका छन् । नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरूको सबैभन्दा ठूलो र पुरानो संस्था भएको दाबी गरिएको छ । संघमा हाल ५ सयभन्दा बढी रिटेलरको आबद्धता छ ।
संघका संयोजक पुरुषोत्तम बस्नेतले नेपालभरका मोबाइल आयातकर्ता, वितरक तथा रिटेलरहरूलाई संघमा समेटेर भविष्यमा महासंघ गठन गर्ने र संघले मोबाइल व्यवसायको वृद्धि एवं प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । यसै क्रममा संघले अन्तर्राष्ट्रिय स्तरको मोबाइल महोत्सव गर्ने भएको हो । नयाँ वर्ष २०१७ को अवसर पारेर पाको, न्युरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा आदि क्षेत्रमा उक्त मोबाइल महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सव पुस १३ गतेदेखि १९ गतेसम्म चल्नेछ, जसमा ग्राहकहरूले समान मूल्यमा सिल प्याक गरिएका गुणस्तरीय उत्पादन प्राप्त गर्ने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दीप मानन्धरले बताए ।
यो महोत्सव नेपालमा आयोजित अहिलेसम्मकै सबैभन्दा ठूलो मोबाइल महोत्सव हुने दाबी गरिएको छ । महोत्सव अवधिभर मोबाइल बजारका विभिन्न स्थानमा फुड जोन, किड्स जोन, गेमिङ जोनजस्ता आकर्षणसहित हरेक मोबाइलको खरिदमा विशेष छुट प्रदान गरिने संघको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
लेजी स्ट्यान्डहरू
पछिल्ला दिनमा मानिसहरूको चिन्ता कार्यालय वा घरमा रहँदा मोबाइल सेट कहाँ राख्दा सुरक्षित र सहज हुन्छ भन्ने कुरामा छ । यस्तो समयमा स्मार्टफोनलाई सुरक्षित राख्ने र बसेको स्थानबाटै प्रयोग गर्न सकिने गरी लेजी स्ट्यान्ड उपलब्ध छन् । विभिन्न डिजाइन एवं साइजमा खरिद गर्न सकिने यी लेजी स्ट्यान्डको मूल्य न्यूनतम १ सय रुपैयाँबाट सुरु हुन्छ ।
सेलफोन रिङ
हातमा सेलफोन चलाउने क्रममा त्यो चिप्लिएर भुइँमा झर्न सक्ने खतरा पनि हुन्छ । यस्तो बेला सेलफोनलाई हातबाट झर्न जोगाउने रिङसमेत बजारमा उपलब्ध छ, जसको मूल्य ५० रुपैयाँबाट सुरु हुन्छ । यस्तो रिङलाई मोबाइल फोनको पछाडि टाँसेर त्यसमा औंला घुसाई सुरक्षित बनाइन्छ ।