साप्ताहिक संवाददाता
यही पुष १५ गते चीनको चोङ्गक्विङ्गमा आयोजना हुन लागेको ‘फेसन एसिया एवार्ड–२०१६’ मा आईईसी कलेज अफ आर्ट एण्ड फेसन छनौट भएको छ । फेसन क्षेत्रमा ओस्कार अवार्ड बराबर मानिने यस अवार्डका लागी एसियाका उत्कृष्ट ५ संस्थाहरु छनौटमा परेका हुन् ।
एसियाको पहिलो स्थापित एवं प्रतिष्ठित फेसन उद्योगका रूपमा परिचित एसिया फेसन वल्र्डको नजरमा नेपालको आईईसी कलेज एसियाको टप फाइभ फेसन कलेजको सूचीमा परेको हो ।
यसैगरी एसियाको पाँच उत्कृष्ट फेसन स्टाइलिस्टमा खुस्बु गौचन लामा छानिएकी छिन् । उनी आईईसी कलेजकै उत्पादन हुन् । फेसन स्टाइलिस्टको पुरुषतर्फ म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१२ का उपाधि विजेता सनिस शाक्यसमेत छनौटमा परेका छन् । उनी एसियाका पाँच उत्कृष्ट मोडलको सूचीमा समेत परेका छन् । ‘नेपाली फेसनको स्तर उकालो लाग्नु खुसीको कुरा हो ।’ आईईसी कलेजकी संस्थापक शैलजा अधिकारीले बताईन्, ‘एसिया एवार्डका लागि सूचीमा पर्नु झन् गौरवको कुरा हो ।’ यस एवार्डको छनौटले आफूलाई प्रेरणा मिलेको र विश्व फेसन बजारसँग प्रतिस्पर्धा गर्न आट थपिएको उनले उनी बताउँछिन् ।
फेसन एसिया एवार्डको सूचीमा नेपालसँगै चीन, जापान, इन्डोनेसिया, मलेसिया, हङकङ, थाइल्यान्ड, भियतनाम, कोरिया, भारत, श्रीलंका तथा काजाकिस्तान परेका छन् । जसमा नेपाल विभिन्न तीन विधामा छनोट भएको छ । यस अवार्डमा बिभिन्न टेलिभिजनका निर्देशक, फेसन म्यागेजिनका सम्पादकहरु, फेसन उद्योगका प्रमुख तथा सेलिब्रिटीहरु गरेर जम्मा १ सय १६० जना निर्णायकहरु रहेका छन् ।