साप्ताहिक संवाददाता
नारायणगढको पुल्चोकमा मंगलबार दर्शकको ठूलै भीड लागेको थियो । रेडियो कान्तिपुरले सञ्चालन गरेको ‘रेडियो अन विल्स’ अन्तर्गत कलाकारहरूको समूह वीरगञ्ज हुँदै नारायणगढ पुगेको थियो ।
मिनी ट्रकमा बनाइएको स्टेजमा गायिका श्रेया सोताङ र गायक धमेन्द्र सेवान उपस्थित थिए । कार्यक्रम प्रस्तोता महेश लिम्बू र स्मिता रानाले सुरुमा दर्शकलाई बास्केटबल, फुटबल तथा रेडियोसम्बन्धी प्रश्न सोध्दै विजेतालाई उपहार प्रदान गरे । दर्शकको भीड बढ्दै गएपछि माया–प्रेमका गीत लिएर श्रेया देखा परिन् । उनले भ्यालेन्टाइन डेलाई मध्यनजर गर्दै माया–प्रेमसम्बन्धी गीत मात्र गाइन् । त्यसपछि स्टेजमा देखा परेका गायक धमेन्द्र सेवानले दर्शकको चाहनाअनुसारकै गीतहरू सुनाए ।
मेचीदेखी महाकालीसम्मको यो यात्राअन्तर्गत बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर तथा वीरगञ्ज हुँदै कलाकारहरू नारायणगढ आइपुगेका हुन्, जसमा गायिका मिलन अमात्यले पनि साथ दिएकी थिइन् । उक्त रोड शो बुधबार बुटवलमा प्रस्तुत हुँदै आज शुक्रबार धनगढीमा सञ्चालन हुँदैछ । रेडियो कान्तिपुरका मार्केटिङ प्रमुख गौरीशंकर दाहालका अनुसार यो शो फागुन १ मा नेपालगञ्ज एवं फागुन ३ गते पोखरामा सञ्चालन हुनेछ ।