सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा मंगलबार छुट्टै सांगीतिक वातावरण छायो । कारागार परिसरभित्र चर्चित गायक/गायिका तथा हास्यकलाकारहरूको उपस्थितिमा सम्पन्न सांस्कृतिक कार्यक्रममा कैदीबन्दीहरूले भरपुर मनोरञ्जन प्राप्त गरे । वर्षमा दुई पटक कैदीबन्दीहरूले आफैंले रकम संकलन गरेर यस्तो कार्यक्रम आयोजित गर्दै आएका छन् ।
उक्त कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलदेखि गायक डम्बर नेपाली, सुमित खड्का, गायिका मिलन आमात्य, मीना निरौला, मौसमी गुरुङ, जुनु प्रसाई तथा सिर्जना तामाङ उपस्थित थिए । स्थानीय कलाकारको प्रस्तुति पछि मञ्चमा पुगेकी गायिका मिलनले लगातार आठवटा गीत प्रस्तुत गरिन् ।
गायिका मीना निरौलाले अहिले सबैको मुखमा झुन्डिएको ठमेल बजार ... गीत गाउँदा कैदीबन्दीहरू छमछमी नाचे । कैदीबन्दीले बारम्बार वान्समोर भनेपछि उनले बाध्य भएर थप दुईवटा गीत प्रस्तुत गरिन् भने गायिका मौसमी गुरुङले च्याङ्बा होइ च्याङ्बा गीत गाएर कार्यक्रमलाई मनोरञ्जक बनाइन् ।
हास्यकलाकार मनोज गजुरेलले सहभागी सबैलाई पेट मिचीमिची हाँस्न बाध्य बनाए । उनले शीर्ष राजनैतिक दलका नेताहरूको क्यारिकेचर गर्नुका साथै स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीका चुनावी एजेन्डाका सम्बन्धमा चोटिलो प्रहार गरे ।