साप्ताहिक संवाददाता
नोकिया फोन आफ्ना स्मार्टफोनहरू लिएर विश्वव्यापी रूपमा पुन: बजारमा आएको छ । नोकियाले नेपालमा यसको बिक्री प्रवद्र्धनका लागि पारामाउन्ट इलेक्ट्रोनिक्सलाई अनुबन्धित गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारमा नोकिया–३, नोकिया–५ तथा नोकिया–६ स्मार्ट फोनका साथै पुरानो लोकप्रिय नोकिया–३३१० पनि उपलब्ध गराउनेछ । यी मोडलका स्मार्टफोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ । नोकियाका यी नयाँ फोनमा विश्वव्यापी रूपमा रुचाइएको एन्ड्रोइड न्युगट अपरेटिङ सिस्टम प्रयोग गरिएको छ, जसका कारण प्रयोगकर्ताले गुगलले जारी गरेलगत्तै तत्काल अपडेटहरूको लाभ प्राप्त गर्नेछन् ।
नेपाली बजारमा नोकिया–३ को बजार मूल्य १५ हजार ६ सय ५० रुपैयाँ, नोकिया–५ को मूल्य २१ हजार ३ सय ५० रुपैयाँ तथा नोकिया–६ को मूल्य २५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । यसका साथै नोकियाले नेपालमा आधिकारिक नोकिया केयर सेन्टरसमेत विस्तार गरेको छ ।
नोकिया–३ मोबाइल ५ दशमलव ० इन्च एचडी डिस्प्लेयुक्त छ । यसमा क्वाडकोर १ दशमलव ३ गिगाहर्ज, २ जीबी र्याम, १६ जीवी इन्टरनल स्टोरेज उपलब्ध हुनेछ । यो सेटमा ८ एमपीको रियर क्यामेरा तथा ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओएस ७ दशमलव ० र २६३० एमएएच ब्याट्री राखिएको छ ।
नोकिया–५ मोवाइल ५ दशमलव २ इन्च एच् डी डिस्प्ले, क्वालाकम स्नापड्रागन ओक्टा कोर १ दशमलव ४ गिगाहर्ज, २ जीबी र्याम, १६ जीबी इन्टरनल स्टोरेज, पूर्ण एल्मुनियम बडीयुक्त हुनेछ । यसमा पनि १३ एमपीको रियर क्यामेरा, फ्रिङ्गर प्रिन्ट स्क्यानर तथा ८ एमपीको फ्रन्ट क्यामेरा जडान गरिएको छ । यसमा प्योर एनड्रोइड न्युगट ओ एस् ७.१.१ तथा ३००० एमएएच ब्याट्री उपलब्ध हुने बताइन्छ ।
नोकिया–६ का अनेकौं विशेषता छन् । यसमा ५ दशमलव ५ इन्च फुल एचडी डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट, ओक्टा कोर १ दशमलव ४ गिगाहर्ज, ३ जीबी र्याम, ३२ जीबी इनटरनल स्टोरेज रहनेछ । पूर्ण एल्मुनियम बडीले गर्दा यो फोन निकै आकर्षक देखिन्छ । यसमा ८ एमपी फ्रन्ट क्यामेरा तथा १६ एमपी रियर क्यामेराका साथ फ्रिङ्गर प्रिन्ट स्क्यानर, प्योर एन्ड्रोइड न्युगट ओएस ७.१.१ र ३००० एमएएच ब्याट्रीजस्ता विशेषताहरू छन् ।
नोकिया ९० को दशकदेखिकै लोकप्रिय एवं चीरपरिचित ब्रान्ड हो । चार वर्षको अन्तरालपछि नोकियाले पुन: आगमनको घोषणा गरेलगत्तै विश्वव्यापी रूपमा नोकिया फोनको माग बढेको बताइन्छ । नोकियाले चाँडै नै उच्चतम प्रविधियुक्त नोकिया–८ पनि नेपाली बजारमा उपलब्ध गराउने बताएको छ ।