साप्ताहिक संवाददाता
उनको नामको पहिलो अक्षर ‘ज’ र उनले अभिनय गरेको पहिलो चलचित्रको पहिलो अक्षर पनि ‘ज’ अर्थात जन्मभूमि । जेबिका कार्कीले कान्तिपुर टेलिभिजनमा सन्दिप क्षेत्रीसँग ह्वाट द फ्लप, अनि केही म्युजिक भिडियो तथा विज्ञापन हुँदै आफ्नो करियर अघि बढाउँदै गइन् ।
जन्मभूमिबाट डेब्यु गरे पनि उक्त चलचित्र चलेन, तर जेबिकाको अभिनय हेर्ने जतिले मनपराए । सानो कदकी भएकीले माया गरेर धेरैले उनलाई ‘फुच्ची’ पनि भन्छन् । यही फुच्चीले चलचित्र ‘पर्व’मा सबैको मन जित्ने अभिनय गरिन् र धेरैको आँखामा परिन् ।
हालसम्म सहायक भूमिकामा सीमित जेबिका कार्कीलाई अहिले राम्रा ब्यानर तथा निर्देशकहरूबाट चलचित्रको अफर आइरहेको छ । नृत्यमा पनि पोख्त जेबिका भने एउटै खालको भूमिका नदोहोर्याउने पक्षमा छिन् । कार्की भन्छिन्– ‘म टाइप्ड हुन चाहन्न, भूमिका दमदार र चुनौतीपूर्ण भए अवश्य काम गर्छु ।’