म २८ वर्षीय युवा हुँ । म यौनसम्बन्धी कुरामा निकै चासो दिन्छु । मेरी प्रेमिका पनि छिन् । उनीसँग ७ महिनायता निरन्तर यौनसम्पर्क भैरहेको छ । हामी गर्भ रोक्न इकोन प्रयोग गर्छौं । हामीले त्यसको प्रयोग धेरै पटक गरिसकेका छौं । यसले पछिका दिनमा कुनै नकारात्मक असर गर्छ कि गर्दैन ? कहिलेकाहीँ सहमतिमा मलद्वारमा पनि सम्पर्क हुन्छ । यसमा गर्भ रहन्छ कि रहँदैन ? म उनलाई सम्झेर लिङ्गलाई बेडमा थिचेर आनन्द लिन्छु । कहिले शुक्रकीट बाहिर फाल्छु । कहिले लिङ्गलाई थिचेर बाहिर आउन दिन्न र शरीर सिरिङ पारेर मज्जा लिन्छु । यस्तो समस्याबाट मुक्त हुन के गर्नुपर्ला । बाहिर आउन नदिइएको शुक्रकीटले भविष्यमा असर पार्छ कि पार्दैन ?
- १९२६७
आकस्मिक गर्भ निरोधको असर केही हुन्छ कि ?
तपाईंकी प्रेमिकाले प्रयोग गर्नुभएको econdf Levonorgestrel रसायनिक पदार्थ हुन्छ । यो आपतकालीन गर्भ निरोधको उद्देश्यले तयार पारिएको औषधी हो । आपतकालीन स्थिति जस्तै कि गर्भ निरोधका कुनै साधन प्रयोग नगरी यौनसम्पर्क भएका बेला वा गर्भ निरोधका साधन प्रयोग गरेको भए पनि कुनै दुर्घटना घट्न गए (जस्तै कण्डम फुट्नु) गर्भ रहनबाट जोगिन यस्तो औषधी प्रयोग गरिन्छ । यौनसम्पर्क भएको जति सक्यो चाँडो यसको पहिलो मात्रा खानुपर्छ । पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा (५दिन) भित्र खाई सक्नुपर्छ । पहिले–पहिले यो औषधी ७२ घण्टा (३ दिनभित्र) खाई सक्नुपर्छ भनिन्थ्यो । अर्को मात्रा पहिलो मात्रा खाएको १२ घण्टापछि खानुपर्छ । यसरी १२ घण्टाको फरकमा दुइ पटक औषधी खाए पुग्छ ।
यी औषधी खाएपछि वाक्वाकी लाग्ने, वान्ता हुने जस्ता प्रभावहरू देखिन्छन् । टाउको दुख्नु, रिङ्गटा लाग्नु, मांसपेशी बाउडिनु वा स्तन छाम्दा दुख्नु यसका अन्य दुस्प्रभाव हुन् तर ती प्रभाव प्रायजसो २४ घण्टाभन्दा बढी रहँदैन । यसका अन्य असरको कुरा गर्दा महिनावारी ठीक समयमा नहुन सक्छ र त्यसको अवधिमा केही फरक आउने हुनसक्छ भने महिनावारीको समयमा आउने रगतको मात्रा पनि कम वा बढी हुनसक्छ । केही महिलामा गर्भ डिम्बवाहिनी नलीमा बस्नसक्छ जसले गम्भीर समस्या निम्त्याउन सक्छ ।
अहिले सम्मका अध्ययनहरूले यो औषधीले गम्भीर किसिमको स्वास्थ्य समस्या सिर्जना गर्ने कार्य गर्दैन भन्ने देखाएका छन् । यसलाई नियमित रूपमा प्रयोग गरिँदा यसको प्रभावकारिता घट्छ अर्थात् गर्भ रहन सक्छ । तपाईंलाई थाहै छ यो हर्मोनयुक्त औषधी हो र त्यसका असरहरू हुन्छन् नै । नियमित रूपमा यौनसम्पर्क हुने स्थितिमा स्वास्थ्य संस्थामा गै राम्रोसँग परामर्श लिएर आफूलाई उपयुक्त हुने कुनै गर्भ निरोधको साधन नियमित रूपमा प्रयोग गर्नु नै वेश हुन्छ ।
गुदामैथुन गर्दा गर्भ रहला ?
तपाईंलाई थाहै होला कि हाम्रो प्रजनन प्रणाली र पाचन प्रणाली आ–आफ्नै किसिमको हुन्छ । प्रजनन प्रणाली अन्तर्गतका अंगले सन्तान जन्माउने कार्य गर्छ । तपाईंलाई थाहै होला योनिमा वीर्य स्खलित भएपछि त्यसमा भएका शुक्रकीट पाठेघरको मुख अनि पाठेघर हुँदै डिम्बनलीसम्म पुग्छन् जहाँ यी शुक्रकीटको डिम्बसँग मिलन हुन्छ । त्यसैगरी पचन क्रियापछि बाहिरिएको वस्तु जसलाई हामीले दिसा भन्छौं त्यसलाई केही समय राख्ने तथा बाहिर निकाल्ने कार्य मलासय तथा मलद्वारले कार्य गर्छन् । यी दुई प्रणालीका अंगबीच प्रत्यक्ष सम्बन्ध हुँदैन । त्यसलै गुदामैथुन गर्दा स्खलित भएको वीर्यमा रहेका शुक्रकीट डिम्बनलीमा पुगेर डिम्बलाई निसेंचित गर्ने बाटोमा हुँदैनन् अर्थात् गुदामैथुन गर्दा गर्भ रहन सक्ने कुरा भएन ।
यहाँ यस्तो अलमल किन भयो भन्ने पनि जान्न आवश्यक छ जुन तपाईंले नलेख्नु भएकाले त्यसको जवाफ दिने कुरा भएन । तै पनि के अनुमान लगाउन सकिन्छ भने योनिमा होस् वा मलद्वारमा यौन आनन्द आउने भएकाले कतै गर्भ पनि रहन्छ कि जस्तो लागेको हुनसक्छ । यहाँ तपाईंले के पनि बुझ्नुपर्छ कि कतिपय प्रजनन अंगले यौन आनन्द दिन्छन् भने कतिपयले दिँदैनन् । उदाहरणका लागि डिम्बवाहिनी नली प्रजनन अंग भए पनि यौन अंग होइन त्यसैगरी मलासय तथा मलद्वार यौनाङ भए पनि प्रजनन अंग होइनन् ।
कतिपय व्यक्तिले गुदामैथुन गर्दा स्खलित भए पछि लिङ्ग नपखाली योनिमा प्रवेश गराउन सक्छन् वा योनिद्वार तिर स्खलित गरेको स्थिति भए वीर्यमा भएका शुक्रकीट महिलाको प्रजनन अंगमा पस्न सक्छन् । केही नलेख्नु भए पनि तपाईंले त्यस्तो गर्ने गर्नुभएको छैन होला भन्ने मानेको छु ।
शुक्रकीट भित्रै रहँदा के असर हुन्छ ?
तपाईंलाई थाहै होला कि वीर्यमा मिसिएर आउने शुक्रकीट वीर्य थैलीमा सुरक्षित बसेका हुन्छन् तर लामो समयसम्म स्ललित नभए ती शुक्रकीटको क्षयीकरण हुन थाल्छ त्यसैले हाम्रो शरीरले निरन्तर रूपमा शुक्रकीटको उत्पादन गरिरहेको हुन्छ जसले गर्दा कुनै पनि बेलामा वीर्य स्खलित हुँदा स्वस्थ शुक्रकीटको पर्याप्त मात्रा आओस् । यसले कुनै नकारात्मक असर गर्दैन ।
तपार्इंले यौन उत्तेजनाबाट वीर्य स्खलित भएपछि लिङ्गबाट बाहिर निस्कन नदिनुभए पनि यो वीर्य थैलीबाट बाहिर आइसकेको स्थिति हो । तपाईंले जस्तो रोक्दा भने यो बाहिर निस्कने नभई मुत्रथैलीतर्फ जान्छ जहाँ यसलाई बाँच्ने उपयुक्त वातावरण हुँदैन फलस्वरूप पिसाब फेर्दा पिसावसँगै बाहिर निस्कन्छ ।