साप्ताहिक संवाददाता
चलचित्र ‘लुट’ को निर्देशन गर्दै नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ मोडदिन सफल निर्देशक हुन्– निश्चल बस्नेत । निश्चल टलक जंग भर्सेस टुल्के, लुट–२ आदि चलचित्र निर्देशन गरेर सफल निर्देशकका रूपमा स्थापित भैसकेका छन् । पछिल्लो समय निश्चलले आफूलाई निर्देशकका रूपमा मात्र सीमित राखेका छैनन्, उनले आफूलाई गायन, नृत्य तथा अभिनयमा समेत निखार्दै गएका छन् ।
काले दाइदेखि कुटुमा कुटुसम्मका गीतका आकर्षक नृत्य गर्ने निश्चलले चलचित्र कबड्डी–कबड्डीमा उत्कृष्ट अभिनय समेत गरे । प्रदर्शनको तयारीमा रहेको चलचित्र २ रुपैयाँमा अभिनेताका रूपमा समेत प्रस्तुत भएका निश्चलका सम्बन्धमा उनका समकालीनहरूको टिप्पणी यस्तो छ :
निश्चल बस्नेत मनोरञ्जनका सबै विधामा अब्बल छन् । निश्चलले निर्देशकका रूपमा आफूलाई प्रमाणित गरिसकेका छन् भने अभिनय, नृत्य तथा गायनमा समेत उनले राम्रो सम्भावना देखाएका छन् । समग्रमा उनी भर्सटायल कलाकार हुन् ।
- आसिफ शाह, अभिनेता
समग्रमा निश्चल बस्नेतमा भर्सटालिटी झल्कन्छ् । निर्देशकका रूपमा उनले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन् भने गायन एवं नृत्यमा उनले नयाँ स्वाद दिएका छन् । अब भने उनले आफूलाई लुटको छविबाट माथि उठाउने समय आएको छ । निर्देशनलाई नयाँ उचाइमा पुर्याउनु पर्ने जिम्मेवारी उनको काँधमा छ ।
-विष्णु शर्मा, सञ्चारकर्मी
म निश्चल बस्नेतलाई सिर्जनशील निर्देशकका रूपमा चिन्छु । अभिनेताका रूपमा औसत लागे पनि निर्देशनमा उनको सिर्जनात्मकता झल्कन्छ । गायन एवं नृत्यलाई उनले सौखका रूपमा मात्र लिए जस्तो लाग्छ ।
- निकेश खड्का, निर्देशक
निश्चल बस्नेतमा एउटा सफल कलाकारमा हुनु पर्ने सम्पूर्ण गुण फेला पार्न सकिन्छ । निर्देशन त उनको मुख्य काम नै भयो, अभिनय, गायन एवं नृत्यमा पनि उनी व्यवसायिक कलाकारभन्दा कम देखिँदैनन् ।
- माला लिम्बू, अभिनेत्री
म निश्चल बस्नेतलाई नेपाली चलचित्रलाई व्यवसायिक धार प्रदान गर्ने युवा निर्देशकका रूपमा चिन्छु । निश्चलमा दर्शकको टेस्ट बुझेर उनीहरूकै रोजाइका चलचित्र निर्देशन गर्ने कला छ । कलाकारिताका सबै विधामा उत्तिकै सशक्त निश्चलबाट भविष्यमा अझ उत्कृष्ट चलचित्रको अपेक्षा गरेको छु ।
- माधव वाग्ले, निर्माता