साप्ताहिक संवाददाता
अहिले धेरै नेपालीको हातमा स्मार्टफोन छ । त्यसैले स्मार्टफोनसँगै मेमोरी कार्ड, ब्लुटुथ, पावर बैंक, इयरफोन आदि अन्य एसेसरिजको प्रयोग पनि बढ्दै गएको छ । विशेष गरी युवा पुस्ताका लागि आवश्यक यी एसेसरिजको व्यापारसमेत फस्टाउँदै गएको छ ।
काठमाडौंका न्युरोड, सिटिसी मल, पुतलीसडक आदि स्थानमा मोबाइल तथा मोबाइलका एसेसरिजका लागि छुट्टै पसलहरू उपलब्ध छन् । महाबौद्धका अतिरिक्त विभिन्न स्थानमा यस्ता एसेसरिजका होलसेल पसल छन् ।
कतिपय एसेसरिज स्मार्टफोनसँगै कम्पनीकै ब्रान्डमा उपलब्ध हुन्छन् । यद्यपि हराउने वा अन्य कारणले ग्राहकले समय–समयमा अन्य एसेसरिज पनि किन्नुपर्ने हुन्छ । यी सबै कुरालाई ध्यानमा राखेर विभिन्न कम्पनीले फरक–फरक प्रकारका एसेसरिज उत्पादन गरेका हुन्छन् ।
नेपाली बजारमा यस्ता एसेसरिजको समेत राम्रो व्यापार भैरहेको महाबौद्धस्थित न्यू आरसी ट्रेडर्सका सञ्चालक मनोज न्यौपाने बताउँछन् । दसैं तिहारजस्ता चाडपर्वमा स्मार्टफोन विक्रेता कम्पनीहरूले पनि यस्तै विभिन्न प्रकारका एसेसरिज उपहारमा राखेका छन् । यस्ता एसेसरिज चाडपर्वका अवसरमा आफन्तलाई उपहारका रूपमा समेत प्रदान गर्न सकिन्छ ।
पावर बैंक
पावर बैंकलाई बत्ती भएको समयमा टन्न चार्ज गरेर राखेपछि फुर्सदमा यसैमार्फत मोबाइल वा अन्य डिभाइससमेत चार्ज गर्न सकिन्छ । पावर बैंक एउटा विशेष प्रकारको ब्याट्री हो । यसलाई इमर्जेन्सीमा प्रयोग गर्न सकिन्छ । यसमा आवश्यक शक्ति सञ्चित हुन्छ । यसमा युनिभर्सल चार्जर उपलब्ध हुन्छ । यसको अर्थ फरक–फरक डिभाइसका लागि फरक–फरक चार्जर राख्नु पर्ने आवश्यकता हुँदैन ।
पावर बैंकको महत्व बुझेर कतिपय स्मार्टफोन विक्रेताले स्मार्टफोनसँगै पावर बैंक पनि उपहार प्रदान गर्न थालेका छन् । कतिपय कम्पनीले उपहार र चिट्ठाका रूपमा पावर बैंक राखेका छन् । नेपालमा ४ हजार रुपैयाँसम्मका पावर बैंक उपलब्ध छन् ।
मेमोरी कार्ड
गीत–संगीत वा अन्य मनोरञ्जक सामग्री स्टोर गरेर राख्न मेमोरी कार्ड आवश्यक हुन्छ । बजारमा २, ४ र ८ जिबीका मेमोरी कार्ड धेरै बिक्री हुने व्यवसायीहरू बताउँछन् । नेपालमा विशेष गरी एचसी, तोसिबा आदि ब्रान्डका मेमोरी कार्ड प्रचलित छन् । नेपाली बजारमा सामसुङको मेमोरी कार्ड राम्रो मानिएको छ । सामसुङले भने १६ र ३२ जिबीको मेमोरी कार्ड मात्र उत्पादन गर्छ । मेमोरी कार्डमा पनि डाटा चलाउन मिल्ने स्पिडअनुसार क्लास छुट्याइएको हुन्छ । बजारमा क्लास ४, ६ तथा १० का मेमोरी कार्ड उपलब्ध छन् । मेमोरी कार्डको मूल्य यसको क्षमताअनुसार फरक–फरक हुन्छ ।
ब्लुटुथ
स्मार्टफोनसँगै प्रयोगमा आउने ब्लुटुथ पनि महत्वपूर्ण एसेसरिज हो । कानमा ब्लुटुथ लगाएर फोनमा रमाइरहेका मानिस प्रशस्तै देख्न सकिन्छ । एप्पल, सामसुङ, बिट्सजस्ता कम्पनीका ब्लुटुथ निकै लोकप्रिय छन् । यी ब्लुटुथ मार्फत १० मिटरसम्मको दूरीमा पनि मोबाइल फोन प्रयोग गर्न सकिन्छ । सामान्यत: ८ सयदेखि ५ हजार रुपैयाँसम्मका ब्लुटुथ नेपाली बजारमा उपलब्ध छन् ।
वायरलेस हेडफोन
खासगरी संगीतका सौखिनहरूका लागि वायरलेस हेडफोन वरदान सावित भएको छ । महत्वपूर्ण पक्ष के छ भने यस्ता वायरलेस हेडफोनमार्फत मोबाइल वा कम्प्युटर दुवैमा भएका संगीतलाई ब्लुटुथको सहयोगले कनेक्ट गर्न सकिन्छ । नेपाली बजारमा बिट्स र अन्य विभिन्न ब्रान्डका हेडफोन उपलब्ध छन्, जसको मूल्य ५ सयदेखि ५ हजार रुपैयाँसम्म छ ।
ब्लुटुथ स्पिकर
चाडपर्वका अवसरमा ठूलो स्वरमा घरमा सांगीतिक वातावरण सिर्जना गर्ने चाहना धेरैमा हुन सक्छ । मोबाइलमा भएका गीत स्पिकरमार्फत ठूलो स्वरमा बजाउन सकिन्छ । यसका लागि तार जोड्नु नपर्ने ब्लुटुथ स्पिकर काम लाग्न सक्छ । नेपाली बजारमा ३ सय देखि १० हजार रुपैयाँसम्मका ब्लुटुथ स्पिकर उपलब्ध छन् ।
इयरफोन
विश्व बजारमा विभिन्न कम्पनीले फरक–फरक प्रकारका इयरफोन उपलब्ध गराइरहेका छन् । वायरलेस इयरफोनदेखि लिएर स्मार्टफोनमै अटोमेटिक इयरफोनसमेत उपलब्ध हुन थालेका छन् । अहिले बजारमा इयरफोनको सट्टा इयरबडसमेत आउन थालेको छ । उक्त इयरबडलाई कानमा राख्दा त्यसले इयरफोनको जस्तै काम गर्छ । यद्यपि नेपालमा भने हामी सबैले बजारमा प्रचलित कमसल इयरफोन नै प्रयोग गर्नुपर्ने बाध्यता छ । बजारमा १ सयदेखि २ हजार रुपैयाँसम्मका इयरफोन उपलब्ध छन् ।
सेल्फी स्टिक
जमाना सेल्फीको छ । त्यसैले सेल्फी खिच्न चाहनेहरूका लागि सेल्फी स्टिक महत्वपूर्ण हुन सक्छ । यस्ता सेल्फी स्टिक नेपाली बजारमा प्रशस्तै पाइन्छन् । सामान्यत: १ सयदेखि १ हजार रुपैयाँसम्मका सेल्फी स्टिक नेपाली बजारमा उपलब्ध छन् ।
मोबाइल कभर
मोबाइलको सुरक्षाका लागि कभरको महत्वपूर्ण भूमिका हुन्छ । बजारमा वाटरप्रुफ र डस्टप्रुफ मोबाइल कभर उपलब्ध छन् । यस्ता कभर प्रयोग गरी मोबाइललाई सुरक्षित राख्न सकिन्छ । नेपाली बजारमा १ सयदेखि १ हजार रुपैयाँसम्मका मोबाइल कभर पाइन्छन् ।