साप्ताहिक संवाददाता
आफूले सोचेको समयभन्दा पनि निकै छिटो मोबाइलको ब्याट्री सकिएर हैरान हुनुहुन्छ अथवा समय–समयमा फोनको स्पेस पुगेन भनेर सुचना आइरहन्छ ? आफैं गर्न सकिने केही सामान्य उपाय अपनाउने हो भने यी समस्याबाट धेरै हदसम्म मुक्त हुन सकिन्छ ।
ब्याट्री लामो समयसम्म टिकाउन
१. आफ्नो मोबाइलको स्क्रिनको ब्राइटनेसलाई घटाएर चलाउँदा प्रत्यक्ष रूपमै मोबाइलको ब्याट्री टिकेको अनुभूति गर्न सकिन्छ । यद्यपि सधैं र सबै अवस्थामा ब्राइटनेस घटाएर चलाउन सम्भव हुँदैन । जस्तो कि घाममा हिंडिरहेको समयमा ब्राइटनेस कम छ भने मोबाइलको स्क्रिनमा हेर्न नै समस्या हुन्छ । यस्तो अवस्थामा ब्राइटनेसलाई ‘अटो’ मोडमा राखिदिने हो भने मोबाइल आफैंले उपयुक्त उज्यालो (ब्राइटनेस) मा बसेर कम ब्याट्री खपत गर्छ ।
२. मोबाइलमा ‘स्क्रिन टाइमआउट’ को समय थोरै राखेर पनि ब्याट्रीलाई किफायती बनाउन सकिन्छ । स्क्रिन टाइमआउट भन्नाले आफ्नो मोबाइलमा केही बटन थिचेपछि अथवा केही चलाएपछि कति समयसम्म मोबाइलको स्क्रिनमा बत्ती बल्ने भन्ने हो । यदि फोनमा स्क्रिन टाइमआउटको समय दुई मिनेट छ र मोबाइल चलाएर काम सकेपछि मोबाइल यत्तिकै छोड्ने हो भने मोबाइलले दुई मिनेट अनावश्यक रूपमा ब्याट्री खपत गर्छ । यो ‘स्क्रिन टाइमआउट’ को समय छोट्याएर ब्याट्री लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।
३. अनावश्यक रुपमा फोनको ब्लुटुथ र वाईफाई खोल्नु हुँदैन । जब ब्लुटुथ र वाइफाइ चलाउने काम सकिन्छ, तिनीहरूलाई बन्द गरिदिनुपर्छ । यसले ब्याट्री बचत गर्न अहं भूमिका खेल्छ ।
४. लोकेसन ट्रयाक गर्न जीपीएस प्रयोग गर्ने एप्लिकेसन्सहरूले पनि पर्याप्त ब्याट्री खपत गर्छन् । त्यसैले चाहिएको समयमा मात्र जीपीएस अन गर्ने हो भने पनि ब्याट्री बढी टिकाउ हुन्छ ।
५. एकभन्दा धेरै एप्लिकेसन्स चलाउन दिनु स्मार्टफोनको प्रमुख विशेषता हो । एउटा एप्लिकेसन चलाइरहेको समयमा ब्याकग्राउन्डमा अरू एपहरू पनि चलिरहेका हुन्छन् । जस्तै फेसबुक चलाउँदै गीत पनि सुन्न पनि सकिन्छ । त्यही समयमा फोनमा भाइबरलाई पनि ब्याकग्राउन्डमा प्रयोग गर्न सकिन्छ, तर यसरी ब्याकग्राउन्डमा चल्ने एप्सले पनि ब्याट्री खपत गरिरहेका हुन्छन् । यसकारणले प्रयोग नहुने अवस्थामा ब्याकग्राउन्डमा चल्ने एप्लिकेसनहरू त्यत्तिकै छोड्नुभन्दा तिनलाई बन्द गरिदिनु उपयुक्त हुन्छ ।
६. मोबाइलमा रिंगटोन बज्दाभन्दा भाइब्रेट हुँदा बढी ब्याट्री खपत हुन्छ । त्यसैले मोबाइललाई सकेसम्म भाइब्रेटभन्दा पनि रिंगटोन मोडमा राख्दा ब्याट्री लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।
७. एउटा प्रयोजनका लागि प्रयोग गर्न इन्स्टल गरिएका एप्लिकेसनहरू फेरि लामो समयसम्म चलाइरहनु पर्दैन भने त्यसलाई अनइन्स्टल गर्नु उपयुक्त हुन्छ, अन्यथा तिनले ब्याकग्राउन्डमा रहेर मोबाइलको ब्याट्री खपत गरिरहेका हुन सक्छन् ।
८. मोबाइललाई सकेसम्म गर्मी ठाउँमा राख्नुहुँदैन । ब्याट्रीले तातोमा भन्दा चिसोमा बढी पर्फमेन्स दिन्छ । गोजीमा राख्दा पनि लुज
गोजीमा राख्नुपर्छ ।
९. चार्ज गर्दै मोबाइल चलाउँदा मोबाइलको ब्याट्री लाइफ घट्ने कुरा विज्ञहरू बताउँछन् । यसका अतिरिक्त चार्ज गर्दै फोन चलाउँदा फोनमा अन्य बिभिन्न समस्या सिर्जना हुन सक्छन् ।
स्टोरेज स्पेस लो भनेको बेला
त्यसैगरी हाम्रो फोनमा समय समयमा ‘स्टोरेज स्पेस’ पुगेन भनेर नोटिफिकेसन आइरहन्छ । यसले गर्दा न त हामी फोटो नै खिच्न सक्छौं न त कुनै नयाँ एप्लिकेसन इन्स्टल गर्न नै । यो समस्याबाट छुट्कारा प्राप्त गर्न निम्न उपाय अवलम्बन गर्न सकिन्छ ।
१. हाम्रो फोन सेटमा एकदमै थोरै इन्टरनल स्टोरेज हुन्छ । त्यसैले मेमोरी कार्डको प्रयोग गरेर इन्टरनल स्टोरेजको भार घटाउन सकिन्छ । यसका लागि फोनमा हामीले प्रयोग गर्ने विभिन्न एप्लिकेसन्स मेमोरी कार्डमा सार्न सकिन्छ । यो कार्य गर्न आफ्नो फोनको सेटिङ एप्लिकेसन्स म्यानेजरमा गएर फोनको मेमोरीबाट मेमोरी कार्डमा सार्न खोजेको एप्लिकेसनलाई ‘मुभ टु एसडी कार्ड’ मा जान सकिन्छ । यसबाट सबै एप्लिकेसन्सलाई मेमोरी कार्डमा सार्न भने सकिँदैन ।
२. गीत, भिडिओ, फोटोजस्ता मिडिया फाइलहरूलाई मेमोरी कार्डमा सार्न सकिन्छ । यी मिडिया फाइलहरू अरू फाइलको तुलनामा बढी मेमोरी ओगट्ने हुन्छन् ।
३. तुलनात्मक रूपमा अरूभन्दा थोरै मात्र मेमोरी प्रयोग गर्ने भए पनि एसएमएसमा आउने टेक्स्टहरूलाई पनि आवश्यकता हेरेर हटाउन सकिन्छ ।
४. बिभिन्न ब्राउजर र एप्लिकेसन्सहरूको‘ँहिस्ट्री’ र ‘क्यास’ समय–समयमा हटाउनुपर्छ । कतिपय अवस्थामा एप्लिकेसनको साइजभन्दा निकै बढी त्यही एप्लिकेसनको ‘क्यास’ बसेको हुन्छ । क्यास र डाटा हटाउन आफ्नो फोनको सेटिङ एप्लिकेसन्स म्यानेजरमा गएर ‘क्यास’ हटाउन लागिएको एपमा जानुपर्छ । त्यसपछि त्यहाँ रहेको ‘स्टोरेज’ मा थिचेर आवश्यकताअनुसार डाटा र क्यास हटाउन सकिन्छ ।
५. यसका साथै खासै प्रयोगमा नआउने एप्लिकेसन्सहरू ‘अनइन्स्टल’ गरेर पनि फोनमा खाली स्पेस
बढाउन सकिन्छ ।
६. विभिन्न ‘विजेट’ र ‘वालपेपर’ हटाउँदा पनि फोनमा खाली स्पेस वृद्धि हुन्छ भने ब्याट्रीको आयु पनि बढ्छ ।
७. फोनबाट खिचिएको तस्बिरलाई मेमोरी कार्ड अथवा फोनकै इन्टरनल मेमोरीमा भन्दा पनि क्लाउड स्टोरेजमा राख्नुपर्छ । यसले फोनको मेमोरी त जोगाउँछ नै, त्यसरी क्लाउड स्टोरेजमा राखिएका बिभिन्न सामग्री इन्टरनेट भएको जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न सकिन्छ, चाहे आफ्नो फोन साथमा नभएकै अवस्था होस् । गुगलले प्रदान गरेको ‘गुगल फोटो’ यसको उदाहरण हो ।