साप्ताहिक संवाददाता
निर्देशक : सात्विक मोहन्टी संगीत : निक, जित गांगुली, टोनी कक्कर कलाकार : जिमी शेरगिल, अनुपम खेर, सतिश कौशिक, हिमांश कोहली, ताहा शाह, सौन्दर्य शर्मा आदि ।
बैंक लुट्ने विषयमा धेरै चलचित्र निर्माण भएका छन् । यो साता प्रदर्शन हुने बलिउड चलचित्र ‘राँची डायरिज’ बैंकको एटीएम मेसिन लुट्ने विषयमा आधारित छ । हास्य प्रधान यो चलचित्रमा आर्थिक समस्यामा परेका चार युवक तथा एक युवतीले बैंकको एटीएम लुट्ने योजना बनाउँछन् ।
उनीहरूलाई समस्यामा पार्ने चाहिँ चलचित्रका खलपात्र अनुपम खेर हुन्छन् । भारतको राँची सहर तथा बस्तीको पृष्ठभूमिमा खिचिएको चलचित्र ‘राँची डायरिज’मा अभिनेता जिमी शेरगिल प्रहरी अधिकृतको भूमिकामा छन् भने सतिश कौशिकले जँड्हया प्रहरी हवलदारको भूमिका निर्वाह गरेका छन् । एउटा बदमासी गरेपछि पाँचजना युवा–युवती प्रहरीको जालोमा पर्छन् ।
उक्त समस्याबाट निकाल्न प्रहरीले उनीहरूसँग ५ लाख घूस माग्छ । ५ लाख जोगाड गर्न उनीहरूले एउटा योजना बुन्छन् र बैंकको एटीएम मेसिन लुट्छन् । त्यसपछि उनीहरू समस्याको दलदलमा फस्दै जान्छन् ।