साप्ताहिक संवाददाता
केही दिन पहिले काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न अटो शोमा विभिन्न गाडीहरू प्रदर्शन गरिएका थिए । गाडीका बारेमा जानकारी दिने स्थानमा पहिले कार्टुन श्रृंखलाका विभिन्न क्यारेक्टरले रौनक थप्दै आएका छन् । यसपटक अशोक लेल्यान्डको प्रदर्शनी स्थलअगाडि मोटु र पतलु दुई क्यारेक्टर पनि उभिएका देखिन्थे । यसबाट के स्पष्ट हुन्छ भने नेपालमा पनि मोटु–पतलु कार्टुनका जोडी मन पराउनेहरू प्रसस्तै छन् ।
नेपालमा मोटु–पतलुको कथा भएको कार्टुन वा अन्य कमिक्स एवं चलचित्र मन पराउनेमा बालबालिका मात्र होइन, युवायुवतीका साथै अन्य सबै उमेरका मानिस उत्तिकै छन् ।
मोटु–पतलु कार्टुनबाट प्रारम्भ भए पनि यो निकलोडन र बसन्थमजस्ता टेलिभिजन सिरिजमार्फत थप लोकप्रिय भएको थियो । यसलाई कसमस मायाले उत्पादन गरेको हो । सन् २०१२ को अक्टोबर १६ मा यसलाई पहिलो पटक प्रिमियर गरिएको थियो । यसको प्रसारण पहिलो पटक जोन बनेगा डन एपिसोडबाट थालिएको थियो । भारतीय कलाकार सुखबिन्दर सिंहले गाएको मोटु और पतलुकी जोडी गीत पनि निकै लोकप्रिय छ ।
‘मोटु और पतलु’मा दुई साथी मोटु र पतलुले आफ्नो गाउँ फुरफुरी नगरमा भए– गरेका अपराधजन्य घटनाहरूलाई निस्तेज पार्न हरसम्भव प्रयास गर्छन् । समोसा खाएपछि असामान्य शक्ति प्राप्त गर्ने मोटु र जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा आइडिया फुराउन सक्ने पतलुबीचको यो जोडीलाई अद्भुत रूपमा प्रस्तुत गरिएको छ ।
मोटु–पतलुका धेरैजसो कार्टुन चलचित्र स–साना बालबालिकालाई रमाइलो लाग्ने खालका छन् । अहिले सबैभन्दा बढी मन पराइने ‘मोटु–पतलु’ को कथा भारतमा पहिले निकै चलेको लोटपोट कमिकबाट लिइएको हो । यसमा मोटु र पतलु नामका दुई असाध्यै मिल्ने साथी हुन्छन् । उनीहरू जहिले पनि अनौठा–अनौठा काम गर्छन् । उनीहरूलाई जोन द डनले जहिले पनि सताइरहन्छ । मोटुलाई समोसा असाध्यै मन पर्छ । समोसा खाएपछि उसमा धेरै तागत आउँछ । डाक्टर झट्काले अनौठा–अनौठा आविष्कार र प्रयोग गरेर मोटु–पतलुलाई सहयोग गरिरहन्छन् । मोटु–पतलुका अहिलेसम्म २ सय ६० श्रृंखला प्रसारणमा आइसकेका छन् ।
मोटु–पतलुका सबै श्रृंखला भारतको फुरफुरी नगरमा बनेका छन् । फुरफुरीलाई एउटा टिपिकल भारतीय सहर मानिएको छ । यो एउटा शान्त सहर हो । नजिकै नदी भएको यो सहरमा केही पसल, बजार क्षेत्र, बस डिपो, एक तले घरहरूको समूह, मन्दिर तथा केही धार्मिक स्थान छन् । त्यहाँ केही गाउँ र कमलपुर, सुरसुरी नगर जस्ता गाउँ र आधुनिक सहरसमेत छन् ।
सानो सहर भए पनि यहाँ आफ्नै एयरपोर्ट समेत छ । श्रृंखलामा एमएच लेखिएको नम्बर प्लेट देखिने हुनाले यो महाराष्ट्रकै कुनै स्थान हो भनेर अनुमान लगाउन सकिन्छ । सहरका प्रहरीले पनि महाराष्ट्र पुलिसको युनिफर्म लगाउने भएकाले यो त्यतैको कथा हो भन्ने अनुमान लगाउन सकिन्छ ।
मोटु–पतलुको जोडीमा आधारित रही गत वर्ष भारतमा एउटा चलचित्र निर्माण भएको छ । किंग्स अफ किंग्स शीर्षकको उक्त चलचित्रले बालबालिकालाई मात्र नभई वयस्कहरूलाई समेत मनोरञ्जन प्रदान गरेको थियो । सबैलाई हँसाउने भएकैले मोटु–पतलु क्यारेक्टरलाई सबैले रुचाउँछन् ।
यही चलचित्रको थ्रीडी भर्सन आउँदो अक्टोबर १४ मा सार्वजनिक हुँदैछ । चलचित्रको प्रवद्र्धनका लागि अहिले विभिन्न टिभी च्यानलहरूमा लाइभ शोहरू पनि भैरहेका छन् ।
बालबालिकालाई रोमाञ्चक अनुभव प्रदान गर्न गुगल प्ले स्टोरमा समेत मोटु–पतलुको गेम उपलब्ध छ । यद्यपि प्ले स्टोरमा बालबालिकाका लागि प्रशस्तै गेम छन्, तर मोटु–पतलु गेम खेल्न पाउनु पनि खुसीकै कुरा हो ।
उक्त गेमको शीर्षक मोटु–पतलु बाइक साइक्लिङ राखिएको छ । उक्त गेम खेल्न रनिङ मिसन पार गर्नुका साथै सिक्का जम्मा गर्नुपर्छ । यसबाट उच्चतम स्कोरसम्म पुग्न सकिन्छ । उक्त गेमको ग्राफिक्स उपयुक्त तरिकाले निर्माण गरिएकाले यसलाई स्मार्टफोन वा ट्याब्लेटमा सहजै खेल्न सकिन्छ ।