साप्ताहिक संवाददाता
निर्देशक : ज्याक सेनेडर
कलाकार : बेन एफलेक, हेनरी केभिल, गल गाडोट, एर्जा मिलर, जेसन मोमआ, रे फिसर, एमी आडम्स आदि ।
धेरैजसो सुपरहिरोहरू एकसाथ युद्ध लड्दा त्यो कस्तो देखिएला ? डिसी कमिक्सका सुपरहिरोहरू ब्याटम्यान, वन्डर वुमेन, द फ्ल्यास, अक्वाम्यान तथा साइवर्ग एकसाथ एउटा मिसनमा काम गर्छन् ।
यसअघि चलचित्र ‘ब्याटम्यान भर्सेन सुपरम्यान’ मा उक्त चलचित्रका खतरनाक खलपात्र डुम्स डेलाई समाप्त पार्ने क्रममा सुपरम्यान पनि नराम्रोसँग घाइते भएका हुन्छन् । आज शुक्रबारदेखि संसारका प्रमुख सहरहरूमा एकसाथ प्रदर्शन हुन लागेको चलचित्र ‘जस्टिस लिग’मा ब्याटम्यानलाई एक्लो देखाइएको छ भने सुपरम्यानको अन्त्य भैसकेको बताइएको छ ।
सुपरम्यान नहुँदा ब्रह्माण्डमा अर्को खतराका रूपमा आएका खतरनाक खलपात्र स्टेपन वुल्फ र उनको सैन्य समूह पाराडेमोनसले उत्पात मच्चाउन खोज्दा ब्याटम्यान र वन्डर वुमेनले द फ्ल्यास, अक्वाम्यान, साइवर्गसँगै अरू सुपर पावर भएका हिरोहरूको समूह बनाएर युद्ध लड्छन् । भीएफएक्स, एनिमेसन तथा साइफाइ चलचित्र मन पराउने दर्शकहरूका लागि चलचित्र ‘जस्टिस लिग’ बहुप्रतिक्षित चलचित्र हो ।