साप्ताहिक संवाददाता
नेपाली चलचित्र क्षेत्रमा नम्बर एक अभिनेत्रीका रूपमा स्थापित हुन सफल प्रियंका कार्कीको व्यस्तता चुलिएको छ । चलचित्रको छायांकनदेखि सांस्कृतिक कार्यक्रमसम्मको सहभागिताले उनलाई व्यस्त बनाएको हो ।
त्यही व्यस्तताका कारण केही साताअघि उनले चलचित्र फाटेको जुत्ताको प्रमोसनलाई चाहेर पनि समय दिन पाइनन् । चलचित्र बटरफ्लाइको छायांकन सम्पन्न गरेर शत्रुगतेलाई समय निकालेकी प्रियंका जीवनमा पहिलो पटक जम्मा एक दिनका लागि बेलायत पुगिन् ।
अघिल्लो साता साप्ताहिकसँगको कुराकानीमा उनी भन्दै थिइन्– जम्मा एक दिनका लागि बेलायत जाने नेपालीमा म पहिलो नम्बरमै पर्छु होला । प्रियंका गत शुक्रवार बेलायत प्रस्थान गरेर आइतबार आयोजित चलचित्र ह्याप्पी डेजको प्रिमियर शोमा सहभागिता जनाएर सोमबार नै काठमाडौंका लागि प्रस्थान गरिन् ।
‘मेरो व्यस्तताका बारेमा जिज्ञासा नै नराख्नु होस्, प्रियंका भन्छिन्–‘यूकेमा एक दिन मात्र बस्नु पर्ने आफ्नै बाध्यता छ । काठमाडौं फर्किएको भोलिपल्टै कोहलपुर पुगेर चलचित्र कोहलपुर एक्सप्रेसको छायांकनमा सहभागी हुनु छ ।’ प्रियंकाले आफ्नो व्यस्त सेड्यूलका बाबजुद अभिनयको गुणस्तरमा भने कुनै कमी आउन नदिने दाबी पनि गरिन् ।