विवाहमा दुलहीको पहिरन एवं मेकअपले विशेष भूमिका खेल्छ । अहिले दुलहीका लागि ४–५ महिनाअघिदेखि नै कुन–कुन समारोहमा के–कस्ता पहिरन तथा गहना लगाउने, मेकअप कहाँ गराउने, हेयरस्टाइल कस्तो बनाउने आदि पूर्वयोजना बनाइन्छ । केही वर्षयता फरक लुक्स देखाउन दुलहीको मेकअपमा निकै खर्चसमेत गर्न थालिएको छ ।
अहिले दुलहीको मेकअपमा कम्तीमा १२ देखि २८ हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यस्तै विवाहकै लागि ६० हजारदेखि ३ लाख रुपैयाँसम्मका पहिरन बन्न थालेका छन् । अहिलेका अधिकांश दुलहीले आफ्ना लागि ८० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका ब्राइडल लेहेंगाका सेट तयार गराउन थालेका छन् । गहनाको हकमा दुई च्वाइस छ– हेभी गोल्ड ज्वेलरी वा स्टाइलिस्ट तर सानो डायमण्ड सेट ।
अहिलेका दुलहीहरू हरेक कुरामा सचेत छन् । उनीहरू विभिन्न वेबसाइट हेरेर पहिरन, मेकअप, ज्वेलरी तथा हेयर स्टाइलका सम्बन्धमा अपडेट हुन्छन् । मेकअप आर्टिस्ट लेमी तामाङका अनुसार अहिले दुलहीहरूले बेला छँदै मेकअप आर्टिस्टसँग समय लिइसकेका हुन्छन् भने बुटिक पुगेर पहिरन पनि बनाइसकेका हुन्छन् ।
पहिले जस्तो ब्युटिसियनले जसरी सिंगार्यो त्यसमै चित्त बुझाउने दुलही कम भैसकेका छन् । अहिले उनीहरू कस्तो पहिरन वा लुक्समा देखिन चाहन्छन्, मेकअप आर्टिस्ट तथा ड्रेस डिजाइनरलाई पहिले नै जानकारी दिन्छन् । त्यसबाहेक उनीहरू ४–५ महिनाअघिदेखि नै स्किन केयर, हेयर केयर, फेसियल, स्पा सेन्टर आदि पुगेर आफूलाई निखार्न व्यस्त हुन्छन् ।
वुमन्स प्लानेट बुटिककी फेसन डिजाइनर सुषमा सिंहका अनुसार अहिलेका दुहलीहरू दुलाहासँगै आएर आफ्ना लागि आवश्यक पहिरन छान्छन् । दुवैको सहमतिमै ब्राइडल वेयर तयार पार्नेहरूको संख्या अहिले निकै बढेको सिंह बताउँछिन् । सिंहका अनुसार अहिलेको पुस्ता आफ्नो विवाहलाई स्मरणीय बनाउन कुनै सम्झौता गर्न चाहँदैन । दुलहीले साडी तथा लेहेंगाका साथमा त्यस्तै वर्कको घुम्टो, क्राउन, जुत्ता तथा ब्याग खोज्छन् ।
त्यस्तै दुलाहाहरू पनि फरक–फरक वैवाहिक समारोहमा फरक–फरक लुक्समा देखिन चाहन्छन् । त्यसैले इंगेजमेन्टमा शेरवानी लगाए पार्टीमा डिजाइनर सुट तथा विवाहमा दौरा–सुरुवाल लगाइन्छ ।
पहिरनको रंग र शैली सकभर दुलहीको गेटअपसँग म्याच होस् भन्ने सोच सबैले राख्छन् । केही वर्षयता विवाहका लागि प्रि–वेडिङ फोटोग्राफीको ट्रेन्डसमेत बढ्दो छ । जीवनको अमूल्य सम्बन्धको सुरुवातको रमाइलो सम्झनाका लागि संगीत, मेहन्दी, इंगेजमेन्ट, रिसेप्सन पार्टी तथा विवाहको दिनको तस्बिर तथा भिडियो प्रोफेसनल फोटोग्राफरमार्फत खिचाउने चलन बढ्दै गएको छ ।