करिब एक दशकअघिदेखि सिर्जनशील जमातका लागि आफ्ना एप्स प्रकाशमा ल्याउने थलोका रूपमा गुगल प्ले स्टोर विकसित हुने क्रममा नेपालमा पनि एप डेभलपरहरूको संख्यामा वृद्धि हुँदै गएको छ । मनोरञ्जकदेखि लिएर सूचनामूलक एपहरूको विकासमा नेपालीहरूले आफ्नो दक्षता प्रमाणित गर्दै आएका छन् । नेपालमै निर्माण तथा विकास भएर अत्यधिक प्रयोगमा आइरहेका केही एन्ड्रोइड एप्स :
गेम एप्स
एप डेभलपर जीवन श्रेष्ठद्वारा निर्मित ‘लुडो निओ–क्लासिक’ का १ करोडभन्दा बढी प्रयोगकर्ता छन् । श्रेष्ठद्वारा नै बनाइएको अर्को एप ‘कल ब्रेक प्लस प्लस’ का प्रयोगकर्ताको संख्या १० लाखको हाराहारीमा छ । यसैगरी टेस्लाटेक नामक एक नेपाली कम्पनीले निर्माण गरेको ‘कल ब्रेक मल्टिप्लेयर’ गेम पनि एक करोडभन्दा बढी डाउनलोड गरिएको छ । हाल सफ्टवेयर डेभलपरका रूपमा नर्वेमा कार्यरत निशेष जोशीले तयार पारेको ‘कल ब्रेक’ को डाउनलोड संख्या करिब ५ लाख छ । नेपाली डेभलपर सपन अर्यालले बनाएको नेपालीहरूमाझ बहुचर्चित म्यारिज खेलको एप ‘म्यारिज कार्ड गेम’ पनि ५ लाख पटक डाउनलोड गरिएको छ ।
क्यालेन्डर एप्स
संसारभर छरिएर रहेका नेपाली समुदायबीच विक्रम संवतको पात्रो सुलभ गराउन महत्वपूर्ण भूमिका खेलिरहेका ‘हाम्रो पात्रो’ तथा ‘नेपाली पात्रो’ का प्रयोगकर्ताको संख्या १०–१० लाख छ । नेपालीद्वारा नेपालीका लागि निर्मित सवाधिक लोकप्रिय एप्सको नाम लिँदा यी दुई अग्रपंक्तिमै आउँछन् । ‘हाम्रो पात्रो’ मा तिथिमितिबाहेक समाचार, रेडियो, साहित्यिक ब्लग, विदेशी विनिमय दर एवं सुनचाँदीको मूल्य आदि पनि समावेश छन् ।
सूचनामूलक एप्स
मोबाइल प्रविधिले बिस्तारै पत्रपत्रिका, टिभी तथा रेडियोजस्ता पुराना प्रविधिलाई विस्थापित गर्दै जाँदा नेपाली प्राविधिक क्षेत्र पनि यसबाट अछुतो छैन । नेपालमा सर्वाधिक रुचाइएको दैनिक पत्रिका कान्तिपुरको एन्ड्रोइड एप ‘इकान्तिपुर’ को डाउनलोड संख्या ५ लाखभन्दा बढी छ । नेपालमा हेरिने सबैजसो टेलिभिजन च्यानल उपलब्ध भएको एप ‘नेट टिभी’ पनि गुगल प्लेस्टोरबाट ५ लाखभन्दा बढी डाउनलोड गरिएको छ । नेपाली रेडियो संसारका जुनसुकै कुनामा पनि सुन्न सकियोस् भन्ने उद्देश्यले यससँग सम्बन्धित एपहरूको संख्या पनि उल्लेख्य रूपमा बढ्दो छ । ‘रेडियो नेपाली’ नामक रेडियो एप प्लेस्टोरबाट करिब ५ लाखपटक डाउनलोड गरिएको तथ्याङ्कले देखाउँछ । १ लाखको हाराहारीमा डाउनलोड भएका अन्य नेपाली पत्रपत्रिका, रेडियो तथा टिभीका एप्स पनि प्लेस्टोरमा छ्याप्छ्याप्ती छन् ।
नेपाली किबोर्ड एप्स
नेपाली किबोर्डहरूको अत्यधिक लोकप्रियताको श्रेय सामाजिक सञ्जालको बढ्दै गएको प्रभुत्वलाई दिन सकिन्छ । कारण चाहे जे होस्, नेपाली किबोर्ड नराख्ने मानिस अचेल कमै भेटिन्छन् । जबर्जस्ती रोमनमा नेपाली लेख्दा बुझ्न गार्हो हुन्छ भने युनिकोडको प्रयोगले नेपालीमा लेख्दा कति सुन्दर र पठनीय लाग्छन् भनेर त हामीले देख्दै आएका छौँ । अझ बहुचर्चित ‘हाम्रो नेपाली किबोर्ड’ र ‘टाइप नेपाली’ जस्ता एप्सले त ‘ट्रान्सलेसन’ पनि सपोर्ट गर्ने हुँदा यिनको लोकप्रियता बढ्दो छ । जस्तै : रोमनमा कुनै शब्द टाइप गरेर त्यसको युनिकोड रुपान्तरण सजिलै प्राप्त गर्न सकिन्छ, तर ‘त’ र ‘ट’, ‘थ’ र ’ठ’ जस्ता अक्षर टाइप गर्न भने ‘ट’ वर्गका अक्षरहरूलाई क्यापिटलाइज गर्नुपर्ने हुन्छ । सुरुमा हात नबसे पनि बिस्तारै यो प्रविधिमा प्रयोगकर्ता पोख्त हुँदै जान्छन् ।
अन्य
धेरैप्रकारका नेपाली एप्स नेपाली बजारमा प्रचलित छन् । देशले लोडसेडिङ भोग्नुपरेका बेला लोडसेडिङ तालिका उपलब्ध गराउने एप निकै रुचाइएको एप्स मानिन्थ्यो । गुगल प्लेस्टोरले यसको डाउनलोड संख्या १० लाखभन्दा बढी रहेको देखिन्छ । यद्यपि लोडसेडिङको अन्त्यसँगै यसले धेरैका मोबाइल फोनबाट आफ्नो स्थान गुमाइसकेको छ ।
‘नेपाली डिक्सनरी–अफलाइन’ नामक एपका प्रयोगकर्ता १० लाखभन्दा बढी छन् । आफूलाई चाहिएका कुनै पनि अंग्रेजी शब्दको नेपाली रूपान्तरण हाम्रो पात्रोले नै बनाएको यो एप प्रयोग गरिन्छ । सबै अत्यावश्यक शब्द चाहिएका बेला नभेटिए पनि ती छिट्टै अरू अपडेटमा उपलब्ध हुन सक्ने कुरामा भने आशावादी हुन सकिन्छ । यसका अन्य सबल पक्ष पनि छन् । जस्तै : ‘वर्ड अफ द डे’ भनेर दिनहुँ एउटा नयाँ शब्द प्रयोगकर्तालाई चिनाउनु, सर्वाधिक लोकप्रिय वर्ड गेम ‘ह्याङम्यान’ समावेश गरिनु तथा अर्को चर्चित खेल ‘वर्ड फाइन्डिङ’ समेत उपलब्ध हुनु ।
नेपालमा चलेका सारै कम डिजिटल पेमेन्ट पोर्टलहरूमध्ये पनि अलि बढी प्रचलित ‘इसेवा–मोबाइल वालेट’ का एन्ड्रोइड प्लेटफर्ममा एक लाखभन्दा बढी प्रयोगकर्ता छन् । अरू उपयोगी एप्सको तुलनामा यसका प्रयोगकर्ताको संख्या कम हुनुका पछाडि डिजिटल पेमेन्टका बारेमा मानिसहरूमा कम चेतना रहेको अनुमान गर्न सकिन्छ । फोन रिचार्ज गर्न, अनलाइन आर्थिक कारोबार गर्न, फन्ड ट्रान्सफर गर्न, इन्टरनेट बैंकिङलाई सहज बनाउन इसेवा उपयोगी हुन सक्छ ।
‘सुरज बी ल्याब्स’ द्वारा निर्मित बनाएको ‘रिमोट माउस किबोर्ड एन्ड मोर’ नामक एप नेपालीहरूका लागि मात्र नभै संसारका जोसुकैका लागि पनि उपयोगी हुनसक्छ । आफ्नो एन्ड्रोइड फोनलाई माउस अथवा किबोर्डका रूपमा प्रयोग गर्न सकियोस् भन्ने प्रमुख उद्देश्यका साथ निर्मित यो एपको फाइदा भनेकै आफ्नो कम्प्युटरमा भएका जुनसुकै फाइल ब्राउज गर्न मिल्नु, पावरपोइन्ट प्रिजेन्टेसन गर्न मिल्नु आदि हुन् । यसका १० लाख भन्दा बढी प्रयोगकर्ता छन् ।
यी एप्सको सफलताले नेपालमा एप डेभलपमेन्टको भविष्य सुनौलो रहेको तथ्यलाई नै स्पष्ट पार्छन् । धेरैजसो एप डेभलपर्सले मोनेटाइजेसन विधि अपनाएर आफ्नो आर्थिक पक्ष पनि सबल तुल्याउँदै आएका छन् । यही कारणले होला, अहिले नेपालमा यो क्षेत्रमा दक्षता हासिल गर्न चाहनेहरूको संख्या दिनानुदिन बढ्दो छ ।