साप्ताहिक संवाददाता
गत साता दरबारमार्ग स्थित होटल डेला अन्नपूर्णमा एउटा पृथक पृष्ठभूमिमा फेसन शोको स्वाद लिने अवसर पाए फेसन पारखीहरुले । सीधा आकारको रनवेमा ओहोरदोहोर हुने मोडलहरुको दृष्यले यसपटक घुमाउरो बाटो आगालेको थियो । कारण त्यो घुमाउरो मञ्चको ठीक पछाडि एकातिर नेपाली फ्युजन ब्याण्ड कुटुम्बको प्रस्तुतिले सांगीतिक माहौल सृजना गर्दै थियो अर्कोतिर हातबुना कपडाको लाइभ डेमो चलिरहेको थियो । मंचको सजावटमा हस्तकलाका विभिन्न स्वरुपहरु देख्न पाइन्थ्यो ।
१४ जना युवती र दुई जना युवा मोडलले पालैपालो ओहोर दोहोर गर्दै नेचुरल फाइबर र फ्याब्रिकमा उतारिएका हातेबुना कपडाका विभिन्न आकर्षक स्वरुपहरु मंचमा प्रस्तुत गरे । डिजाइनर मुक्ता श्रेष्ठ, अल्पजा राजभण्डारी लगायतले तयार पारेका विभिन्न डिजाइन, आकार प्रकारका फ्युजन शैलीका पहिरन प्रस्तुत गरिएको थियो ।
यी सबै परिवेश थियो तीन दिने एशियन ह्यान्डीक्राफ्ट एण्ड मार्केट प्लेस म्यानेज्मेन्ट नामक फेस्टिभलको । उक्त प्रदर्शनी तथा गोष्ठीमा ‘नेपालको’ नामक ब्रान्डको विधिवत् शुभारम्भ गरिएको थियो । पोभर्टी एलिभेसन फन्डको आयोजनामा संचालन भएको सो कार्यक्रममा एसियन ह्यान्डीक्राफ्ट फाउन्डेसनको संयोजन थियो । तीन दिने उक्त फेस्टिभल अन्तर्गत प्रदशर्नीतर्फ दश विभिन्न शीर्षक अन्तर्गत हस्तकला सम्बन्धी विभिन्न थरिका सामाग्रीलाई बीस वटा स्टलमा प्रदर्शन गरिएका थिए ।
जसअन्तर्गत १८ स्टल नेपाली र एक एक वटा भारतीय र पाकिस्तानी उत्पादन सम्बन्धी स्टलहरु थिए । हस्तकलाका उत्पादनको सम्वद्र्धन, प्रवद्र्धन र बजार विस्तारमा सहयोगि हुने हेतुले आयोजना गरिएको सो फेस्टिभलको अडप्ट प्रा.लि.को संयोजनमा नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको हो । फेस्टिभल अन्तर्गतको क्राफ्ट शो फेसन प्रदर्शनको संयोजन र कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए ।