साप्ताहिक संवाददाता
अभिनेत्री प्रियंका कार्कीले यदि कुनै निर्माताले आफूलाई ११ करोड रुपैयाँ पारिश्रमिक उपलब्ध गराए वर्षमा एउटा मात्र चलचित्रमा अभिनय गर्ने तथा वर्षभरि नै उक्त चलचित्रको प्रमोसनमा मात्र हिँडिरहने धारणा व्यक्त गरेकी छिन् । पछिल्लो समय प्रदर्शन भैरहेका आफ्ना चलचित्रको प्रचार–प्रसारमा आफूले साथ नदिएको आरोप खेपेपछि प्रियंकाले उक्त भनाइ सार्वजनिक गरेकी हुन् ।
अहिले सबैभन्दा बढी चलचित्रमा अभिनय गर्ने अभिनेत्रीका रूपमा चिनिएकी प्रियंकाले धेरै चलचित्रमा अभिनय गर्नु आफ्नो बाध्यता भएको स्पष्ट पारेकी छिन् ।
तालिका मिलाएर छायांकनलाई समय दिए पनि चलचित्रको प्रदर्शनका सम्बन्धमा आफू अनभिज्ञ हुने प्रियंकाको भनाइ छ । पैसाकै पछि लागेर आफूले चलचित्रमा काम गरिरहेको आरोपको खण्डन गर्दै प्रियंकाले एउटै चलचित्रबाट ११ करोड पारिश्रमिक पाए वर्षभरि त्यही चलचित्रमै आबद्ध भैरहने कुरा बताएकी हुन् ।
यद्यपि आफूले हालसम्म पाइरहेको पारिश्रमिक चित्तबुझ्दो रहेको उनको भनाइ छ । ‘अभिनयबाहेक मेरो अरु कुनै काम छैन, प्रियंका भन्छिन्–‘बिहान उठेदेखि राति नसुतेसम्म म चलचित्रकै वरिपरि हुन्छु । बाँच्नका लागि पनि मैले धेरैभन्दा धेरै चलचित्रमा अभिनय गर्नुपर्छ ।’