साप्ताहिक संवाददाता
निर्देशक : आकाश अधिकारी
कलाकार : दयाहाङ राई, श्वेता खड्का, अनु शाह, प्रज्वल सुजल गिरी, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, नीर शाह, अशान्त शर्मा, कामेश्वर चौरसिया, रमेश अधिकारी, जयनन्द लामा आदि ।
संगीतकार : शम्भूजित बाँसकोटा, राजनराज शिवाकोटी तथा अर्जुन पोखरेल ।
आज शुक्रबार प्रदर्शनमा आउने चलचित्र ‘कान्छी’ बहुप्रतिक्षित चलचित्र हो । अभिनेत्री श्वेता खड्का झन्डै साढे दुई वर्षपछि दर्शकमाझ आउन लागेकाले पनि यो चलचित्रले बेग्लै किसिमको कौतुहलता पैदा गरेको छ । आकर्षक लोकेसनमा छायांकन गरिएको यो चलचित्रमार्फत श्वेतालाई पहिलो पटक अभिनेता दयाहाङ राईको जोडीका रूपमा हेर्न पाइनेछ ।
चलचित्रमा उनीहरूको जोडी आकर्षक देखिएको छ । चलचित्रका दुई गीत चरी चट्ट परी तथा यो जीउ दाउमा लाउने मैले लोकप्रिय भैसकेका छन् । चरी गीतले त यूट्युबमा एक करोड दर्शक पनि पाइसकेको छ । यो चलचित्रलाई सांगीतिक रूपमा सवल बनाउन तीन स्थापित संगीतकारका गीत समावेश गरिएको छ भने यसमा चलचित्रमा राजनराज शिवाकोटी, अञ्जु पन्त, युवराज चौलागाईं, धर्मेन्द्र सेवान आदि गायक–गायिकाको पाश्र्व गायन छ ।
वसन्त श्रेष्ठको कोरियोग्राफीमा चलचित्रका गीतहरू आकर्षक बनेका छन् । जोससोम, मुस्ताङ तथा काठमाडौंमा छायांकन गरिएको यो चलचित्रको निर्माण अभिनेत्री श्वेता खड्का स्वयंले गरेकी हुन् । पुरुषोत्तम प्रधानद्वारा छायांकन गरिएको यो चलचित्रको कथा याम थापाले लेखेका हुन् ।