साप्ताहिक संवाददाता
कुनै जमाना थियो, जब परेवालगायतका पन्छीको उपयोग गरेर मानिसहरू सन्देश साटासाट गर्थे । हिजो चिठीपत्र तथा पत्रमित्रतामार्फत साथी बनाइन्थे भने प्रेमी–प्रेमिकाले पनि सञ्चारको साधनका रूपमा यस्तै साधन प्रयोग वा उपाय अवलम्बन गर्थे । त्यसबाट अघि बढ्दै टेलिफोन र एसएमएस हुँदै अहिले प्रेम र डेटिङका लागि इन्टरनेटका माध्यमबाट अनेकन प्रविधि भित्रिसकेका छन् । प्रस्तुत छन् केही चर्चित डेटिङ वेबसाइट तथा एप :
टिन्डर
विश्वव्यापी रूपमा जोडी खोज्न सर्वाधिक प्रयोग भएको एप हो— टिन्डर । यो एपमा आफू बस्ने ठाउँका आधारमा स्वाइप गर्दै आफ्ना लागि उपयुक्त जोडी खोज्न सकिन्छ । फेसबुकमा भएको प्रोफाइल र तस्बिरहरूकै आधारमा यो एपमा प्रोफाइल बनाउन सकिन्छ । टिन्डर विश्वव्यापी रूपमा उपलब्ध छ भने ४० भन्दा बढी भाषाका प्रयोगकर्ताले यो एप प्रयोग गर्न सक्छन् । यो एपका अधिकांश (३८ प्रतिशत) प्रयोगकर्ता १६– २४ वर्ष उमेर समूहका तथा ४५ प्रतिशत प्रयोगकर्ता २५–३४ वर्ष उमेर समूहका छन् । यो एप २०१२ देखि चल्तीमा आएको हो ।
जुस्क
डेटिङ एप प्रयोग गर्दा कसैले नक्कली आइडी प्रयोग गरेर आफूलाई झुक्याउँछ कि भन्ने डर भएका व्यक्तिका लागि उपयुक्त एप हो— जुस्क । यो एपले प्रयोगकर्तालाई भिडियो सेल्फीमार्फत भेरीफिकेसन गर्छ, जसका कारण यो एप नक्कली प्रयोगकर्ताहरूले प्रयोग गर्न सक्दैनन् । २५ भन्दा बढी भाषामा उपलब्ध जुस्क २००७ मा सुरु भएको हो । जुस्क एन्ड्रोइड, आइओएस तथा डेस्कटप एपका रूपमा उपलब्ध छ ।
एलाइट सिंगल्स
एलाइट सिंगल्स आफ्नो चाहनाअनुसार विशिष्ट प्रकारका जोडी खोज्न चाहने प्रयोगकर्ताहरूको रोजाइमा परेको एप हो । यो एपमार्फत जाति, उमेर, ठाउँजस्ता विभिन्न तरिकाबाट जोडी खोज्न सकिन्छ ।
म्याच
म्याच डटकमले आफूलाई सबैभन्दा सफल डेटिङ साइट दाबी गर्छ । लाखौँको प्रयोगकर्ता भएको यो साइटमार्फत धेरै डेटिङ, सम्बन्ध तथा विवाह भैसकेका छन् ।
इहार्मोनी
वैज्ञानिक तरिकाबाट सबैभन्दा मिल्दो जोडी खोज्ने दाबी गर्ने इहार्मोनीले जोडी खोज्न चारवटा प्रक्रिया अपनाएको छ । सबैभन्दा पहिले यो साइटमा गएर केही आधारभूत प्रश्नको जवाफ दिनुपर्छ, जसले कुनै पनि व्यक्तिको खोजीलाई उसको स्वभावअनुकूल बनाउन मद्दत गर्छ । त्यसपछि सम्बन्धित व्यक्तिले व्यक्तित्वका आधारमा केही प्रश्नको जवाफ पुन: दिनुपर्छ । तेस्रो चरणमा इहार्मोनीले सम्बन्धित व्यक्तिको व्यक्तित्वका आधारमा उसका लागि उपयुक्त व्यक्तिहरूको प्रोफाइल दिन्छ, त्यसपछि उक्त प्रोफाइल रिभ्यु गर्नुपर्छ अनि आफ्नो आवश्यकताअनुसार सम्भावित जोडीसँग कुराकानी गर्न सकिन्छ ।
हेटर
हरेक कुरामा गुनासो गरिरहने कुनै कुरामा पनि कुरामा चित्त बुझाउन नसक्नेहरूका लागि उपयुक्त एप हो— हेटर । सुन्दा रमाइलो लाग्ने यो एप उपयोगी पनि छ । यो एपले जोडीको खोजीमा रहेका व्यक्तिलाई त्यस्ता व्यक्तिहरूसँग जोडदिन्छ, जसले घृणा गर्ने विषय वा चिज पनि सम्बन्धित व्यक्तिका लागि पनि घृणाकै विषय हुन्छ । यसरी समान घृणा गर्ने विषयलाई प्रेममा परिवर्तन गर्न मद्दत गर्ने एप हो— हेटर ।
अनलाइन डेटिङ एउटा रोचक र नयाँ अनुभव हुन सक्छ, यद्यपि ख्याल गर्नुपर्ने कुरा के हो भने यसमा प्रत्यक्ष रूपमा भौतिक शरीर नै आफ्नो अगाडि उपस्थित हुँदैन । जति नै खोजे
पनि अनलाइनमा आफ्ना लागि उपयक्त जोडी पाइन्छ नै भन्ने कुनै ग्यारेन्टी हुँदैन ।